पुनरावृति सम्झनाको



महानन्द ढकाल

पूर्वी तराइको कुरा बाको मुखबाटै सुनेको हुँ । पश्चिम तराइमा पनि बा घुमेको थाहा थियोे । धेरै भएको पनि थिएन । पश्चिमको बारेमा बोल्ने मौकै पाएनन् । पश्चिमी तराइ घुमेर फर्केपछि चानचुन एक वर्ष मात्रै बाँचे बा । छ महिना त पूरै थला परे । थालामा आफ्नै पीडा सुनाएको याद छ अरु केही सम्झिेको छैन । बाँके, बर्दिया भ्रमणको यात्रा वृतान्तहरु नसुनाएका होलान् भन्ने कल्पना पनि गर्न सक्दिन । कसैसँग भेट भयो कि गाउँ ठाउँकै कुरा हुन्थे । नुन लिन बटौली झर्दाका कहानीमा खुबै रमाएको देखेको थिएँ आफ्ना दौंतरीहरुसँग । मेरा बा यात्रामा रमाउँथे यसमा दुई मत छैन । प्रत्येक हिउँदमा चानचुन एकसाता मेरा बा घरमा हुदैनथै । बाको यात्रा ठ्याक्कै कता हुन्थ्यो यो भने कहिलै सोधिन मैले । नसोध्नुको कारण पनि छ । पहिलो कारण, हिड्ने बेलामा कसैलाई पनि ‘कहाँ  हिडेको ?’ भनेर कहिल्यै नसोध्नु भनेर अर्ती दिन्थे मेरा बाले । दोस्रो कारण म मात्रै होइन हामी बासँग नजिक पर्न पनि डराउँथ्यौं । नजिकै पर्न डराउनेले सोध्न सक्ने त कुरै रहेन ।

मेरा बाको कपाल पातलो थियो । तालुमा कपाल थिएन । आँखा कस्ता थिए थाहा नै भएन । आँखामा हेर्न सकेको भए पो थाहा हुनु । एक पटक आँखा जुधाएको याद छैन मलाई । बाका आँखाले हेरेको पश्चिमी तराइ पच्छाउँदै झरेको थिएँ म । दश एघारको थिएँ होला तराइ झर्दा । बाँके बर्दिया छिरेको थिएँ म मेरा आफन्तहरुसङ्ग । बा गाउँ फर्केको अर्को वर्ष नै बाका पाइलामा पाइला पच्छ्याउँदै बर्दिया पुगेको थिएँ । नयाँ ठाउँ नयाँ परिवेश रनभुल्लमा परें म कति वर्ष त । वर्षौंसम्म बूढीकुलो वारपार गर्नमै समय बिताएँ मैले । बनियाभार र जोगीगाउँ गर्दा गर्दै मेरा दशौं वर्ष बिते । अझ भनौं पूरै जवानी बाँके बर्दियाका सिमित गाउँ ओहोर दोहोर गर्न मै बित्यो । वर्षौ बसेर पनि बर्दियाका कतिपय कुराहरुसँग लामै समयसम्म अनविज्ञ रहें म ।

तारा नाथ शर्माको ‘घनघस्याको उकालो’ पढ्दै गर्दा बर्दियाको राजापुर र बबईको तिरमा कपास बिच्छ्याए जस्तो सेताम्मै पूmलेको काँसे घारीको प्रसङ सुन्दा मन कम्ता चङ्घा भएको थिएन । उतिवेला नै घुम्न मन थियो मलाई यी ठाउँहरु । कर्णाली छुट्टिएर श्रीलङ्घा जस्तै बनेको यो क्षेत्रलाई राजापुर भनिन्थ्यो । बर्दिया भनेर धेरैले चिन्ने पनि त यही क्षेत्र हो । भ्रमण गर्न धेरै मानिसहरु लालायित हुने गरेको सुनेको थिएँ यो ठाउँ । तर सुनेर के गर्नु ? उबेला मेरा लागि सम्भव नै थिएन । साथमा साइकल भएको भए पो ? गोजीमा पैसा भएको भए पो ? साथीहरुलेको साथ मागेको भए पो ? । त्यसै कहाँ हुदो हो राजापुरको भ्रमण ? बरफ चुस्न त धानका सीला खोज्थ्यौं । चप्पल फाट्छन् भनेर हातमा बोकेर हिड्ने बेलाको मान्छे परियो । कस्तो बेला थियो ? यस्तो बेलामा प्रयास नै गरिएन । पछिपछि समय नै जुटेन । ‘लगन जुर्न पर्छ’ बाले भन्ने गर्थै । हो रहेछ पछि मात्रै थाहा भो । पहिले त बुझे पो त ? यसपटक भने लगन जु¥यो । राजापुरलाई अङ्कमाल गर्न पाइने भो । काँसेघारीमा लुकामारी खेल्न पाइने भो । तोरीमा भुनभुनाउने मौरीसँग नजर जुधाउन पाइने भो । धानका पहेंलपुरे फाँटहरुसङ्ग साक्षत्कार गर्न पाइने भो । लगन जुराइदिने मुक्तक मञ्च नेपाल टिकापुरलाई साधुवाद ।

