नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जस्थित कारागारमा रहेका कैदीबन्दीहरुले आन्दोलन फिर्ता लिएका छन् । कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाहरुले कारागारको मुल ढोकामा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका थिए । उनीहरुले लगाइएको ताला विवाद साम्य भएपछि ३४ घण्टापछि शुक्रबार साँझ खोलिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जानकारी दिए ।
कारागारका जेलर भरतराज पाण्डे, चौकिदार भरत फडेरा र नाईके मानबहादुर शाहीले ज्यादती गरेको भन्दै कैन्दीबन्दीहरुले बिहीबार बिहान ६ बजेदेखि चौकीदार फडेरा र नाईके शाहीलाई बाहिर राखेर भित्रबाट तालाबन्दी गरेका थिए । जेलर पाण्डेको निर्देशनमा चौकिदार फडेराले कारागारका कैदीबन्दी थुनुवाबाट अनाधिकृत रकम असुल्ने गरेको, फोन सेवा सञ्चालन गरे बापत प्रति फोन प्रतिदिन १ हजार दिनुपर्ने, मेसमा खाना खाए बापत प्रति १५ दिनमा २ सय दिनुपर्ने लगायतका दुख दिएपछि आन्दोलनमा उत्रिनुपरेको कैदी विकास केसीले बताए । विभिन्न नाममा आर्थिक बोझ थप्ने र नमान्नेलाई कारागार भित्रै नजरबन्द वा पाईपले कुट्ने गरेको उनले दाबी गरे ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओली, सशस्त्र प्रहरी ३० नं. गणका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, विभिन्न मानवअधिकारवादी संस्थाका प्रतिनिधी, पत्रकार लगायतको रोहवरमा वार्ता भएको थियो । बार्तामा आन्दोलनकारीको तर्फबाट हरी खत्री, भगत सिंह, विकास केसी र जनक बुढाले आन्दोलन गर्नुको कारण सहित १० बुँदे माग समेत पेश गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी खड्काले आन्दोलनकारीको माग अनुसार जेलर पाण्डेको सरुवा गरिएको र फडेरालाई चौकीदारबाट हटाईएको जानकारी दिएपछि कैदीबन्दी र थुनुवाले लगाएको ताला खोलेका थिए । कैदीबन्दीले भित्रबाट तालाबन्दी गरेपछि कारागार भित्र खानेकुराको अभाव हुँदै गएको थियो । ५० महिलासहित २५० जनाको क्षमता रहेको नेपालगञ्ज कारागारमा अहिले ६१४ थुनुवा, १०३ पुरुष कैदी, ५३ महिला र २ नाबालक गरी कारागारमा ७७२ जना कैदी बन्दी र थुनुवा रहेका छन् । कैदीबन्दी तथा थुनुवाहरुले आन्दोलन गरेपछि बाँके प्रहरीले सुरक्षा सर्तकता समेत बढाएको थियो ।








प्रतिक्रिया दिनुहोस्