15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

स्याङ्जा सम्पर्क मञ्च बाँकेको सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन ११, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा स्याङ्जा सम्पर्क मञ्च बाँकेको परिचय तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बाँके जिल्लाका विभिन्न कार्यालयमा कार्यरत स्याङ्जा जिल्लाका कर्मचारीहरुको परिचय तथा सम्मान कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा १२ जना जिल्ला स्थित विभिन्न कार्यालय प्रमुख तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा राम जानकी माविका निर्देशक दिनेश सिग्देलले असहाय गरिव, बेसाहारा लगायतका विद्यार्थीहरुलाई उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेका थिए । स्याङ्जा सम्पर्क मञ्च बाँकेका महासचिव विष्णु प्रसाद खनालले सिग्देलले मञ्चको सिफारिसमा कक्षा १ देखि १२ सम्म अध्ययनको लागि सम्पूर्ण व्यवस्था गरिदिने घोषणा गरेको जानकारी दिए ।

उनका अनुसार अक्षयकोष मार्फत राम जानकी माविका निर्देशक दिनेश सिग्देलले एक छात्र र छात्रालाई निःशुल्क पढाउनेछन् । कार्यक्रममा बोल्दै सम्पर्क मञ्च बाँकेका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले घोषणाले मञ्चको गरिमालाई अझै माथि उठाएको र आगामी समेत राम्रा काम गर्दै जाने बताएका थिए । मञ्चले स्याङ्जालीको सहकार्य मार्फत निम्न आयस्तर भएकाहरुलाई सहयोग गर्दै आइरहेको जानकारी उनले दिए । कार्यक्रममा सल्लाहाकार ओम प्रकाश केसी, सुर्य ढकाल, गोविन्द ढकाल लगायतले आफ्नो मन्तव्य राखेका थिए । उक्त अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरिएको थियो । परिचय तथा सम्मान कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सिता रेग्मी राखेकी थिइन् भने अर्का उपाध्यक्ष एक नारायण चापागाईले खाँदा ओढाएर अतिथिहरुलाई स्वागत गरेका थिए ।

प्रकाशित मितिः आइतवार, फाल्गुन ११, २०७६     10:03:59 AM  |