1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

योजना आयोग आफ्नै संरचनामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १, २०७६  

बुटवल ।

प्रदेश नम्बर ५ को योजना आयोग अब आफ्नै संरचनामा सञ्चालन हुने भएको छ । आयोग यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्मचारीसहित व्यवस्थापन हुँदै आएको थियो । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोग (गठन तथा सञ्चालन) आदेश, २०७४ दोस्रो संशोधन आदेशलाई स्वीकृति प्रदान गरेपछि आयोगको आफ्नै संरचनामा सञ्चालनको बाटो खुलेको बैठकपछि सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले आयोग (गठन तथा सञ्चालन) आदेश, २०७४ दोस्रो संशोधन आदेश स्वीकृति पश्चात अब आयोगको छुट्टै सचिवालय रहने र कर्मचारीको व्यवस्थापनसमेत आयोग आफैले गर्ने छ । बैठकले प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरूको पारिश्रमिक, सुविधा र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयक २०७६ को मस्यौदा गर्नसमेत सैद्धान्तिक स्वीकृति प्रदान गरिएको समेत सरकारका प्रवक्ता चौधरीले बताए । प्रदेशसभाको चालु चौथो अधिवेशन छिट्टै नै अन्त्य गर्ने तयारी भएकाले सो विधेयक भने प्रदेशसभाको आगामी पाँचौ अधिवेशनमा मात्रै पेश हुने प्रवक्ता चौधरीले भनाई रहेको छ ।

प्रकाशित मितिः बुधबार, अशोज १, २०७६     9:33:18 AM  |