तिलक गाउँले, नेपालगन्ज
बाँकेको खजुरा गाउँपालिकाले पहिलो पटक आयोजना गर्न लागेको बृहत खजुरा सम्मेलन कात्तिक ६ गतेबाट शुरु हुदैछ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतीले ६ र ७ गते खजुराको समृद्धिको आधार, अवसर र सम्भाव्यता पहिल्याउँदै नीतिगत प्राथमिकता तय गर्न सम्मेलनको आयोजना गर्न लागिएको बताए ।
खजुरामा पहिलो पटक हुन लागेको सम्मेलनमा खजुरा गाउँपालिकाका जनप्रतिनिधि, खजुरा क्षेत्रबाट संघीय तथा प्रदेशमा प्रतिनिधित्व गर्ने सदस्य, विषय विज्ञ, प्राज्ञ तथा विभिन्न पेशामा लागेका पेशाकर्मीहरुको समेत सहभागितामा सम्मेलन हुने र विकासमा सबै खजुरेलीको साझेदार बनाउने प्रक्रियालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिइएको खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले बताए ।
नेपालमा मात्रै नभएर बिदेशका बिभिन्न स्थानमा लगानी गरेर जमेका खजुरेलीहरुले सो सम्मेलनमा जनाउने उनले जानकारी दिए । शिक्षा विज्ञ भक्तबहादुर केसीको संयोजकत्वमा बनेको बृहृत खजुरा विकास सम्मेलन व्यवस्थापन समितिले सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न तयारीलाई तिव्रता दिएको छ । सम्मेलनको उद्घघाटन प्रदेश ५ का मूख्यमन्त्री शंकर पोख्रेलले गर्ने कार्यक्रम रहेको छ ।
‘दिगो र समतामुलक विकासको आयम र प्रवद्र्धनका अभ्यास यसको प्रभावबारे सिकाई आदानप्रदान गर्न र खजुरा क्षेत्रका विषय विज्ञ, प्राज्ञिक सामाजिक तथा आर्थिक विकासमा अभ्यासरत व्यक्तित्वहरुबाट पृष्ठपोषण ग्रहण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेका हौं,’ सम्मेलन व्यवस्थापन समितिका सचिव किरण ढकालले भने, ‘खजुरा समृद्धिका आधार, अवसर र सम्भाव्यतालाई पहिल्याउँदै खजुरा गाउँपालिकाको नीतिगत प्राथमिकता तय गर्न सहज वातावरण बनाउन, सहभागितामुलक, लोकतान्त्रिक तथा समावेशी आर्थिक विकास गर्न खजुरा गाउँपालिकाको योजना निर्माणका लागि मार्गरेखा तय गर्न सम्मेलन सार्थक हुने विश्वास लिएका छौं ।’
सम्मेलन तयारी समितिका सदस्य पूर्णचन्द्र उपाध्यायका अनुसार, सम्मेलनमा खजुराको आर्थिक विकास, विकासमा जनसहभागिता, योजनावद्ध खजुरा शहर, लैंगिक र महिला सशक्तिकरणमा खजुराका आगामी कार्यभार, खजुरामा कृषिः समृद्ध खजुराको आधार, गुणस्तरीय र प्राविधिक शिक्षाको मार्गरेखा, गुणस्तरीय स्वास्थ्य सेवा र खजुरा, समावेशी खजुरा, खेलकुद र सिर्जनशील खजुरा विषयमा कार्यपत्र प्रस्तुत त्यसमाथि टिप्पणी हुनेछ सो सम्मेलनमा खजुरामा स्थाई बसोबास रही कामको शिलशिलामा देश बाहिर रहेका २५० बढिको पनि सहभागिता रहने छ ।









प्रतिक्रिया दिनुहोस्