कोहलपुर ।
बाँकेको कोहलपुरमा तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिता कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माध्यामिक विद्यालयको व्यवस्थापनमा हुन गइरहेको हो । प्रतियोगिता गत माघ ३ गतेदेखि सुरु हुने भनिएता पनि बर्षातका कारणले गर्दा पछि सरेका थियो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रतियोगितामा विभिन्न १५ विद्याका खेलहरु समावेश गरिएका छन् । कोहलपुर नगरपालिका प्रमुख तथा प्रतियोगिताका संयोजक लुट बहादुर रावतले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन् । यो प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडीलाई राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा छनौट गरिने उनले जानकारी दिए ।
प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन संयोजक तथा कृष्ण माध्यामिक विद्यालयका प्रधानाध्यापक विरेन्द्र कुमार मल्लले फर्जी विद्यार्थी प्रतियोगितामा सहभागि नगराउन विद्यालयहरुलाई आग्रह गरेका थिए । ‘विगतका खेलकुदमा फर्जी विद्यार्थी सामुदायिक तथा संस्थागत विद्यालयबाट मिस्याएर समस्या भएको थियो’ उनले भने, ‘अहिले यस्तो क्रियाकलाप नगर्ने र नगराउन म सबैलाई अनुरोध गर्दछु ।’
यदि फर्जी विद्यार्थी राखेको ठहर भएमा १ हजार १ सय रुपैयाँ जरिवाना समेत गरिने उनले दाबी गरे । प्रतियोगितामा कोहलपुर नगरभित्रका ३३ वटा विद्यालयहरुले सहभागि जनाउनेछन् । जसमा सामुदायिक ११ र संस्थागत २२ वटा माध्यामिक विद्यालय रहेका छन् । ६ सय ५८ जना विद्याथीले खेलकुदमा भाग लिएको आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्