26 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

कोहलपुरमा युवाहरुले गरे जेब्रा क्रसिङको मर्मत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस ६, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा युवाहरुको एक समुहले मेटिएको जेब्रा क्रसिङको मर्मत गरेको छ । कोहलपुर नेपालगञ्ज सडक खण्डमा पर्ने हाइस्कुल अगाडि शनिबार युवाहरुको समुहले जेब्रा क्रसिङ मर्मत गरेको थियो । दाह्री ग्याङमा आबद्ध युवाहरुको अगुवाईमा सडकमा मेटिएका जेब्रा क्रसिङको मर्मत गरिएको हो । शनिबार युवाहरुको समुहले मर्मत गरेको जेब्रा क्रसिङमा नै दुई साता अघि एक स्कुले छात्रालाई ट्रकले ठक्कर दिदा गम्भिर घाइते भएकी छन् ।

सडकका जेब्रा क्रसिङ मेटिएर दुर्घटना बढ्दा समेत सडक विभाग र ट्राफिक प्रहरीले ध्यान नदिएपछि युवाहरु आफै मर्मतमा जुटेका हुन् । दाह्री ग्याङ कोहलपुरका संयोजक सन्दिप शाहीले कोहलपुर क्षेत्रका सडकका जेब्रा क्रसिङ मेटीएका हुनाले मर्मत गरिएको बताए । दाह्री पालेका युवाहरु सबै गुण्डाहरु नै हुन्छन् भन्ने दृष्टिकोणलाई परिवर्तण गर्ने उद्देश्यका साथ सामाजिक कामको थालनी गरिएको उनको भनाई थियो ।

युवाहरु आफै कलर, ब्रस लगायतका साम्रगीहरु लिएर जेब्रा क्रसिङ मर्मत गर्न सडकमा निस्कीएका थिए । दाह्री ग्याङ कोहलपुरका सदस्य निश्चल शाहले शनिबार १० हजार रुपैयाँको लागतमा साम्रगीहरु खरिद गरेर मेटीएका जेब्रा क्रसिङ मर्मत गरिएको जानकारी दिए । ‘कोहलपुरमा मात्र नभएर नेपालमा पछिल्लो समय दुर्घटना बढिरहेको छ’ उनले भने, ‘सडक दुर्घटनामा नेपालमा दैनिक ८ जना व्यक्ति बराबरको मृत्यु हुने गरेको छ ।’

सडक विभाग, यातायात विभाग, ट्राफिकले पनि निति नियम बनाएपनी कार्यान्वयनको पक्षलाई ध्यान नदिएको युवाहरुले बताएका थिए । आगामी दिनहरुमा कोहलपुरमा रहेका अन्य जेब्रा क्रसिङहरुको मर्मत गरिने दाह्री ग्याङ कोहलपुरले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, पुस ६, २०७६     11:18:30 AM  |