नेपालगञ्जमा बसपार्क संचालनमा



नेपालगञ्ज।

बाँकेको नेपालगञ्जमा अत्याधुनिक बसपार्क शनिबारदेखि संचालनमा आएको छ । नगर विकास कोषको ऋण सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको बसपार्कको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे ।

पन्ध्र महीनाभित्र निर्माण सक्ने गरी नेपालगञ्ज उपमहानगरपालिका र युनाइटेड बिल्डर्स एण्ड इञ्जिनीयर्सबीच सन् २०१६ मार्चमा सम्झौता भएको थियो ।

विभिन्न कारणले सम्झौता अनुसारको समयमा काम सम्पन्न हुन सकेको थिएन ।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणाले निर्माणका विभिन्न साम्रगी स्थानीय बजारमा नपाइएकाले केही ढिलो हुन पुगेको बताए ।

ठेकेदार र स्टेमिटमा भएको कमजोरीले गर्दा बसपार्क निर्माणमा ढिलाई भएको उनले दाबी गरे ।

नगर प्रमुख राणाले नेपालगञ्जको विकासका लागि महानगरपालिका आवश्यक रहेको भन्दै पार्टीगत राजनीतिबाट माथि उठ्नुपर्नेमा जोड
दिए ।

बसपार्क एक महिनापछि निजी क्षेत्रलाई संचालनको जिम्मा दिने भन्दै उनले सरसफाईमा विशेष ध्यान दिइने बताए । नगर उपप्रमुख उमा थापा मगरले ४ विघा १० कठ्ठा जग्गामा १६ करोड १६ लाखमा आधुनिक बसपार्क निर्माण सम्पन्न भएको जानकारी दिइन् ।

उनका अनुसार  बसपार्कमा १२३ वटा ठुला र ५६ वटा साना बस राख्न सकिने क्षमता रहेको छ । उद्घाटन कार्यक्रममा सांसद विभिन्न राजनितिक दलका प्रमुख जिल्ला स्थित स्थानीय तहका प्रमुख, यातायात व्यवसायी, उद्योगी व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज १८ गते शनिबार