नेपालगञ्ज ।
बिहीबार नेपाली काँग्रेस बाँकेले आयोजना गरेको जागरणसभामा नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेको विरोधमा बाँकेले नेपालगञ्जमा प्रर्दशन गरिएको छ । नेपाली काँग्रेसका नेता कार्यकर्ताले शुक्रबार दिउँसो नेपालगञ्जको विपी चोकमा टायर बालेर एक घण्टा सडक अवरुद्व गर्दै सरकार विरुद्व प्रर्दशन गरेका थिए । खजुराको सितापुरस्थित नेपाल रेडक्रस सोसाईटीको सभाहलमा हिमाल, पहाड तराई, मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तगर्त दोस्रो चरणको कार्यक्रम चलिरहेका बेला नेकपाका कार्यकर्ताले नेपाली काँग्रेस बाँके सभापति कोइराला लगायतका काँग्रेस नेता कार्यकर्तामाथि आक्रमण गरेका थिए । आक्रमणबाट काँग्रेस बाँके सभापति कोइरालाको हात भाँचिएको छ ।
आक्रमणमा दर्जनबढी काँग्रेस नेता तथा कार्यकर्ता घाइते भएका नेपाली काँग्रेसले बिहीबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । नेकपाका स्थानीय नेता तथा कार्यकर्ता मुमबहादुर ओली, पारस मल्ल, निमबहादुर ओली, निर्मल खत्री, लोके र सुनिल भनिने दुई पुरा नामथर नखुलेका १३÷१४ जनाको समूह रहेका व्यक्तिले काँग्रेसको कार्यक्रमस्थलमा नै प्रवेश गरी सभापति कोइराला लगायतका नेतामाथि सांघातिक हमला गरेको काँग्रेस बाँकेद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । काँग्रेस बाँके सभापति किरण कोइरालाको हस्ताक्षरमा जारी उक्त बिज्ञप्तीमा जागरण अभियानमा नेकपाका स्थानीय नेता तथा कार्यकर्ताले आफुहरूको ज्यानै लिने अभिप्रायका साथ आक्रमण गरेको उल्लेख छ ।
जागरण अभियान अन्तर्गत काँग्रेस कार्यकर्ता असलम भाटले राधापुरमा काँग्रेसकै कार्यकर्ता भुवन थापाले बोलेको भिडियो सामाजिक संजालमा सार्वजनिक गरेपछि घटना बढ्दै गएको हो । थापाले आफ्नो अनुमति विना इडिट गरि भिडियो राखेको भन्दै असलमलाई कारवाहीका लागि प्रहरीमा निवेदन दिएका थिए । बिहिवार छलफलका लागि प्रहरीले बोलाउदा असलम उपस्थित नभएपछि नेकपा समर्थकहरु काँग्रेसको कार्यक्रमस्थलमै प्रवेश गरी असलमलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने प्रयास गरेका थिए । सोही क्रममा युवाहरुलाई रोक्न खोज्दा पार्टी सभापति कोइरालाको हातमा चोट लागेको बताइएको छ । ज्यान मार्ने अभिप्रायका साथ आक्रमण भएको भन्दै काँग्रेस बाँकेले आक्रमणकारीविरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएको छ ।
बाँके काँग्रेसले १० जना विरुद्ध उजुरी दिएको हो । यसैबिच सभापति कोइरालामाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेकोे छ । जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरुलाई शुक्रबार राती साढे दुई बजे बाँकेको खजुराबाट पक्राउ गरेको बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार पक्राउ पर्नेमा निर्मल खत्री, लोक बहादुर शाही र रोशन सिंह ठकुरी रहेका छन् । विहीबार बाँकेको खजुरा गाउँपालिकामा नेकपाका स्थानीय नेता कार्यकर्ताले काँग्रेस जिल्ला सभापति किरण कोइराला लगायतका नेताहरूमाथि आक्रमण गरेको घटनामा उनीहरुलाई पक्राउ गरिएको उनीले बताए । पक्राउ परेका तीनैजनालाई यतिवेला जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ । अन्य आक्रमणकारीको खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्