6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

विप्लव समूहका बर्दिया इन्चार्जसहित ३ जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६  

सुदीप अधिकारी । बर्दिया ।

नेत्रविक्रम चन्द (विप्लव) समूहका बर्दिया इन्चार्जसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) समूहका बर्दिया इन्चार्ज मीना चलाउने भनिने मीनादेवि धामीलाई बिहीबार साझ बासगढी नगरपालिका वडा नं ९ माछागढबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । उनीसँगै अखिल क्रान्तिकारी (विप्लव) समूहका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला अध्यक्ष लोकेश जोशीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

माछागढमा लुकिछिपी बसेको अवस्थामा उनीहरु दुबैलाई पक्राउ गरिएको बताइएको छ । यही असार १० गते विप्लव समूहले आह्वान गरेको नेपाल बन्दमा उनीहरुले सदरमुकाम गुलरियामा प्रेसर कुकर बम राखी विस्फोट गराई कार्यक्रमलाई सफल बनाउने उदेश्य राखेको प्रहरीको आरोप छ । उक्त बम सेनाले डिस्पोज गरेको थियो । बर्दिया इन्चार्ज धामी अछाम पञ्चदेवल नगरपालिका वडा नं ४ की हुन् । भने विद्यार्थी नेता जोशी जोशीपुर नगरपालिका वडा नं १ कैलालीका रहेको प्रहरीले जनाएको छ ।

यसैगरि बुधबार प्रहरीले विप्लव समूहका क्षेत्रिय कमाण्डर पुरणबहादुर वलीलाई पक्राउ गरेको थियो । वलीलाई बाँसगढी नगरपालिका वडा नं ५ बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । उनीहरु उपर विस्फोटक पदार्थ सम्वन्धि कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६     8:23:04 AM  |