मुक्तक मञ्च नेपालको दोस्रो वार्षिक उत्सव थियो टिकापुरमा । पुस्तक चर्चाको जिम्मा मेरो थियो । ‘हुन्छ’ भनेर वचन दिएको थिएँ । हुन्छ भनेपछि गर्नु पनि त प¥यो । वहानावाजी गर्न आउँदैन मलाई । टिकापुर पुग्ने सोच बन्यो । तर एक्लै हिड्ने बानी छैन । एक्लै एक्लै कहीँ पनि त गएको छैन । कतिपय भ्रमणमा त सुमित्रा मेमसँगै हिडेको छु । कतिपय ठाउँमा साथीहरुसँग । एउटै रुची भएकाहरुसँग हिड्दा धेरै कुरा मिल्दो रहेछ । तर यस पटक घरयासी र अफिसको कामले सुमित्रालाई हिड्नै दिएन । धेरै पटक बद्री ढकाल, सन्तोषी बिष्ट, कपिल अन्जान, बिक्रम शिशिर, केशव निमेष, करुणा बिष्ट आदिसँग हिडेको छु । यसपटक पनि साथी खोजें । फोन लगाएँ । फोनले काम ग¥यो । बद्री ढकाल, बिक्रम शिशिर, उषा तानी सुवेदी, एलिषा कंडेल र सुमन गोदार तयार भए । राजापुर हुँदै टिकापुर पुग्ने सोच बनाएँ ।

छ बजे बैदी चोक पुग्यौं । चोकमा चहलपहल कम थियो । बाइकको यात्रा थियो हाम्रो । आठ जना तीन बाइकमा । बद्री ढकाल र म एउटामा थियौं । बिक्रम र सुमनका बाइकहरु चोकमा पुगिसकेका थिए । राजापुर हुँदै जाने कुरा बताइसकेको थिइन । कतर्नीया, रम्मापुर, बबई, चिसापानी, लम्की हुँदै टिकापुर पुग्ने सोच साथीहरुको रहेछ । बैदी चोकबाट बाइकलाई दक्षिण पश्चितिर कुदाएँ । साथीहरु ‘यता कता ?’ भन्दै हुनुहुन्थ्यो । ‘पछिपछि आउनु न’ मात्रै भनेँ । बबई सिंचाई परियोजनाको कार्यालयसम्म पूरै जङ्गल थियो । बैदी गाउँ पार गर्दै हामी बैदी फाँटमा पुग्यौं । मानिसहरु खेतका गहहरुमा लामवद्ध देखिन्थे । धान पाकेर पहेंलै थियो । किसानहरुलाई भ्याइ नभ्याइ रहेछ । एका बिहानै खेतमा पुग्नु कम रहर बढी बाध्यता पक्कै हो । कसिानको कृषि मोहको एक उदाहरण थियो यो ।
बार बर्दिया न.पा.को जयनगर पुगियो । बैदी यताको बाटो पूरै कच्ची । ग्रावेलका ढुङ्गा सिगौरी खेल्न आउने । सात बज्नै आँटेको थियो । मित्रलाल ढकाल जो मेरा बालयकालका मित्र पनि हुन् । जयनगरका गनिएका व्यपारी । सटर खोलेर मात्रै बसेका रहेछन् । हामीलाई देख्दा दङ्ग परे । मेडमलाई बोलाए । चियाको बन्दोबस्त गर्न लगाए । हामीले नाइ नास्ती गरौं । चिया नपिउने नै निधो ग¥यौं । मित्रको गुनासो थियो । समय अनुसार ठिकै ग¥यौं भन्ने लागेको छ । समयमा नै कार्यक्रमा पुग्नु पनि थियो । चियाको पछि लागेको भए ढिला हुन्थ्यो । एक आधा घण्टा यतै कतै हुन्थ्यौं हामी । चिया पिउदासम्म वनगाईको जङ्गल काट्थ्यौं । बनियाभारको छेउछाउ पुग्थ्यौं । त्यसैले पनि हतारियौं ।
बर्दियालाई हरिहरको मौजा भानिन्थ्यो । हजारौ बिघा जदिनका मालिक थिए हरिहर गौतम । वि.सं. २०२१ को भूमिसुधारले उनको उठीवास बनायो । खबर सुनेर ‘हर्टअट्याक’ भएको रे । पिताको मृत्युपछि सन्तानले पनि बर्दिया छोडे । उनको पुरानो घर बनघुस्री भन्ने ठाउँमा थियो । यो जयनगरबाट नजिकै पथ्र्याे । भक्तपुरको पचपन्न झ्याले दरवारभन्दा उनको
दरवार ठूलो मानिन्थ्यो रे । सन्ताउन्न झ्याल थिए रे । शाहवंसीय राजा महेन्द्रले तीन झ्याल सदाका लागि बन्द गर्न लागाएका रे । यी कुरा अहिले पनि बताउँछन् जानकारहरु । ‘मुगल शैलीमा निमार्ण गरिएको थियो यो दरवार । दरबारको भू–गर्भमा एउटा विसाल इनार थियो रे । घरको आन्तरिक सूचना बाहिर नजाओस् भनेर हरिहरले मुख्य कालिगढहरुलाई त्यही इनारमा खसालेका रे’ यस्ता कुराहरु अहिले पनि सुन्न पाइन्छ हरिहरका बारेमा ।
भूमिसुधारपछि हरिहर भवन बेवारिसे भयो । छोराहरुले फर्केर पनि हेरेनन् । हेरुन् पनि कसरी ? भूमिसुधारले कहाँको मान्छेलाई कहाँ पु¥यायो ? ‘राजा महेन्द्रको सवारीमा सुनको थालीमा सुनैका असर्फी सहित स्वागत गर्नु र पैसै–पैसा बिच्छ्याएर राझाँ विमानस्थल पु¥याउन सक्छु भन्ने घमण्डले हरिहर मास्सिए’ भन्छन् बुढापाकाहरु । ऋषि ज्ञवाली नामका एक बामपन्थी कार्यकर्ता थिए । पाटीको काम गर्न सजिलो हुने देखेर बहुदल आउँदासम्म घरको रेखदेख गरे । यही समयमा एक पटक पुनेको थिएँ यो घरमा ।
गजुरहरु ढलिसकेका थिए मैले देख्दा । भित्ताहरुमा लाइँ लागेको थियो । वर–पिपल पनि अन्त उम्रिने ठाउँ नपाए जस्तै भित्तामा नै उम्रिएका थिए । ठूलो गोदाम थियो । पचासौं हात्तीहरु बाँध्न मिल्ने हात्तीसार ्थियो । दर्जनौ घोडा काँध्न मिल्ने तवेला त मेरै आँखाले देखे । म मुनीका भाइहरुले सायद देख्न पाएनन् । हरिहरको मिल त पचासको दसकसम्म पनि घुम्दै थियो सायद । संरक्षणको अभावमा हरिहर भवन खण्डहर मात्रै होइन लोप नै भइसकेको थियो ।

