रावन बिश्वकर्मा, बाँसगढी ।
बर्दियाको बारबर्दिया नगरपालिका शैक्षिक गुणस्तर सुधार अभियानमा सक्रिय भएको छ । अहिले नगरपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएर शैक्षिक गुणस्तर सुधारको लागि अभियान सञ्चालन गरिरहेको छ । विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति, शिक्षक र अविभावकहरु सँग छलफल तथा अन्तरक्रियालाई तिव्रता बनाइएको नगर प्रवक्ता दुर्गा बहादुर विश्वकर्माले जानकारी दिए ।
नगर भित्र रहेका ४२ वटा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि अभियान थालिएको हो । ‘नगरलाई अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा प्रदायक नगर घोषणा गरिसकेका छौं’ उनले भने, ‘अन्य कामहरु समेत अहिले धमाधम अगाडि बढिरहेका छन् ।’ नगरपालिकाले शिक्षाको विकास र सुधारका लागि विद्यालयको भौतिक संरचना सुधार, विद्यार्थीको अनुपातमा नगर शिक्षकको व्यवस्थापन गरेको छ । त्यसैले विद्यालयले कुनै पनि शिर्षकमा शुल्क लिन नपाउने गरी पुर्ण निःशुल्क शिक्षा नगरपालिकाले लागु गरेको हो ।
सामुदायिक विद्यालयको १० प्रतिशतले शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षकहरुले नगरपालिकासँग सम्झौता गरेका छन् । बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारुले नगरपालिकाले विनियोजन गर्ने जम्मा बजेटको २३ प्रतिशत शिक्षा क्षेत्रमा नै लगानी गरिएको जानकारी दिए । ‘शिक्षा क्षेत्रको विकासले मात्रै नगरको विकास र समृद्धिको परिकल्पना गरिएकाले पनि शिक्षालाई पहिलो प्राथमिकतामा पारिएको हो’ उनले भने, ‘शैक्षिक गुणस्तर सुधारका लागि १० प्रतिशत शैक्षिक गुणस्तर बृद्धि गर्ने गरी शिक्षकहरुसँग ३१ बुदे लिखित सम्झौता गरेका छौं ।’
नगरपालिकामा विद्यालय बाहिर रहेका २ सय ८४ जना बालबालिकालाई विद्यालयको पहुँचमा ल्याईएको नगर प्रमुख थारुले बताए । अभिभावक नभएका बालबालिकाहरुलाई बाल संरक्षण केन्द्र स्थापना गरी नगरपालिकाले संरक्षण गरिरहेको छ । उनले नगरपालिकामा अहिले विद्यालय उमेर समुहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको दाबी गरे । ‘शिक्षा क्षेत्रको सुधारको लागि काम गर्ने जिल्लाकै पहिलो नगरपालिका हाम्रो हो’ प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले भने, ‘अहिले हामीले शिक्षालाई नै पहिलो स्थानमा राखेर काम गरिरहेका छौं ।’
विद्यालयमा सुचना प्रविधि, भौतिक पुुर्वाधार विकास, विद्यार्थी अनुपातमा १ सय १७ जना नगर शिक्षकको व्यवस्थापन, शिक्षकको क्षमता विकास सम्बन्धी तालिम, विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागि गराउने, अभिभावक शिक्षा लगायतका कार्यक्रम भइरहेका छन् । बारबर्दिया नगरपालिका २ बर्ष देखि शिक्षा क्षेत्रको विकासमा निरन्तर लागि परेको छ । ‘नगरमा बाल विकास केन्द्र देखि आईसिटीको प्रयोग गर्न र रमाईलो वातावरणमा बालबालिका विद्यालयमा रहन तथा बस्नका लागि सहयोग एलईडी, टेलिभिजन जस्ता शैक्षिक सामाग्रीहरु बाल विकास केन्द्रमा राखेका छौं’ प्रमुख प्रशासकिय अधिकृत बुढाले भने ।
नगर क्षेत्र भित्र रहेका अति कमजोर परिवारका झण्डै १ सय ७० बालबालिकालाई लेखन पढ्न र विद्यालयमा नियमितताका लागि शैक्षिक सामाग्री वितरण गरिएको छ । त्यसैगरी नगरपालिकाले २१ जना अभिभावक विहिन बालबालिकालाई सिम्हा मावि बेलभारको बाल संरक्षण केन्द्र मार्फत अध्ययन गराइरहेको छ । बारबर्दियामा हाल सामुदायिक र संस्थागत विद्यालयमा गरी २० हजार बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्