सरुवा प्रकरणः आदेश नमान्ने एसपी र डिएसपी, रमिते आईजी



कृष्णसिंह लोथ्याल

काठमाडौं । 

सुरक्षा संगठन ‘चेन अफ कमाण्ड’मा चल्ने संस्था हो । कुनै बेला आफूभन्दा सिनियर अधिकृतले ‘एक्लै पहाड फोड’ भन्दा ‘हस् सर’ भन्दै आदेश पालना गर्नुपर्ने अवस्था थियो ।

तर, त्यो अवस्था नेपाल प्रहरी संगठनमा इतिहास भइसकेको छ । अहिले प्रहरी प्रधान कार्यालयले सरुवा गरेका केही प्रहरी अधिकारी प्रहरी प्रधान कार्यालयको आदेशलाई समेत नमानी आफ्नै ढङगले चल्न थालेका छन् ।

संगठन प्रमुख जसले गरेपनि टुलुटलु हेरिरहने ‘बिचरा’ भएका छन् । र यो अभियोग होइन, भर्खर सरुवा भएका प्रहरी अधिकृतको अटेरीपन हेरे पुग्छ ।
केही दिन अघिमात्र सरुवा गरिएका प्रहरी उपरीक्षक ९एसपी० र प्रहरी नावय उपरीक्षक ९डीएसपी० न तोकिएको ठाँउमा खटिए, न चेन अफ कमाण्डले कुनै एक्सन नै लिन सक्यो ।
प्रहरी प्रधान कार्यालयले पठाएको ठाउँमा जान नमानी आफू बसेकै ठाउँमा बसिरहदा पनि महानिरीक्षक ९आईजीपी० सर्वेन्द्र खनाल चुपचाप बसेपछि संगठनभित्रै सरुवाको बिषयमा हल्लीखल्ली मच्चिएको छ ।

आदेश पालना नगर्ने यी एसपी र डीएसपी
प्रहरी प्रधान कार्यालयले ४ पुसमा एसपी दानबहादुर मल्ल र २६ मंसिरमा डिएसपी हेमबहादुर शाहीको सरुवा गर्यो ।

एसपी मल्ल चितवन जिल्ला प्रहरी प्रमुखको रुपमा कार्यरत छन् । उनलाई प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो ।

उनीसँगै प्रहरी प्रधान कार्यालयले २४ जना एसपी सरुवा गरेको थियो । सरुवा भएका अन्य एसपीहरुले आफू बसेको ठाँउ छोडिसकेका छन् ।
अधिकाशं एसपीहरु नयाँ ठाउँ हाजिरसमेत भइसकेका छन् । तर, मल्ल अझै चितवनमै छन् ।

उच्च राजनीतिक शक्तिकेन्द्रको दबाब आएपछि मल्लको सरूवा कार्यान्वयन गर्नबाट प्रहरी प्रधान कार्यालय पछि हटेको प्रहरी अधिकारीहरु स्वीकार गर्छन् ।

उनले चितवन नछोड्दा मल्लको ठाँउमा पठाएका अर्का एसपी गंगा पन्त चितवन जानबाट रोकिएका छन् । मल्ल लामो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०का पीएसओ बसेका एसपी हुन् । चितवन प्रचण्डको गृह जिल्ला समेत हो ।

उनी डिएसपी हुँदा महानरीय प्रहरी वृत्त दरबारमार्गको प्रमुखसमेत थिए । एसपीमा बढुवा भएपछि उनलाई प्रहरी प्रधान कार्यालयले आठ महिना अघि चितवन प्रहरी प्रमुखको रुपमा पठाएको थियो ।

प्रहरी प्रधान कार्यालयको सरुवा आदेश पालना नगर्ने डिएसपी इलाका प्रहरी कार्यालय कोहलपुरका हेमबहादुर शाही हुन् ।

उनलाई प्रहरी प्रधान कार्यालयले २६ मंसिरमै सरुवा गरेको थियो । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखाका डीएसपी कुलदिप चन्दलाई पठाएर शाहीलाई कर्णाली प्रदेश सर्खेत प्रहरी गणमा काज सरुवा गरेको थियो ।

तर, प्रहरी प्रधान कार्यालयको आदेश विपरित उनी कोहलपुरमै छन् । डीएसपी शाहीले ठाँउ नछोड्दा प्रहरी प्रधान कार्यालयले पठाएका डीएसपी कुलदिप चन्द प्रहरी प्रधान कार्यालयमै छन् ।

डिएसपी हेम शाहीमाथि गत दशैंमा नेपाली कांग्रेस निकट तरुणदलका कार्यकतासँग खसी मागेको अडियो सार्वजनिक भएको थियो ।

त्यसपछि २२ मंसिरमा सवारी दुर्घटनामा एकजना विद्यार्थी घाइते भएपछि भएको विद्यार्थी प्रर्दशनमा गोली चलाएपछि उनी विवादित बनेका थिए । उनीपनि राजनीतिक दबाबकै कारण प्रहरी प्रधान कार्यालयको आदेश नमानी सरुवा भएको ठाउँमा पुगेका छैनन् ।

सरुवा रोकिएको छैन्ः प्रहरी प्रवक्ता
प्रहरी प्रवक्क्ता प्रहरी नायव महानिरीक्षक ९डीआईजी० शैलेश थापा क्षेत्री एसपी र डिएपीको सरुवा नरोकिएको बताउँछन् ।

‘हामीले केही दिन अघि निकालेका सरुवा लिस्ट यथावत हो । कसैको हेरफेर भएको छैन । यसलाइ नै आधार मानेर उनीहरुले कार्यरत भएको ठाउँ छोड्नु पर्छ,’ डीआइजी थापाले भने ।

सरुवा भएको कति समय पछि ठाँउ छोड्नु पर्छ भन्ने नियम नभएपनि साधारणतया २४ घन्टाभित्र सरूवा कार्यान्वयन हुदाँ राम्रो हुने उनको भनाइ छ । तर, एसपी मल्लले ११ दिन र शाहीले २० दिन हुँदासम्म सरुवा कार्यान्वयन गरेका छैनन् ।

सरुवाबारे शिलापत्रसँग एसपी दानबहादुर मल्लले आफुले यस बिषयमा कुनै प्रतिकृया नदिने बताए ।

डीएसपी हेमबहादुर शाहीले भने आफू नै कोहलपुरको डीएसपी भएको बताए । सरुवा कार्यान्वयनको बारेमा आफूलाई कतैबाट केही जानकारी नआएको प्रतिकृया दिए ।

साभार  : शिलापत्र

  • No tags available
प्रकाशित मिति : २०७६ पुस १५ गते मंगलबार