६ बुँदे सहमति पश्चात आन्दोलन टुंगियो



कोहलपुर ।

बाँकेको कोहलपुरमा आइतबारदेखि जारी आन्दोलन ६ बुँदे सहमतिसँगै टुंगिएको छ । सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सरकार समक्ष विभिन्न ६ बुँदे माग गर्ने सहमति गर्दै आन्दोलन टुंग्याउने निर्णय गरेको थियो । कोहलपुरको पिपरीमा रहेको कृषि विकास बैंकको क्षेत्रीय तालिम केन्द्रमा बिहान १२ बजेदेखि बसेको वार्ता बेलुका ५ बजे ६ बुँदे सहमति गर्दै टुंगिएको हो । ‘विभिन्न ६ बुँदे सहमति गरिएको छ’ बाँकेका प्रजिअ खड्काले भने, ‘अब कार्यन्वयनको पाटोमा ध्यान सबैले दिनुपर्छ ।’

आइतबार बिहान त्रिभुवन मावि अगाडि ना २ ख ९४५९ नम्बरको ट्रकले सोही विद्यालयमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई किचेर गम्भिर घाइते बताएको थियो । सोही घटनापश्चात कोहलपुरमा आइतबारबाट आन्दोलनले उग्र रुप लिएको हो । विभिन्न माग राख्दै विद्यार्थी तथा अभिभावकहरु आइतबार र सोमबार आन्दोलनमा उत्रिएका थिए । आन्दोलनको क्रममा घाइते भएका विद्यार्थी तथा अन्यहरुको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने सहमति भएको छ । सहमति अनुसार दुर्घटनामा परेर दुवै खुट्टा गुमाएकी छात्रा चन्दको शिक्षा दिक्षासहित जीवनयापनको लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न गृह मन्त्रालयमा अनुरोध गरिने उल्लेख छ ।

यस्तै, घाइते विद्यार्थी, सर्वसाधारण, सुरक्षाकर्मीलाई सुस्वाथ्यको कामना गर्दै सद्भाव वातावरण सिर्जना गर्न प्रहरी प्रशासन सबै राजनीतिक दल, नागरिक समाज, शिक्षक विद्यार्थीहरु लगायत सबै सरोकारवाला पक्षले पहल गर्नका सद्भाव ¥यालीको आयोजना गर्ने, घटना उग्र हुन नदिन प्रहरी प्रशासन र विद्यार्थीबीच कहाँ, कसले, कुन कुन ठाउँमा कमजोरी भयो छानबिन गर्न न्यायिक समिति गठन गर्नका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने, घटनामा आगजनी, तोडफोड भइ पुगेको क्षतिपूर्ति उपलब्ध गराउन सरकार समक्ष अनुरोध गर्ने, घाइतेको उपचार, क्षतिपूर्ति तथा राहतको लागि जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, शैक्षिक संस्था लगायत सरोकारवाला सबैले आ–आफ्नो तह र तप्काबाट आवश्यक पहल गर्ने निर्णय भएको थियो ।

बैठकमा सहभागी नेकपा बाँकेका पार्टी सचिव अशोक कोइरालाले सामान्य दुर्घटनाको विषयलाई लिएर अतिरन्जित बनाउन खोजिएको दाबी गरे । सर्वदलीय बैठकले गरेका निर्णयहरु सबैले पुर्ण रुपमा पालना गर्नुपर्ने बताउँदै उनले विद्यार्थीले गरेको आन्दोलनमा गोली चल्नु राम्रो पक्ष नभएको भन्दै दोषि माथि कारबाही हुनुपर्ने बताए । ‘दुर्घटना आफैमा दुःखत हो’ सचिव कोईरालाले भने, ‘सामान्य मानवीय क्षती भयो, घटनालाई अतिरन्जित बनाउन खोज्नु अझ दुभाग्र्य हुन पुग्यो ।’

उनले सबै पक्षलाई संयमित हुन समेत अनुरोध गरे । सर्वदलीय बैठकबाट पिडितलाई क्षतिपुर्तिका लागि निर्णय गरेर सरकारसँग माग गरिएकोले अब आन्दोलनको आवश्यकता उनको तर्फ रहेको थियो । सर्वपक्षिय बैठकमा राजनीतिक दलका प्रतिनिधि, सम्बन्धित विद्यालयका शिक्षकहरु, प्रहरी प्रशासनका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

के थियो घटना ?

