दोस्रो लक्ष्मणपुर जिल्ला स्तरिय फुटबल प्रतियोगिता, आयोजक टिमको बिजयी शुरुवात



रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया, ९ असोज

दोस्रो लक्ष्मणपुर जिल्ला स्तरिय फुटबल प्रतियोगिता बिहिबार देखि सुरु भएको छ । वेलटारी युवा क्लव लक्ष्मणपुरको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारु र बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले सयुक्त उद्घाटन गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारुले खेलकुदले युवाहरुलाई सहि दिशा निर्देशन गर्ने बताएका छन् । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले युवाहरु दिन प्रतिदिन कुलत तर्फ फसिरहेको अबस्थामा खेलकुद क्षेत्रको माध्यमबाट उनीहरुलाई सहि मार्गमा ल्याउन सकिने कुरामा जोड दिए ।

उनले खेलकुद क्षेत्रको विकासको लागि जिल्ला समन्वय समिति बर्दिया सधै सकारात्मक रहेको बताए । त्यस्तै मुख्य प्रायोजक ईन्द्रजित साईकल स्टोर बाँसगढीका सञ्चालक ईन्द्रजित बुढाक्षेत्रीले खेलाडीले पुरुस्कारलाई मात्रै नहेरी उत्कृष्ट खेल प्रर्दशन गर्न र आयोजकलाई खेल मर्यादिन र अनुशासित रुपमा सञ्चालन गर्न आग्रह गरेका थिए । “कला, संस्कृति, पर्यटन तथा खेलकुदका लागि पहिचान, विकास र समृद्धिमा बेलटारी युवाको अभियान” भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको मुख्य प्रायोजक ईन्द्रजित साईकल स्टोर बाँसगढीले गरेको छ, भने प्रायोजक अपिक मिनिरल वाटर ईन्डष्ट्रीज प्रा.लि बाँसगढी र धार्मिक एण्ड स्वस्तीक सुनचाँदी पसल बाँसगढीले गरेको छ ।

प्रतियोगितामा बर्दिया जिल्ला भरीबाट २७ वटा टिम दर्ता भएका छन् । प्रतियोगितामा प्रथम टिमलाईमा ३३ हजार ३ सय ३३, द्धितियलाई १६ हजार र तृतिय र सान्त्वना टिमलाई ५।५ हजार पुरुस्कारको व्यवस्था गरिएको आर्थिक विकास समिति संयोजक बाल कुमारी थारुले जानकारी दिईन् । बेलटारी युवा क्लवका अध्यक्ष भुपाल खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारु,बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी, ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्य, अखिल नेपाल नेपाल फुटबल सँघ बर्दियाका अध्यक्ष रजितराज भण्डारी, जिल्ला खेलकुद विकास समितिका महेश चन्द, राजनितिक दलका प्रतिनिधी, वडा अध्यक्ष, जनप्रतिनिधी, मुख्य प्रायोजक ईन्द्रजित बुढाक्षेत्री, प्रायोजक संस्थाका विपिन पौडेल, नारायण गोपाल सुनार, बिभिन्न समुह तथा सञ्जालका प्रतिनिधी, समाजसेवी, खेलप्रेमी लगायतको सहभागिता रहेको थियो ।

स्वागत मन्तव्य वेलटारी सामुदायिक वनका अध्यक्ष फग्गुवा थारुले गरेका थिए भने कार्यक्रम सञ्चालन नगर स्तरिय युवा सञ्जालका संयोजक एकनारायण अधिकारीले गरेका थिए । बिहिबार पहिलो दिन भएको पहिलो खेलमा आयोजक टिम बिजय भएको छ । दक्षिणभकारीलाई १ का बिरुद्ध ४ गोलले पराजित गर्दै आयोजक बेलटारी युवा क्लव लक्ष्मणपुरको ए टिम बिजय भएको हो । त्यस्तै आज शुक्रबार पहिलो खेल १२ बजे वेलटारी युवा क्लव बि टिम र चमकपुर बिच हुने छ । भने दोस्रो खेल २ बजे देखि बुटाह र मदाह बिच तेस्रो खेल ४ बजे देखि बठुवा र बाँसगढी ११ टिम बिच खेल हुने सचिवालय समितिका संयोजक खुसीराम थारुले जानकारी दिएका छन् । प्रतियोगिता सुरु पुर्व लक्ष्मणपुर गाँउबासीहरुले थारु साँस्कृतिक झाँकी सहित र्याली निकाली बाँसगढी बजार परिक्रममा गर्दै खेल मैदानमा प्रबेश गरेका थिए । प्रतियोगिता उद्घाटन कार्यक्रममा नेरा माबि लक्ष्मणपुरका विद्यार्थीहरुले गाँउ सरसफाई सम्बन्धी जनचेतना मुलक नाटक पनि प्रद्धर्शन गरेका थिए । प्रतियोगिता सफल पार्न लक्ष्मणपुर बासी पनि सक्रिय भएर लागेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज १० गते शुक्रबार