‘जनशक्तिलाई उत्पादनसिल बनाउने बजेट ल्याउँछौं’



कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नेपालमा समेत फैलिदो क्रममा रहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघिय, प्रदेश र स्थानिय सरकारका साथै राज्यका सबै निकायहरु लागिपरेको छ । बर्दियामा समेत केही हप्तायता कोरोना संक्रमित दैनिक जसो भेटिरहेका छन् । भारतसँग सीमा रहेको बढैयाताल गाउँपालिकामा समेत संक्रमितहरु भेटिएका छन् । गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि केके काम गरिरहेको छ र आगामी वर्षको बजेट कस्तो ल्याउने तयारी गरिएको छ भनेर रावन विश्वकर्माले गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठसँग गरेको कुराकानी ।

१.कोरोना नियन्त्रण तथा रोकथामको लागि गाउँपालिकाले कसरी काम गरिरहेको छ ?

सुरुमा हामीले ३० किलोमिटर भारतीय सीमाना पर्ने भएकाले त्यहाँ हुँदै अवैध हिसाबले मान्छेहरु आउन सक्छन् भनेर झण्डै ७० जना स्ंवय्मसेवक राखेर नेपाल प्रहरी, शसस्त्र प्रहरीलाई सहयोग गर्ने गरी व्यवस्थापन मिलाएका थियौं । त्यसपछि छिमेकी जिल्ला बाँकेमा पनि संक्रमण बढेको हुनाले बाँकेको सीमानाकाहरु पनि हामीले व्यवस्थित गरिउ । स्वास्थ्यकर्मी, स्ंवय्मसेवक, राजनितिक दल सबैलाई व्यवस्थित योजना सहित हामीले प्रचार प्रसारदेखि सबै कुरालाई अगाढी बढायौँ । अहिले पछिल्लो अवस्थामा नेपाल सरकारको निर्णय अनुसार भारतबाट फर्किएका नेपालीहरुलाई क्वारेन्टिनमा राखेर उनीहरुको व्यवस्थापन गरेका छाँै । अहिले बढैयातालका विभिन्न क्वारेन्टिनहरुमा झण्डै ७ सयको हाराहारीमा नागरिकहरु रहेका छन् । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राखेर स्वास्थ्य उपचार गरि नतिजा नेगेटिभ आएकाहरुलाई घर पठाउने र पोजेटिभ देखिएकाहरुलाई थप स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ । यसरी हामीले विदेशबाट आएका, भारतबाट आएका र नेपालकै अन्य जिल्लाबाट आएका नागरिकहरुलाई क्वारेन्टिनमा राख्ने र उनीहरुको सुरक्षित व्यवस्थापन गर्ने गरेका छौँ ।

२. यहाँ कोरोना संक्रमण रोकथाममा के–के चुनौतीहरु देखिएका छन् नी ?

आजको मितिसम्म बढैयाताल गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । गाउँपालिकामा बाहिरबाट आएका सबैको चेकजाँच गर्ने गरेका छौँ । गाउँपालिकामा पोजेटिभ देखिएका नागरिकहरुलाई राख्ने आईसोलेसन थिएन । यस भन्दा अगाडी संक्रमण देखिएका ३ जनालाई बाँसगढीको आईसोलेसन सेन्टरमा राखि उपचार गराउँदै आएका थियौँ । तर अहिले पोजेटिभ देखिएका १२ जनालाई शुक्रबार बेलुकादेखि नै गाँउपालिकामै राखेर उपचार गर्ने तयारी गरेका छौँ । जसको लागि हामीले पहिलो चरणमा मैनापोखरमा रहेको शारदा बहुमुखी क्याम्पसको भवनमा २५ बेडको आईसोलेसन सेन्टर ६ वटा कोठामा तयार गरेका छौँ । भोलिको सम्भावित अवस्थालाई मध्यनजर गर्दै अरु ५० बेडको आईसोलेसन बनाउने तयारी छ । अहिलेको अवस्थामा दिनप्रति दिन संक्रमण बढ्दो अवस्थामा रहेको र सबैको पीसीआर गराउन सक्ने अवस्थामा नरहेकाले पनि आरडीटी गरेरै घर पठाउनुपर्ने बाध्यता छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले सक्दो प्रयास गरिरहेको भएपनि गाउँपालिका नागरिकहरु, राजनितिक दल र आम बुद्धिजिबीहरुले पनि आफ्नो ठाउँबाट सहयोग पुर्याउने हो भने पनि संक्रमण थप रोकथामका लागि सहज हुने थियो ।

३. पछिल्लो समयमा भारतबाट फर्किनेको संख्या बढ्दो छ । उनीहरुको व्यवस्थापन कसरी गरिएको छ ?

