कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या दिनप्रतिदिन बाँकेमा तिव्र रुपमा फैलिरहेको छ । जिल्लाका आठ वटै स्थानीय तहमा कोरोना पुगिसकेको छ । स्थानीय तहहरुले समेत आफ्नो पुरै ध्यान कोरोना नियन्त्रणको लागि लगाइराखेका छन् । पछिल्लो समय जानकी गाउँपालिकामा समेत कोरोना संक्रमितहरु थपिरहेका छन् । भारतबाट सीमा जोडिएको गाउँपालिकामा कोरोना नियन्त्रणको लागि कस्ता योजनाहरु बनाइएका छन् र कोरोना संक्रमितहरु फेला परेपछि अवस्था कस्तो छ भन्ने लगायतका विषयमा गाउँपालिका अध्यक्ष राम निवास यादवसँग डिल्ली शाहीले गरेको कुराकानी ।
१. गाउँपालिकाको पछिल्लो अवस्था कस्तो रहेको छ ?
विश्वमा फैलिएको कोरोना संक्रमण तथा रोकथाम गर्नका लागि नेपाल सरकारले लकडाउन गरेपछि निकै समस्या थपिएका छन् । विकासका निर्माणका कामहरु जुन हिसाबमा हुनुपर्ने हो । त्यही हिसाबमा चल्न पाएका छैनन् भने गाउँपालिकाको प्रशासनिक कामकाज, अन्य शाखाका कामहरु समेत निरन्तर चल्न पाएका छैनन् । यहाँका अवस्था अहिले अस्तव्यवस्त रहेको छ । गाउँपालिकामा कोरोना संक्रमण क्षेत्रबाट आउनको संख्या पनि रोकिएको छैन । दैनिक रुपमा कोरोना संक्रमण क्षेत्र भारतबाट आउने गरेका छन् । गाउँपालिकामा ८ वटा क्वारेन्टिन रहेका छन् । जसमध्ये एक क्वारेन्टिनका १ सय ३६ जनाको स्वाव संकलन गरी चेकजाँच गर्दा ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । सबै गाउँपालिकाका कर्मचारी, शाखा लगायत अन्य क्षेत्र पनि चलायमान गरेका छौं । तर कोरोना संक्रमण भारतबाट आएकाहरुलाई मात्र देखिएको छ । समुदायमा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।
२. क्वारेन्टिनमा बसेका नागरिकहरको कसरी व्यवस्थापन गरिरहेको छ गाउँपालिकाले ?
गाउँपालिकाकाले आफ्नो स्रोत साधन र गैरसरकारीको सहयोगमा विभिन्न क्वारेन्टिनलाई व्यवस्थापन गरिरहेका छौं । क्वारेन्टिनमा बसेका नागरिकहरुलाई खाना बस्न र सुत्नको राम्रो व्यवस्था मिलाइएको छ । प्रत्येक क्वारेन्टिनमा डाक्टर, खाना बनाउने मान्छे तथा अन्य सेवाहरु पनि दिइरहेका छौं । क्वारेन्टिनमा रहेका व्यक्तिहरुका लागि अत्यावश्यक सामाग्रीहरु झुल, तन्ना, म्याट, सरप सावुन लगायतका सामाग्रीहरु दिएका छौं । हामीले उहाँहरुलाई उपलब्ध गराउँदा सतर्कताहरु अपनाईरहेका छांै । त्यस्तै सबै क्वारेन्टिन वरिपरि सुरक्षा गर्ने र औषधी छर्किने कामहरु पनि गरिरहेका छौं । जनप्रतिनिधीको नेतृत्वमा सम्बन्धी गाउँ सुधार समितिका अध्यक्ष, सम्बन्धित विद्यालयको प्रधानाध्यापक, सम्बन्धित गाउँका महिला स्वास्थ्य स्वंयम्सेविका लगायतको टिमले व्यवस्थापन गरिरहेको छ । उहाँहरुले क्वारेन्टिनको साँझ विहान निगरानी गरी रहनुभएको छ । क्वारेन्टिनमा रहेका नागरिकहरुलाई गाँस, बाँस, कपासको व्यवस्था गाउँपालिकाले गरेको छ । उहाँहरुको नियमित स्वास्थ्य जाँच गर्ने, उहाँहरुलाई खाना दिँदा दुरी कायम गरी खाना खुवाउने व्यवस्था गरिएको छ ।
३. तपाईको गाउँपालिकामा रहेका क्वारेन्टिन र आइसोलेसन व्यवस्थित छैनन् भन्ने गुनासो आएको छ नी त ?
