कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकाबाट प्रवाह गरिने सेवा सुविधामा स्थानीयबासीले पुर्वाधार र शिक्षाका विषयमा तीव्र असन्तुष्टि जनाएका छन् । शुक्रबार गाउँपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा सहभागी स्थानीयहरुले पुर्वाधार विकास र शिक्षा क्षेत्रमा जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका हुन् । स्थानीय तहमा जनप्रतिनिधीहरु निर्वाचित भएर आएको साढे दुई वर्ष भइसक्दा पनी जनतासँग जोडिएका क्षेत्रमा काम हुन नसकेको उनीहरुले बताएका थिए ।
भौतिक पुर्वाधार र शिक्षा क्षेत्र भद्रगोल तरिकाले सञ्चालन भईरहेको भन्दै स्थानीयबासीहरुले गाउँपालिकाको आचोलना गरे । जनताको जनमत प्राप्त गरेर पनि उल्लेख्य काम गर्न नसकेको भन्दै उनीहरुले गाउँपालिका र जनप्रतिनिधिको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गरेका हुन् । गाउँपालिका वडा नम्बर ८ का स्थानीय वीरेन्द्र सिंह चौधरीले वर्षेनी बाढी डुवानको समस्या रहेको भन्दै वडा स्तरमा रहेका पुल अलपत्र अवस्थामा रहेको भन्दै प्रश्न गरे । वडा जोड्ने मानखोला पुल निर्माण हुन नसकेका कारण स्थानीयहरुलाई समस्या भईरहेको भन्दै उनले आक्रोश पोखे ।
‘लामो समय सम्म पुल निर्माण कार्य हुन सकेको छैन, छिटो भन्दा छिटो निर्माण कार्य अघि बढाई स्थानीयको समस्या समाधानको लागि आग्रह गर्न चाहान्छु’ उनले भने । सोही वडाकै अर्का स्थानीय राधेश्याम थारुले गाउँ स्तरमा रहेका हिलाम्मे सडकका कारण कठिनाई भोग्नु परेको भन्दै गुनासो गरे । उनले वडामा रहेका विद्यालयहरुमा शिक्षक अनियमितताका विषयमा समेत गाउँपालिकासँग उत्तर माग गरेका थिए ।
स्थानीय विष्णुमाया पुनले शिक्षा सबैको लागि निःशुल्क भएपनि शिक्षक, भवन तथा अन्य समस्याका कारण शिक्षा आर्जन गर्ने उपयुक्त वातावरण नभएको बताईन् । सहभागीले सोधेका प्रश्नको जवाफ दिदै वडा नम्बर ८ का अध्यक्ष भगत थारुले पुल तथा हिलाम्मे सडकका विषयमा कतै काम भईरहेको र कतै कानुनी प्रक्रिया नमिलेका कारण समस्या भएको बताए । वडाबासीको हक तथा हितका लागि सधै लागिपरेको भन्दै उनले वडामा रहेका विद्यालयहरुमा रहेका समस्या समाधानको लागि योजना बनाएर अघि बढेको दाबी गरे । उक्त अवसरमा पुर्वाधार विकास र शिक्षाका साथै बालविवाह, छाडा पशु चौपाया, योजना अनुगमन र भ्रमण वर्षका विषयमा केन्द्रीत रहेर जिज्ञासा सहभागिहरुले प्रश्न राखेका थिए ।
विद्यमान बालविवाहका न्युनिकरणका लागि गाउँपालिकाले गरेको प्रयासका विषयमा प्रश्न गर्दै स्थानीय नारायण आचार्यले बालविवाह रोक्न गाउँपालिकाको योजना र उपलब्धीका बारेमा जिज्ञासा राखे । अहिले गाउँपालिकामा गरिएको बेसलाईन सर्वेका ६८ प्रतिशत बालविवाह हुने गरेको भेटिएको जानकारी दिइएको थियो । गाउँपालिकाले बालविवाह न्युनिकरणकै लागि धर्मगुरु, पुरोहितहरुलाई जनचेतना प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । बालविवाह न्युनिकरण गर्न कै लागि रणनिति तथा कार्यक्रम नै बनाएर काम भईरहेको छ । यस्तै भौतिक पुर्वाधार निर्माणको लागि प्राकृतिक स्वरुप नै बिगार्ने गरी विनासकारी विकास जनताले नचाहेको बताएका थिए । वडा नम्बर १ चिसापानीकी स्थानीय जयलक्ष्मी शाहले प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको गाभर विकासको लागि गाउँपालिकाको ध्यान जान नसकेको दुःखेसो गरिन् ।
‘हामी यस ठाउँमा बस्न थालेको मात्रै ३५ वर्ष पुग्यो, खै अहिले सम्म पनि सडक स्तरोन्नती भएको छैन’ उनले भनिन्, ‘भ्रमण वर्ष सबै भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखे पनि स्थानीय सरकारले किन उचित ध्यान दिन सक्दैन ।’ चालु आर्थिक वर्ष मात्रै गाउँपालिकाले गाभर भ्याली क्षेत्रको सडक पिच गर्नको लागि २० लाख रुपैयाँ छुट्याईएको जनाएको छ । प्रमुख जवाफदेही वक्ताको रुपमा रहेका गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले गाउँपालिकाको वर्तमान प्राथमिकता नै शिक्षा र भौतिक पुर्वाधार रहेको बताएका थिए । उनका अनुसार धेरै योजना निर्माणको चरणमा रहेकोले केही ठाउँमा असहज वातावरण सिर्जना भएको छ । अध्यक्ष ठकुरीले गाउँपालिकामा सबै वडामा बजेट विनियोजन गर्दा भूगोल र जनसंख्यालाई आधार बनाएर बजेट विनियोजन गरिएको स्पष्ट पारे । ‘हामी समृद्ध बैजनाथ गाउँपालिका बनाउन प्रतिबद्ध छौ’ उनले भने, ‘सबै परिणाम देखिने गरी काम गरिरहेका छौ ।’ केही छिटफुट विषय बाहेक गाउँपालिकामा र नमुनायोग्य काम भईरहेको अध्यक्ष ठकुरीले दाबी गरे ।
गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले गाउँपालिकामा सञ्चालित योजना तथा हरेक क्षेत्रमा अनुगमन प्रक्रियालाई तिव्रता दिदै आएको बताईन् । ‘गाउँपालिकाको क्षेत्रधिकार भित्र रहेर विधि र प्रक्रिया अनुसार काम गरिहेका छौ’ उनले भनिन्, ‘विकास र समृद्धिका लागि स्थानीय समेत साथ चाहिन्छ ।’ गाउँपालिकाको सार्वजनिक सुनुवाईको क्रममा दश बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । बैजनाथ गाउँपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता अभिबृद्धि गर्न गुनासो सुनुवाई तथा व्यवस्थापन संयन्त्र स्थापना गर्ने, पालिका भित्रका जोखिम र जिर्ण सडक, पुल निर्माण, पुर्ननिर्माण गर्ने, शैक्षिक गुणस्तरियताका लागि बैजनाथ गाउँपालिका भित्रका बिद्यालयहरुको नियमित अनुगमन गर्ने लगायतका प्रतिबद्धता जारी गरिएको हो ।








प्रतिक्रिया दिनुहोस्