रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया ।
बाँसगढी नगरपालिका बेलवाकी कलावति रानालाई विगतका वर्षहरुमा यति बेला धान काट्ने र ओसार्नै चटारो हुन्थ्यो । स–परिवार उनीहरु खेतमा लगाईएका नयाँ धान ओसार्नै व्यवस्त हुन्थे । तर यो वर्ष भने ठिक उल्टो भएको छ । नयाँ बाली भित्रयाउने यो समयमा रानाको अनुहारमा भने कालो बादलले धपक्कै ढाकिएको छ । कारण, यो वर्ष उनको खेतमा लगाएको गरिमा जातको धान नै पसाएन ।
गाउँकै एक एग्रोभेट बाट गरिमा जातको धानको बिउ लिएकी उनी अहिले रुनु र हाँस्नुको अवस्थामा छट्पटाईरहेकी छिन् । ‘खेतमा नपसाएको धान देख्दा रुन मन लाग्छ’ उनले भनिन्,‘ वर्षभरीको लगानी, बालुवामा पानी भने झैँ भयो ।’ उनी मात्रै होईन वेलवा कै अर्का किसान कर्ण बहादुर वि.क.को पनि कथा, व्यथा उस्तै छ ।
धान ओर्सानै यो समयमा उनी धानमा औषधि छर्किनै व्यस्त छन् । कृषि पेशा मै निर्भर वि.क.को प्रमुख रोजिरोटीको माध्यम त्यही धान खेती हो, भन्दैनन्, धान काट्ने सयममा धान नपसाउदा मलाई चिन्तित बनाएको छ । खेतमा लगाएको धान खेतीले आफ्नो परिवारको खर्च ६ महिना चल्ने उनको भनाई छ । त्यसै धान पनि नपसाएपछि के खाने उनको चिन्ताको विषय बनेको छ । राना र वि.क. त प्रतिनिधि पात्र मात्र हुन् धान काट्ने बेला भएपनि धान नपसाउँदा बाँके र बर्दियाका किसान निकै चिन्तित भएका छन् । दुवै जिल्लामा लगाईएको गरिमा जातको हाईब्रेड धान नपसाउँदा यस्तो समस्या देखिएको हो ।
धान पाकेर भित्र्याउने बेला उनीहरुले अहिले धानमा औषधि छर्नु परेको छ । उता किसानहरुले गरिमा धानको बिउ बिक्रि गर्ने एग्रोभेट सेन्टर वा धानको बिउ उत्पादन गर्ने कम्पनीले क्षतिपुर्ति दिनु पर्ने माग गरेका छन् । बर्ष भरी धान भित्र्याउने बेलामा पनि धानमा बाला नलागेपछि बाँसगढी नगरपालिकाको कृषि शाखाले किसानहरुका खेतमा अनुगमन गरेको छ । किसानहरुले धान ओर्सार्ने समय समेत धान नपसाएको गुनासो गरेपछि कृषि शाखाले अनुगमन गरेको हो । कृषि शाखा बाँसगढीका प्रमुख लाल बहादुर खड्का र कृषि प्राबिधिक राजु चौधरी सहितको टोलीले किसानको धान अवलोकन गरेको छ ।
गरिमा हाईब्रेड जातको धान लगाएका बेलवाका किसानहरुको धान टोलीले अवलोकन गरेको थियो । अवलोकनको क्रममा धानमा राम्रो सँग सिचाई पु¥याउन सके केही दिनमा धान पसाउने कृषि शाखा प्रमुख लाल बहादुर खड्काले बताए । उनले किसानलाई धानमा सिचाई गर्न र अबका दिनमा धानको बिउ ल्याउदा ख्याल गर्न सुझाव समेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्