गत माघ ११ गते भएको निर्वाचनमा समावेशी प्यानलबाट सदस्य पदमा विजयी भएका चिरञ्जीवी ओली (महासचिव), धर्मराज अर्याल (उपमहासचिव) र हरिलाल न्यौपाने (कोषाध्यक्ष) पदमा निर्वाचित भएका छन् । संघका अध्यक्ष अब्दुल बाहिद मन्सुरी ‘चुन्ना’ ले आफ्नो अधिकार प्रयोग गर्दै प्रवक्ताको जिम्मेवारी कार्यसमिति सदस्य टंकबहादुर धामीलाई दिए ।
नेपालगञ्ज ।
बाँकेको नेपालगञ्ज उद्योग बाणिज्य संघमा आन्तरिक निर्वाचन मार्फत रिक्त पदाधिकारी चयन गरिएको छ । गत माघ ११ गते भएको संघको निर्वाचनबाट निर्वाचित भएका १९ सदस्यीय कार्यसमितिले आन्तरिक मतदानमार्फत पदाधिकारी चयन गरेको थियो । मंगलबार भएको संघको बैठकमा निर्वाचित सदस्यहरुबाट महासचिव, उपमहासचिव र कोषाध्यक्ष आन्तरिक मतदानबाट टुङ्गो लगाइएको हो । संघको महासचिवमा चिरञ्जीवी ओली, उपमहासचिवमा धर्मराज अर्याल र कोषाध्यक्षमा हरिलाल न्यौपाने निर्वाचित भएका थिए ।
महासचिव पदमा सदस्य पदको निर्वाचनको क्रममा एउटै समावेशी प्यानलबाट चुनाव लडेर विजयी भएका ओली र भीम रानाभाटले प्रतिस्पर्धा गरेका थिए । त्यसमा ओलीले बाजी मार्न सफल भए । आन्तरिक मतदानमा ओलीले १० मत ल्याउँदै महासचिवमा विजयी भए भने रानाभाटले ९ मत प्राप्त गरेका थिए । दुवै जनाले समान ९\९ मत ल्याएपछि संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ ले आफ्नो मत प्रयोग गरेका थिए । अध्यक्ष चुन्नाले हालेको मत नै महासचिव पदको लागि निर्णायक बन्न पुगेको थियो । यसैगरी उपमहासचिवमा अर्यालले १० मत प्राप्त गरि विजयी भएका थिए भने उनका प्रतिद्धन्द्धी टेकबहादुर खड्काले ८ मत प्राप्त गरे ।
संघको कोषाध्यक्षमा हरिलाल न्यौपानेले १० मत प्राप्त गरि विजयी भएका थिए । उनीसँग प्रतिस्पर्धा गरेका टंकप्रसाद शर्माले ८ मत प्राप्त गर्न सफल भए । बैठकबाट संघको प्रथम उपाध्यक्षमा उद्योग तर्फका उपाध्यक्ष आदेश अग्रवाल चयन हुँदा द्धितिय उपाध्यक्षमा वाणिज्यतर्फका अमितकुमार बस्नेत चयन भएका थिए । संघको प्रवक्तामा कार्यसमिति सदस्य टंकबहादुर धामीलाई जिम्मेवारी दिइएको छ । मंगलबारको बैठकले वरिष्ठ सदस्य र दुई महिला सदस्य समेत चयन गरेको छ ।
वरिष्ठ सदस्यमा बसन्त लामिछाने तथा महिला सदस्यहरुमा पार्वता आचार्य र उषा थापा भण्डारीलाई चयन गरेको हो । अझै अन्य दुई जना सदस्यहरु संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ ले चयन गर्न बाँकी नै रहेको छ ।









प्रतिक्रिया दिनुहोस्