गाउँपालिकाले सुरुबाटै संक्रमण बाहिर नजाओस् भन्ने आधारबाट उनीहरुलाई आवश्यक पर्ने बेड, बिस्तरा, सिरानी, झुललगायत सम्पुर्ण चिज पालिकाले उपलब्ध गराएको छ । खाना, नास्ता चियाँ लगायत सम्पुर्ण व्यवस्थापनको हामीले जिम्मेवारी लिएर त्यहाँ हामीले खाना पकाउने मान्छे, स्ंवय्मसेवक, गेटमा मान्छेहरु सहितको व्यवस्थापन गरेर सबै जिम्मेवारी पालिकाले लिएर उहाँहरुलाई चेक जाँच गरेपछि मात्रै घर पठाउने व्यवस्था गरेका छौँ । बाहिरबाट घरबाट बिशेष कहिले काही आफ्न्तले केही कुरा र सामान्य खानेकुरा फलफुल ल्याएमाउ पलब्ध गराउने तथा अन्य सबै व्यवस्थापन हामी आफैले गरेका छाँै । क्वारेन्टिनमा खाना पकाउने मान्छेलाई गाउँपालिकाले करार अवधिको रुपमा नियुक्त गरिएको छ । एउटा क्वारेन्टिनमा कतै २ जना कतै ३ जना हुनुहुन्छ । उहाँहरुले दैनिक ५ सय पाउनु हुन्छ । त्यस्तै क्वारेन्टिनको सुरक्षाको लागि भने पनि मान्छे राखेका छांै । यसरी एउटा क्वारेन्टिनमा खाना पकाउने र सुरक्षाको लागि ४ देखि ६ जनासम्म राखेका छौँ । प्रत्येक क्वारेन्टिहरुमा उपसमिति बनाएका उहाँहरुले साना तिना चिजहरु आफै किन्नु हुन्छ भने ठुलो ठुलो सामानहरु हामीले पठाउने गरेका छौँ । क्वारेन्टिनमा बस्नेलाई बिहान चिया, नास्तामा केहीले चना, दुध खुवाउने र १४ दिनको अबधिमा मासु पनि खुवाउने गरिएको छ । यसरी क्वारेन्टिनमा बस्नेहरुलाई हामीले राम्रो खानानास्ता सहित बस्ने व्यवस्था गरेका छौँ ।

४. अहिले कोरोना संक्रमणको उच्च जोखिम छ । बढैयाताल क्षेत्रको अवस्था कस्तो छ ?

बढैयातालमा कोरोना संक्रमण देखिएकामध्ये १३ जनामध्ये ९ जना क्वारेन्टिनमा बसेका भारतबाट आएका नागरिकहरु हुन । अन्य ३ जनामध्ये एक जना बढैयातालको बासिन्दा तर बाँसगढीको स्वास्थ्य शाखाको कर्मचारी हुनुहुन्छ । अर्को बढैयातालको बासिन्दा तर जिल्ला प्रशासन कार्यालयको कर्मचारी हुनु हुन्छ । भने एक जना बढैयातालकै टिपर चालक हुनुहुन्छ । अन्य २ जना मान्छे पनि अहिले परिवारका मान्छे समुदायका मान्छेहरु पनि परेका छन् । यसले गर्दा पनि बढैयाताल गाउँपालिकामा केही संक्रमणको जोखिम देखिएको छ ।

५. संक्रमण रोकथामका लागि बजेट व्यवस्थापन कसरी गरिरहनु भएको छ नी ?

अहिलेसम्म हामीले बजेट व्यवस्थापनमा विभिन्न शीर्षकमा रहेको बजेटलाई रकमान्तर गरेर बढैयाताल गाउँपालिकाका ३५ सय परिवारलाई राहत वितरण गरिसकेका छौँ । त्यसपछि आईसोलेसन सेन्टर, क्वारेन्टिन व्यवस्थापन लगायत गरी झण्डै १ करोड १५ लाखसम्मको हाराहारीमा खर्च भएको होला । अहिले पनि हामीले झण्डै १ करोड २० लाख बढी रकमान्तर गरेका छांै फेरी थप आवश्यक रकमान्तर गरेर कोरोना रोकथाम तथा व्यवस्थापन कुनै कमी हुने दिने छैनौं ।

६. आगामी वर्षको बजेट तथा कार्यक्रममा के–के कुरालाई बढी प्राथमिकता दिदै हुनुहुन्छ ?