गाउँपालिकामा अहिलेसम्म कुनै गुनासो आएको छैन । एक÷दुई पटक आइसोलेसनमा समस्या आएको थियो । त्यसको समस्याको समाधान भैसकेको अवस्था छ । अहिले नेपालमा मात्र नभई विश्वमा फैलिएको कोरोना भाइरसका कारणले गर्दौ सबै अस्तव्यवस्त भएको छ । भारतबाट आएकाहरु सबै अहिले क्वारेन्टिनमा रहेका छन् । जसमध्ये एक जना क्वारेन्टिनबाट समेत भागिसकेका छन् तर अहिलेसम्म पनि भेटिएको छैन । उक्त भागेका व्यक्ति इण्डिया गएका हुनसक्ने अनुमान लगाएको छु । सोही व्यक्तिसँग सँगै बसेका १० जनाको स्वाब समेत संकलन गरिएको छ ।
४. कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि के कस्ता चुनौति देखिएका छन् नी ?
यहाँले निकै नै राम्रो प्रश्न गर्नुभयो । जानकी गाउँपालिकामा कोरोना संक्रमण तथा नियन्त्रण गर्नका लागि थुपै चूनौतिहरु देखिएको छ । अझै गाउँपालिकामा २०० भन्दा बढि नागरिकहरु हाम्रो क्वारेन्टिनमा रहेका छन् । उनीहरुको पीसीआर र आरडीटी चेकजाँच भएको छैन । १ वडा देखि ६ वडामा कुनै विद्यालयको नजिक खाना पकाउने होटल छैनन् । सोही विद्यालयमा नै खाना पकाउने र खाना खुवाउने समेत गरिरहेका छौं । अन्य विद्यालयको नजिक होटल भएका कारणले त्यति समस्या परेको छैन । अहिले गर्मि असाध्यै बढेको छ । विद्यालयको छानो समेत टिनले छाएकोले गर्मीका कारणले झन क्वारेन्टिनमा बसेका नागरिकहरुलाई निकै समस्या बढेको छ । गर्मीका कारणले सर्पहरु पनि बाहिर निस्कन थालेका छन् । भारतबाट आउने क्रम निरन्तर चलिरहेको छ । संख्या थपिदै गइरहेको अवस्था छ । यसले गर्दा क्वारेन्टिन व्यवस्थापन गर्नका लागि प्रयाप्त कोठाहरु, भवनहरुमा राख्न समेत नसक्ने अवस्था आउनसक्छ । यसले गर्दा भोली थप संख्याहरु आएको अवस्थामा उहाँहरुलाई राख्ने कोठाहरु नभएपछि कहाँ राख्ने भन्ने चुनौती देखिएको छ । यसको बैकल्पिक उपायहरु खोजिरहेका छौं ।
५. गाउँपालिकाले अहिलेसम्म कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि कति खर्च गर्नुभयो ?
गाउँपालिकाले अहिलेसम्म कति खर्च भयो भन्ने हिसाब गरिएको छैन । तर गाउँपालिकाका विपद् व्यवस्थापन कोषमा १८ लाख रुपैयाँ जम्मा भएको थियो । नेपालमा लकडाउन भएपछि गाउँपालिकाले कोरोनासँग लड्नका लागि विपद् व्यवस्थापन कोष निर्माण गरेको हौं । त्यसपछि कार्यपालिका पास गरी योजनाका बजेटलाई कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्नेका लागि ३० लाख रुपैयाँ स्थान्तरण गरिएको थियो । प्रत्येक वडालाई राहत वितरण गर्नेका लागि ४ लाखका दरले दिएका थियौं ।
६. कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नेका लागि गाउँपालिकाको स्रोत साधनले धान्न सक्ने अवस्था छ की छैन ?
कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्नका लागि गाउँपालिकाको रकमले धान्न सक्ने अवस्था छैन । योजनका रकम समेत कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्नेका लागि बनाएको विपद कोषमा राखिसकेको अवस्था छ । अब लक्षीत वर्गका लागि दिने कार्यक्रम मात्र बाँकी रहेको छ । यहाँका संघसंस्थाहरुले सहयोग गरेका छन् तर पनि पुगेको छैन ।
७. लकडाउनको अवधिमा विकास निर्माणका कामहरु भईरहेको अवस्था छ छैन ?
जानकी गाउँपालिकामा विकास निर्माणका कामहरु निरन्तर भैरहेका छन्, । विभिन्न ठेकेदारहरुले आफ्नो विकास निर्माणका साम्रागीहरु ल्याउन कुनै रोक लगाइएको छैन । उनीहरुले सामाजिक दुरी कायम गरी काम गरिरहेका छन् । गाउँपालिकाले अहिले विपदको समयमा पनि अनुगमन गरिरहेको छ । गाउँपालिकाले अहिले सडक, सामुदायिक भवन, विद्यालयका शौचालय लगायत अन्य थुप्रै विकास निर्माणका कामहरु अगाढी बढाईरहेका छौ । गाउँपालिकाद्वारा विकास निर्माणका टेण्डरहरु खोल्ने र काम सुचारु गरिरहेको अवस्था छ ।
८. आगामी वर्षको बजेटमा गाउँपालिकाले कुन–कुन क्षेत्रमा बढी प्राथमिकता दिदै छ ?
जानकी गाउँपालिकाले विशेषः कृषि र शिक्षालाई बढि जोड दिएको छ । अब आउने बजेटमा पनि यसलाई नै प्राथामिकता दिनेछौं । त्यसै गरी सडक, पुलपुलेसा, स्वरोजगार कार्यक्रम, पर्यटन लगायतका कार्यक्रमलाई निरन्तरता दिने सोचेका छौँ । कृषि क्रान्तिका लागि गाउँपालिकाले विभिन्न कार्यविधिहरु अघि सारिसकेको छ । लिजमा लिएको जग्गा, बाँझै जग्गा तथा ऐलानी जग्गामा कृषि खेती गर्नेका लागि कृषकहरुलाई सहज र सरल रुपमा कार्यविधि बनाएका छौं । अहिले विदेश, भारतबाट फर्किएका युवाहरुलाई स्वरोजगार अन्र्तगत कृषि कार्यक्रममा लगाउनेछौं । उहाँहरुलाई कसरी रोजगारी सृजना गर्ने भन्ने एउटा ठुलो चुनौती हामीसँग छ ।
९. अन्त्यमा गाउँपालिकाबासीलाई के भन्न चाहानुहुन्छ ?
यो विपद्को समयमा हाम्रो आवाज र समस्यालाई जनताको समक्ष राख्ने मौका दिनुभएकोमा मिसन टुुडे राष्ट्रि«य दैनिक परिवारलाई विशेष धन्यवाद दिन चाहान्छु ।
गाउँबासीलाई कोरोना संक्रमण रोकथाम र नियन्त्रण नहुँदासम्म भौतिक दुरी कायम गरिदिन अनुरोध गर्ने चाहान्छु । समय–समयमा हातमुख धुने, सबैलाई सचेत बनाई स्वच्छ बन्न आग्रह गर्दछु । त्यस्तै क्वारेन्टिनको व्यवस्थापनमा रातदिन खट्नुभएका जनप्रतिनिधि तथा कर्मचारी र सुरक्षाकर्मीलाई विशेष धन्यवाद दिन चाहान्छु । कृषकहरुले आफ्नो सतर्कता अपनाउँदै खेतिपातीको कामलाई निरन्तरता दिन समेत अनुरोध गर्दछु ।










प्रतिक्रिया दिनुहोस्