यो भवनलाई संरक्षण गर्न सकेको भए कालन्तरमा यसको महत्व अवश्य आउँथ्यो । तर चाँसो देखाइएन । ढुङ्गा, इँटा र काठबाट कतिले आफ्ना आवश्यकताहरु पूरा गरे यकिन भएन । रित्तो स्थान घुमाउनुको कुनै अर्थ देखिन मैले । ‘हरिहर भवन यता पर्छ’ मात्रै भनें र मनिकापुर र बनगाईको बाटो हुँदै बनियाभार पु¥याएँ । साढे सात बजे हामी बनियाभार पुगिसकेका थियौं । मेरो बाल्यकाल यही गाउँमा बितेको थियो । यो गाउँसङ्ग मेरो छुट्टै लगाव छ । यहाँका मान्छेहरु प्रिय छन् मेरा लागि । घरघरमा पस्नु पर्ने बाध्यता त थियो मलाई । नपसेका समयमा गुनासाहरु पच्छाउँदै कोहलपुरसम्म आइपुग्थे । तर यसपटक सम्भव नै भएन । गाउँका सामजिक, आर्थिक, राजनैतिक र वातावरणीय बिशेषताहरु बताएँ
साथीहरुलाई । तापमापकयन्त्र बनियाभारको चिनारी थियो । साथीहरुलाई देखाउन लगें । यही तापमापक यन्त्रले हाम्रो परिवारलाई हिड्न सख्ने बनाएको थियो । हाम्रो कापि, कलम र नुन तेलमो जोहो यहीबाट हुने गथ्र्यो बर्दिया छँदासम्म । यतिबेला तापमापक यन्त्रले न्युनतम् तापक्रम १४ डिग्री सेन्टिग्रेट र मेक्सिमम तापक्रम २३ डिग्री सेन्टिग्रेट देखाइरहेको थियो । यो तापक्रम हावापनीका हिसावले अत्यन्तै अनुकुल वातावरण हो ।

