कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीमाथि एक निर्माण व्यवसायी (ठेकेदार) ले अभद्र व्यवहार गरेका छन् । ठेकेदार मानबहादुर खड्काले शुक्रबार उपाध्यक्षको कार्यकक्षमा नै प्रवेश गरेर अभद्र व्यवहार प्रर्दशन गरेका थिए । सोही घटनालाई लिएर आइतबार बसेको राप्तीसोनारी गाउँपालिकाको कार्यपालिका बैठकले कानुनी उपचारको बाटो खोज्ने निर्णय गरेको छ ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक खत्रीको कार्यकक्षभित्रै भएको घटनालाई गम्भिरता पुर्वक लिदै कानुनी प्रक्रिया अगाडि बढाउने बैठकले निर्णय गरेको हो । कार्यपालिकाको बैठकले शुक्रबार कार्यालयमा नै भएको घटनाको दुःख व्यक्त गर्दै छानविन गरी दोषीमाथी कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र बहादुर माझीले जानकारी दिए । ‘उपाध्यक्ष ज्युमाथी भएको घटनाको सम्बन्धमा छानविन गरेर कानुनी कारबाही अगाडी बढाउने बैठकले निर्णय गरेको छ,’ उनले भने, ‘कानुनी प्रक्रिया अगाडी बढाउन गाउँपालिकाका कानुनी सल्लाहकारलाई जिम्मा दिने निर्णय भयो ।’
के हो त घटना ?
ठेकेदार खड्काले वडा नम्बर ५ को विनौनामा सडक कालोपत्रे गर्ने जिम्मा पाएका थिए । उनले गरेको कालोपत्रे सडकको गाउँपालिका उपाध्यक्ष खत्री सहितको टोलीले पटक पटक स्थलगत अनुगमन गरेको थियो । अनुगमनको क्रममा कालोपत्रे सडकको गुणस्तर राम्रो नभएको पाइएको उपाध्यक्ष खत्रीले बताइन् । कालोपत्रे सडक मापदण्ड अनुसार भएको नपाइएपछि उनले ठिक भएको भनेर हस्ताक्षर गर्न मानिनन् ।
सोही विषयलाई लिएर ठेकेदार खड्का गाउँपालिका उपाध्यक्ष खत्रीलाई हस्ताक्षर गर्न दबाव दिन शुक्रबार कार्यकक्षमै पुगेका थिए । उपाध्यक्षले हस्ताक्षर गर्न नमानेपछि उनले कार्यकक्षमा रहेका टेबुल ठोक्नुका साथै गमला फुटाइदिए । आफुले हस्ताक्षर गर्न नमानेकै कारण डरधम्की दिएर आफ्नो कार्यकक्षमा राखिएको टेबुल ठोक्ने र पल्टाउनुका साथै गमला फुटाईदिएको उपाध्यक्ष खत्री बताउँछिन् । ‘कालोपत्रे सडक अनुगमन गर्दा कामको गुणस्तर राम्रो नभएको पाइएको थियो’ उनले भनिन्, ‘स्थानीय स्तरबाट पनि कालोपत्रेको गुणस्तरप्रति प्रश्न उठेपछि हस्ताक्षर मैले नगरेकी हुँ ।’ हस्ताक्षर गर्न नमान्दा कार्यालयमै आएर ठेकेदार खड्काले गुण्डागर्दी शैलीमा घटना गराएको उपाध्यक्ष खत्रीले बताइन् ।
‘कालोपत्रे सडक अनुगमन गर्दा कामको गुणस्तर राम्रो देखिएन, स्थानीय जनताबाट पनि काम राम्रो छैन भनेर गुनासो आयो, त्यसपछि मैले आफु फस्ने गरी हस्ताक्षर गर्न सकिँन, अनि ठेकेदारले म कहाँ आएर धम्क्याउँदै अभद्र व्यवहार देखाए’ उनले भनिन् । उपाध्यक्ष खत्रीले आफुलाई धम्क्याएर हस्ताक्षर गर्न बाध्य पार्ने नियतले ठेकेदारले यो घटना गराएको दाबी गरिन् । ‘धम्क्याएर हस्ताक्षर गर्न बाध्य पार्ने नियत ठेकेदारको देखिएको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कानुनी कारबाहीमा जानु परेको हो’ उनले भनिन् । वडा नम्बर ५ का अध्यक्ष झगरु थारुले स्थानीय पिपललबोट देखि वडा कार्यालयसम्म कालोपत्रे गरिएको बताए ।
‘गाउँपालिकाले टेण्टर निकालेर ठेक्का लगाएको हो’ उनले भने, ‘गुणस्तरहीन सडक बनेको जस्तो लागेपछि मैले नै गाउँपालिकामा आवाज उठाएको हुँ ।’ वडा अध्यक्ष थारुका अनुसार ५१२ मिटर सडक कालोपत्रे गर्नको लागि ३२ लाख रुपैयाँमा नेपालगञ्जको निर्माण कम्पनीले ठेक्का पाएको थियो । तर काम भने स्थानीय मानबहादुर खड्का र गणेश ओलीले गरेको उनले बताए । गाउँपालिका उपाध्यक्ष खत्रीलाई अभद्र व्यवहार गरेको आरोप लागेका खड्कालाई फोन गर्दा उनले फोन उठाएनन् ।
प्रतिक्रिया दिनुहोस्