दोस्रो नेचर कञ्जरभेषण (रन फर फन) को हाफ म्याराथन नेपाली सेनाका सिपाही शिव बहादुर रायमाझीले जितेका छन् ।
नेपाली सेना दिवसको अवसरमा बुधबार बाँके राष्ट्रिय निकुञ्जको मुख्यालय शमशेरगञ्जमा भएको हाफ म्याराथनमा खड्गबहादुर गणका रायमाझी प्रथम भएका हुन् । नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा राँझाले सेना दिवसको अवसर पारेर विभिन्न खेलहरु समेटेर दोस्रो नेचर कञ्जरभेषणको आयोजना गरेको थियो ।
हाफ म्याराथन (२१ किलोमिटर) उनले १ घण्टा १० मिनेट २१ सेकेन्डमा पूरा गरेका थिए । हाफ म्याराथनमा भैरवनाथ गणका सिपाही भेषराज बाँस्तोला दोस्रो भए । १ घण्टा १८ मिनेट ३१ सेकेन्डमा उनले दौड पूरा गरे ।
१ घण्टा २१ मिनेट ४२ सेकेन्डमा निर्धारित दुरी पार गर्दै नेपालगञ्जका ललित शाही तेस्रो भए । हाफ म्याराथनमा मख्खन बस्नेत चौथो र वीरेन्द्र राई पाँचौं भएको आयोजक नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा राँझाले जनाएको छ ।
प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार रुपैयाँ हात पारेका थिए । बुधबार नै भएको महिलाको दश किलोमिटर दौडमा रोजिना भण्डारी प्रथम भइन् । निर्धारित दुरी ३९ मिनेट ४० सेकेन्डमा पूरा गर्दै उनले ३० हजार रुपैयाँ पुरस्कार पाइन् ।
सोही प्रतियोगितामा सीता चौधरी दोस्रो र पूर्णिमा खड्का तेस्रो भए । उनीहरुले क्रमशः २५ र २० हजार पुरस्कार पाए । ५ किलोमिटर दौडमा महिलातर्फ बालकुमारी थारु प्रथम, सपना थारु दोस्रो र कुसुम रावल तेस्रो भइन् ।
सोही विधामा पुरुषतर्फ अशोक चौधरी प्रथम, रुपलाल चपाई दोस्रो र प्रमोद थारु तेस्रो भएको आयोजक नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा राँझाले जनाएको छ । विजेताहरुले क्रमशः १०, ७ र ३ हजार रुपैयाँ पुरस्कार पाएका थिए ।
दोस्रो नेचर कञ्जरभेषण (रन फर फन)मा पहिलोपटक साइकल दौड प्रतियोगिता समेत समावेश गरिएको थियो । सोही अवसरमा पुरुषका लागि २५ किलोमिटर र महिलाका लागि १५ किलोमिटर साइकल दौड भएको थियो । पुरुषतर्फ २५ किलोमिटरमा सुरज राना प्रथम, बाबुराम विश्वकर्मा दोस्रो, जितु चौहान तेस्रो र जंगु थारु चौथो भएका थिए ।
उनीहरुले क्रमशः २५, २०, १५ र १० हजार रुपैयाँ पुरस्कार पाएको आयोजक नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले जानकारी दिए । १५ किलोमिटर महिलातर्फ इन्द्राकुमारी तामाङ प्रथम, विदिसा चौधरी दोस्रो र पार्वती सार्की तेस्रो भएका थिए । उनीहरुले क्रमशः १०, ७ र ५ हजार प्राप्त गरे ।
विभिन्न विधाका विजेताहरुलाई बाहिनीपति सहायक रथी पाठकले लगायतले पुरस्कार वितरण गरेका थिए । उक्त अवसरमा बोल्दै उनले सैनिक नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता कार्यक्रमले सघाउ पु¥याउने बताए ।
‘बुधबार गरिएको कार्यक्रमले केही भएपनि सैनिक नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउने मैले विश्वास लिएको छु’ उनले भने, ‘यो कार्यक्रमले बाँके निकुञ्जको प्रचार प्रसार र विकासमा समेत टेवा पु¥याउँछ ।’ विगतदेखि नै नागरिकहरुसँग हातमालो गर्दै नेपाली सेनाले काम गरिरहेको बताउँदै बाहिनीपति सहायक रथी पाठकले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु गरिने बताए ।
प्रथम नेचर कञ्जरभेषण (रन फर फन)कार्यक्रम बर्दिया राष्ट्रिय निकुञ्जमा भएको थियो । सोही अवसरमा सैनिक तथा गैर सैनिकहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।