पहिला त हामीले नियमित विकास निर्माणका कुराहरु जो हामीले सुरु गरेका बहुवर्षिय योजनाहरुलाई निरन्तरता दिन्छौँ । बढैयातालमा हामीले ठुला ठुला प्रमुख गौरवकाआयोजनाहरु पनि छनौट गरेका छौँ । त्यसलाई पनि हामीले निरन्तरता दिन्छौं । बढैयाताल गाउँपालिका विभिन्न सडकहरुको कालोपत्रेको काम सुरु गरिरहेका छौँ । २ वटा पिच सडकहरु सम्पन्न हुन्छ । भोलागौडी देखि बढैयाताल सम्मको सडक कालोपत्रे सम्पन्न भईसक्यो । अब भोलागौडी देखि जमुनीसम्मको सडक सम्पन्न हुन्छ । त्यसपछि हाम्रो सिमराबाट फुटाहा भन्सारसम्मको सडक निर्माण सुरु छ । त्यसपछि हाम्रो पालिकाबाट जनतानगर सम्मको सडक सुरु हुनेछ । त्यस्तै कालिकाको पचासाबाट पुनारो कण्ठपुर हुदै बलैगाँउसम्म जोड्ने बाटो पनि अन्तिम चरणमा छ । त्यो बेस लेबल बनिसकेको छ अब पिच लेबलको काममात्रै बाँकी छ । त्यसलाई आगामी आर्थिक वर्षमा सम्पन्न गर्छौं । बढैयातालको विकासमा आफ्ना पुर्वाधार निर्माणका कुराहरु पनि गरिरहेका छौँ । स्वास्थ्य कार्यालयको भवन पनि निर्माण गरिरहेका छौँ हामीले । हाम्रो गाउँपालिकामा प्रत्येक वडामा गरी ९ वटा स्वास्थ्य कार्यालयहरु छन् भने एउटा स्वास्थ्य केन्द्र छ । भवन निर्माण नभएकाहरुमा भवन निर्माण गरिरहेका छांै । वडा कार्यालयहरुको पनी भवन निर्माण गर्ने काम गरिरहेका छौँ । अबको वार्षिक बजेटमा हाम्रो गाउँपालिकाको भवनपनि सुरु गर्छौं र त्यसलाई हामीले २ आर्थिक वर्षमा सम्पन्न गर्ने योजना बनाएका छौँ । यसरी विकास निर्माणसँगै विदेशबाट फर्केका नागरिकहरुलाई रोजगारी सिर्जना गर्नका लागि कृषि क्षेत्र, औद्योगिक क्षेत्र, व्यवसायीक क्षेत्रमा लगानी गर्ने र हाम्रो जनशक्तिलाई उत्पादनशील बनाउने दिशामा आगामी वर्षको बजेटलाई केन्द्रित गर्नेछौँ ।

७. अन्त्यमा बढैयाताल गाउँपालिकाबासीलाई के भन्न चाहानुहुन्छ नी ?

म बढैयाताल गाउँपालिकाका आमनागरिकहरु, विभिन्न राजनितिक दलहरु, समाजसेवीहरु सबैलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकारले तोकेको मापदण्ड अवधिलाई पुर्णताका साथ पालना गरेर एक अर्कामा सहयोग गरेर हामीले यो रोगबाट बच्न सक्छौँ । यसको उपचार भनेको अनुसाशित रहनु र राज्यले तोकेको मापदण्ड अनुसार आफुलाई चलाउनु हो । संघिय, प्रदेश र स्थानिय सरकारले बनाएका विधिहरुलाई पुर्ण रुपमा पालना गर्ने र पालना गराउन सहयोग गरेर अगाडी बढेर नै हामीले यो विश्वमा फैलिएको कोरोना भाईरस संक्रमणको महामारीलाई नियन्त्रण गर्न सक्छौ । त्यो गर्नका लागि म सम्पुर्ण गाउँपालिकाबासी आम राजनितिक दल, समाजसेवी, राष्ट्रसेवक कर्मचारीहरुलाई हार्दिक अनुरोध गर्न चाहान्छु ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३२ गते आइतबार