कोहलपुर ।
इलाका प्रहरी कार्यालय कोहलपुर तिहारलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारेको छ । दशैं अगाडि नै सार्वजनिक गरेको चाडपर्व लक्षित सुरक्षा योजनालाई कोहलपुर प्रहरीले तिहारमा अझै कडा बनाएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले तिहारलाई लक्षित गरेर सुरक्षामा कडाई गरिएको जानकारी दिए । ‘तिहार पर्वलाई मध्यनजर गरेर प्रहरी परिचालन भइसकेको छ’ उनले भने, ‘अन्य समयमा पनी सधै कोहलपुर प्रहरी चनाखो छ । तर तिहारलाई मध्यनगर गरेर प्रहरीको संख्ङ्या बढाएका छौं ।’ कोहलपुरमा रहेको प्रहरीले अपुग भएपछि माथिल्लो तहबाट थप प्रहरी माग गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।
‘हामीले नियमित भन्दाबढी कोहलपुर क्षेत्रमा तिहारको समयमा कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी परिचालन गरेका छौं’ उनले भने, ‘तिहार पर्व ढुक्कसाथ मनाउने गरी वातावरण तयार पारिएको छ ।’देउसी दैलोको नाममा हुनसक्ने विभिन्न खाले विकृति रोक्नको लागि समेत रणनिती बनाइएको उनले जानकारी दिए ।
‘विगतका वर्षहरुमा देउसी दैलो खेल्ने क्रममा भएका घटनाबाट पाठ सिकेर सोही अनुसार रणनिती बनाइसकेका छौं’ प्रहरी नायब उपरीक्षक शाहीले भने, ‘तोकिएको समयमा सभ्य तरिकाले देउसी भैलो खेल्न आग्रह गर्दछौं ।’ देउसी भैलोको नाममा गुण्डागर्दी नगर्न उनले सबैलाई आग्रह गरे ।
‘देउसी भैलो खेल्ने ठाउँमा गएर गुण्डागर्दी गर्नेलाई छोड्नेछैनौं’ उनले भने, ‘अरुले देउसी भैलो खेलिरहेको ठाउँमा गएर विभिन्न बहानामा अवरोध गर्ने कसैले प्रयास नगरेकै राम्रो
हुन्छ ।’ तिहारको अवसरमा नियमित भन्दा बढी प्रहरी परिचालन, मुख्य सडकदेखि भित्रि सडकहरुमा समेत २४ सै घण्टा मोबाइल गस्ती, ठूलो मात्रामा सादा पोशाकमा प्रहरी परिचालन गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्