हामीले यो गाउँ छोडेपछि तापक्रम हेर्ने जिम्मा दिदी भिनाजुलाई सुम्पेका थियौं आधिकारिक रुपमा नै । दिदी घरमा हुनुहुन्थेन । भिनाजुले चिया पकाउँछु भन्दै हुनुहुन्थ्यो । दिदी घरमै भएको भए नाइनास्ति गर्न पाइने थिएन सायद । हतार छ भनेर हामी बनियाभारबाट पश्चिम दक्षिणतिर हानियौं । बुढीकुलाको किनारै किनार रामपुरको चोकमा पुगेर एकछिन सुस्तायौं । चोकबाट पश्चिम गएमा मैले ६ देखि १० सम्म पढेको विद्यालय युवक मा वि जोगीगाउँ आउँथ्यो । समय भएको भए मैले पढेको विद्यालयसम्म साथीहरुलाई पु¥याउँथें तर हामीसँग समय कम थियो । बबई नदीमा सुन्दर झुलुङ्गे पुल बनेको थियो । पुलमा भिडियो बनाउँदै गर्दा बिहानको नौ बज्नै लागेको थियो । उषातानी सुवेदी भिडियो बनाउने मामलामा एक कदम अगाडि हुनुहुनथ्यो । सुन्दर दृश्यहरु मोवाइलमा कैद गर्दै हुनुहुन्थ्यो साथीहरुले । पुलमा भिडभाड थियो । स्थानीय पर्यटनलाई बढवा दिएको थियो यो झोलुङ्गे पुलले । हुन पनि डुङ्गा चढेर लाली बजार आवतजावत गर्नु कठिन थियो पदनाहा र बनियाभारका वासिन्दाहरुलाई । अब त कतै पक्की पुल बनेका छन् त कतै झोलुङ्गे पुल । साइकल पनि हिड्न नमिल्ने बाटाहरु चौडा भएका थिए । माइक्रो, जीप, ट्रेक्टर बाइकहरु सजिलै हिड्न सक्ने भएका थिए ।

मलाई बाल्यकालले पच्छाइरहेको थियो । यही बाटो हो कतिपटक खालीखुट्टा हिडेको थिएँ म । यही नदी हो कतिपटक दुई रुपियाँ बचाउने लोभले कट्टुभिजाउँदै तरेको थिएँ म । वर्षा याममा नदीले ताण्डव नृत्य देखाउँदा ढिकमा बसेर टोलाएको मान्छे हुँ म । एक पटक डुङ्गाबाट खसेर आफ्नै गाउँका तीन जना बेपत्ता हुँदा गाउँलेसँगै पूरा दुई दिन भोक भोकै जगतिया घाटसम्म किनारै किनार हिडेको अनुभव छ मसँग । अब ती दिन फर्केर आउने छैनन् र आउनु पनि परेको छैन । पुल बनेपछि कति नजिक भएको छ लालीबजारबाट ।
कुशुमादेवीलाई नमन गरी हामी उत्तर पश्चिम हानियौै । लाली बजारले रुप फेरिसकेको रहेछ । होचा र पुठ्का घरहरु अग्लिदै रहेछन् । कुरुप गल्लीहरुले लिपिष्टिक र पाउडर लगाउन जानिसकेका रहेछन् । बुधबार ठूलै मेला लाग्थ्यो यो बजारमा ।

आजभोलि लाग्छ लाग्दैन थाहा भएन । नुन तेल गर्न आएको ठाँउ हो कुनै बेला । यही बजार हो जहाँ टिनका छाप्रा मुनि भेलिमा भिजाएका भुजाले धेरै पटक मन भुलाएको थिएँ मैले । एक रुपिँयाको भुजाको लड्डुले पनि मन लोभ्याउने जोमाना थियो । अहिलेका बालबालिकाले बिरलै यस्तो अनुभव गर्न पाउँछन् जस्तो लाग्छ । कतिपय सम्झनहरुको पुनरावृति बनाउँदै थियो यो यात्राले । लाली बजारले साँच्चिकै लाली लगाएको थियो । वैंसालु युवती जस्तै पुष्ट । सुन्दर र मनमोहक पनि । लडिया हिड्दा साइकल छिर्न कठिन हुने बाटाहरु विकाससँगै सती गएछन् । दोहोरो चेपुवामा परेको गुलरिया राजापुर रोडलाई प्रजातन्त्र आएको रहेछ । लाग्थ्यो ऊ उन्मुक्त हाँसो हाँस्न सिक्दै छ । दुबैतिर हात पैmलाउन कसैले रोक्न सक्दैन उसलाई । लमतन्न सुतेको बोटोको छातीमाथि हाम्रा बाइकहरु निर्वाध रुपमा गुडिरहेका थिए राजापुरलाई ताकेर ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २० गते शनिबार