15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

केटीको बिषयमा विवाद हुँदा खुकुरी हानाहान, पाँच युवा कोहलपुर प्रहरीको फन्दामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६  

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकामा लागेको एक मेलामा केटीको बिषयमा विवाद हुँदा युवाहरुको दुई समुहबिच खुकुरी हानाहान भएको छ । गाउँपालिकाको वडा नम्बर २, भौंरीकुनास्थित शिव मन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राती खुकुरी हानाहान भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । खुकुरी प्रहारबाट स्थानीय लोकेन्द्र शाही गम्भिर घाइते भएका छन् ।

उनको कोहलपुरमा उपचार सम्भव नभएपछि भारतको लखनऊमा उपचार भइरहेको छ । इप्रका कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले मेलामा केटी जिस्क्याएको निहुँमा भएको विवादले उग्ररुप लिएपछि खुकुरी हानाहान भएको बताए । ‘मकैबारी गाउँका दुर्बु रोकायले केटी जिस्क्याएपछि विवाद भएको पाइयो’ उनले भने, ‘विवादले उग्ररुप लिएपछि शाहीमाथि मकैबारीका युवाहरुले खुकुरी प्रहार गरेको पाइयो ।’ मेलामा नै आएकी एक युवतीलाई दुर्बुले जिस्क्याएपछि शाहीसँग विवाद भएको थियो । प्रहरी नायब उपरीक्षक शाहीका अनुसार सोही क्रममा दुर्बुका साथी वीरु भन्ने याम बहादुर रानाले शाहीमाथि खुकुरी प्रहार गरेका थिए ।

‘मेलामा जाँदा वीरुले खुकुरी बोकेर गएको अनुसन्धानबाट खुलेको छ’ उनले भने, ‘पहिलेबाट नै दुई गाउँका युवाहरुबिच विवाद हुने गरेको पाइएको छ ।’ आफ्नै गाउँका दुर्बुलाई भौंरीकुनाका युवाहरुले केटी जिस्क्याएको भन्दै हातपात गरेपछि मेलामा पुगेका मकैबारीका युवाहरु खनिएका थिए । कोहलपुर प्रहरीका अनुसार पछि शाहीको समुहले त्यही खुकुरी निकालेर वीरुमाथि प्रहार गरेको थियो । सोही क्रममा उनीलाई सामान्य चोट समेत लागेको थियो । ‘शाहीमाथि खुकुरी प्रहार गर्ने वीरु समेत सामान्य घाइते भएका थिए’ कोहलपुरका प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिदै भने, ‘उपचारपछि हामीले नियन्त्रणमा लिइसकेका छौं ।’

उनका अनुसार घटनामा संग्लन रहेको आरोपमा मकैबारीका अन्य ४ जना युवाहरुलाई समेत नियन्त्रणमा लिइएको छ । घटना लगत्तै फरार भएका उनीहरुलाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले केही घण्टामा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मकैबारीका बिष्णु रोकाय, सुरेश राना क्षेत्री, पुष्कर राना क्षेत्री र डिल बहादुर राना क्षेत्री रहेका छन् । सोही समुहका वीरुलाई भने प्रहरीले घटना लगत्तै नियन्त्रणमा लिएको थियो । घटनामा संग्लन रहेका तेजु रोकाय, विश्व रोकाय र दुर्बु रोकाय फरार रहेको भन्दै प्रहरी नायब उपरीक्षक शाहीले उनीहरुको खोजी तिव्र पारिएको जानकारी दिए । घटनाबारे सुक्ष्म रुपमा अनुसन्धान थालिएको कोहलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६     8:29:45 AM  |