कोहलपुर नेपालगञ्ज सडक खण्डमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको थियो । कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो । दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ट्रकमा आगो लगाइदिएका थिए । प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भए । आक्रोशित विद्यार्थीहरुले सडकमा रहेका गाडीमासमेत ढुङ्गा प्रहार गरे । कोहलपुरबाट नेपालगञ्ज जाँदै गरेको मालवाहक ट्रकले विद्यालयमा अध्ययनरत विद्यार्थी चन्दलाई ठक्कर दिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको ट्रक ना २ ख ९४५९ नम्बरको ट्रकको ठक्करबाट प्रकृतिका दुबै खुट्टा गुमेको र हाल काठमाडौंमा उपचार भइरहेको छ । आफ्ना बुबासँग स्कुटीमा विद्यालय आएकी प्रकृतिलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो । विद्यालय प्राङ्गण नजिक भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थी तथा स्थानीयवासीले ट्रक नियन्त्रणमा लिएर तोडफोड तथा आगजनी गरेका थिए । लगत्तै आक्रोशित भएको भीडलाई मत्थर पार्न आएको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीमाथि समेत विद्यार्थी ढुङ्गा, इँट्टा प्रहार गर्दै आन्दोलित बनेका थिए । ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि आक्रोशित बनेका विद्यार्थीले अन्य सवारी साधनमाथि समेत प्रहार गरेका थिए । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको हो । आक्रोशित विद्यार्थीले नेपालगञ्ज–कोहलपुर रुटमा चलेका दर्जन गाडीमा तोडफोड गरे । यो क्रम सोमबार साँझसम्म समेत जारी थियो ।

२ लाख सहयोग

कोहलपुरमा नगरपालिकाले आन्दोलनका घाईतेलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आईतबार भएको सडक दुर्घटनाको विषयलाई लिएर भएको आन्दोलनका घाईतेलाई नगरपालिकाले तत्काल २ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सोमबार बसेको नगरपालिकाको बैठकले विभिन्न चार बुँदे निर्णय गर्दै घाईतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेको छ । नगर कार्यवाहक प्रमुख सञ्जुकुमारी चौधरीको अध्यक्षतामा बसेको बैठकले बिरामीहरुको थप उपचारका लागि आवश्यक पर्ने रकम गृह मन्त्रालयसँग माग गर्ने निर्णय गरेको थियो । बैठक पछि नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गरेर शान्ति क्षेत्र विद्यालय भित्र गएर विद्यार्थी माथि कारबाही गर्ने निन्दनीय भएकोले त्यस्तो व्यवहार प्रति खेद प्रकट समेत गरेको छ । बैठकले कार्यावाहक प्रमुख चौधरीको संयोजकत्वमा पाँच सदस्सीय सहजीकरण समिति समेत गठन गर्ने निर्णय गरेको थियो । समितिको सदस्यहरुमा वडा नम्बर १० का अध्यक्ष निम बहादुर चलाउने, कार्यपालिका सदस्य डिल बहादुर परियार, नारायणी वली तथा वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापा सदस्य रहेका छन् । सहजीकरण समितिले कोहलपुर क्षेत्रमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्नको लागि राजनितिक दल, मानव अधिकार, नागरिक समाज लगायतका पक्षलाई अनुरोध गर्ने सहज वातावरण कायम गर्नको लागि समेत पहल गर्ने भएको छ ।

व्यवसायी कुटिनु दुःखत

कोहलपुर कपडा व्यवसायी संघ कोहलपुर बाँकेले आईतबार भएको आन्दोलनमा व्यवसायी कुटिनु दुःखत भएको भन्दै ध्यानाकर्षण भएको जनाएकोे छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघले सडक दुर्घटनाको विषयलाई लिएर व्यवसायीलाई समेत कुटपिट भएको प्रति खेद प्रकट गरिएको हो । संघका अध्यक्ष मेघराज अधिकारी र सचिव ईन्द्र प्रसाद पौडेलद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा घटनाका दोषि माथि कडा भन्दा कडा कारबाहीको माग गरिएको छ । ‘आन्दोलनको क्रममा बालबालिका, व्यवसायी उद्योगी तथा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीलाई समेत कुटपिट भएको घटना प्रति संघको ध्याकर्षण भएको जानकारी गराउँदछांै’ विज्ञप्तिमा भनिएको छ । यसैबिच कोहलपुर उद्योग वाणिज्य संघले समेत एक प्रेस विज्ञप्ती जारी गरेर कोहलपुरमा भएको घटना दुःखत भएको बताएको छ । आईतबार भएको आन्दोलनमा संघका अध्यक्ष, कोषाध्यक्ष र पुर्व सल्लाहकाहरुलाई प्रहरीले कुटपिट गरेको भन्दै खेद प्रकट गरिएको छ । संघका अध्यक्ष चक्र बहादुर अधिकारीद्धारा हस्ताक्षरीत विज्ञप्ती मार्फत घटनाको यर्थात् छानविन गरी दोषि माथि कारबाहीको समेत माग गरिएको छ ।

प्रकाशित मिति : २०७६ मंसिर २४ गते मंगलबार