कोहलपुर :
लकडाउनमा परेका विपन्नहरुका लागि कोहलपुर नगरपालिका वडा नम्बर ११ ले राहत वितरण सुरु गरेको छ । वडामा रहेका विपन्न घरपरिवारहरुको तथ्यांक संकलन गरेर मंगलबारबाट राहत वितरण सुरु गरिएको हो ।
पहिलो चरणमा वडा नम्बर ११ मा १ हजार १ सय जना विपन्नहरुको नामावली संकलन गरिएको वडाअध्यक्ष कर्ण बहादुर थापाले बताए । पहिलो दिन वडा नम्बर ११ का विभिन्न बस्तीमा भूमिहिन र सुकुम्बासीको रुपमा बसोबास गर्दै आएका गन्धर्व समुदाय सहित दुई सुत्केरी महिला ३ सय ८ जनालाई राहत प्रदान गरिएको बताए ।
उनीहरुलाई प्रति परिवार १५ केजी चामल साढे २ केजी दाल, १ केजी तेल ,१ पोका नुन वितरण गरिएको हो । कोरोना संक्रमण जोखिमका कारण प्रत्येक दिन न्युनतम् २ सय जनालाई लक्षित गरी दरले वितरण गरिने उनको भनाई छ । ‘हामीले वडामा रहेको विपन्नहरुलाई केही सहज होस भनेर राहत उपलब्ध गराएका हौ’ उनले भने, ‘पहिलो दिन नै हामीले राहत पाएनौ भन्ने गुनासो आइसक्यो । पहिलो चरणमा ११ सय जनालाई वितरण गर्छौ । त्यसपछि छुटेकाहरुलाई वितरण हुन्छ ।’ उनले कोही व्यक्ति छुटेको भएपनि वडा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । अहिले वडामा राहत माग्नेको लर्को नै लाग्न थालेको छ । तथ्यांक संकलनको क्रममा छुटेकालाई वडा कार्यालयमा आएका थप नाम संकलन गर्ने र आवश्यक राहत वितरण गर्ने वडा कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्