सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले आफ्नो कार्यकालभर मात्रै नभइ बाचुन्जेल भ्रष्टाचार नगर्ने बताएका छन् । बुधबार विश्वविद्यालयको १०औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उपकुलपति सिंहले उक्त प्रतिबद्धता जनाएका हुन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर काम गर्ने र पारदर्शितालाई आत्मसाथ गर्ने उनको भनाई रहेको थियो । ‘म धर्तीमा बाँचुन्जेल भष्ट्राचार गर्ने छैन । भ्रष्टाचार विरुद्धकोआन्दोलनमा स्वयम् आफै सहभागिता जनाउने छु ।’ विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने उनले दाबी गरेका थिए । स्पष्ट भिजनका साथ उपकुलपति बनेको भन्दै सिंहले विश्वविद्यालयलाई आमुल सुधार गर्ने दाबी गरे ।
वार्षिकोत्सवका अवसरमा बोल्दै उनले पाँचवटा भिजनसमेत पेस गरेका थिए । उनले पेस गरेको भिजनमा विश्वविद्यालयको भौतिक संरचना पूरा गर्ने, उत्पादनलाई जोड दिने र विद्यार्थीले कमाएर पढ्ने नीति लागू गर्ने, पाठ्यक्रममा आमुल सुधार गर्ने, विश्वविद्यालयलाई विश्वस्तरीय बनाउने र कर्णालीका १० जिल्लाका स्रोत साधनको बारेमा बुझ्न सक्ने शिक्षाको विकास गर्ने रहेका छन् । विश्वविद्यालयललाई विश्वस्तरीय बनाउन विदेशी विद्यार्थीहरुलाई प्राथामिकता दिने योजना रहेको समेत उपकुलपति सिंहले बताए ।
विशेष छात्रवृत्तिको व्यवस्था गरेर विदेशबाट ६ विद्यार्थी ल्याउने र विश्वविद्यालयका विद्यार्थी पनि अध्ययनका लागि विदेश पठाइने उनले दाबी गरे । अबको ६ महिनाभित्रै विश्वविद्यालयले अहिले पढाइ भइरहेको पाठ्यक्रमलाई आमुल परिवर्तन गरी ६० प्रतिशत विश्वव्यापी विचार र ४० प्रतिशत प्रदेशकै स्रोतसाधनबारे समेटिएको पाठ्यक्रम तयार गरिने उनको भनाइ थियो । कोरोना भाइरस (कोभिड–१९) का कारण सार्वजनिक कार्यक्रम नभए पनि विश्वविद्यालयले अनलाइनमार्फत भर्चुअल कार्यक्रम गरी वार्षिकोत्सव मनाएको थियो । भर्चुअल कार्यक्रममा विश्वविद्यालयका प्राध्यापकहरु, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्