8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

बाँसगढीमा बालिका मृत्यु प्रकरण, हत्या गरेको भन्दै आमा विरुद्व किटानी जाहेरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६  

                                                                                                                                                            कृष्ण ओली । कोहलपुर ।

घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग सहित इलाका प्रहरी कार्यालय मोतिपुरमा पुगेका स्थानीयहरु । 
      घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग सहित इलाका प्रहरी कार्यालय मोतिपुरमा पुगेका स्थानीयहरु । 

आफ्नै छोरीको हत्या गरेको भन्दै आफन्तले आमा विरुद्व किटानी जाहेरी दिएका छन् । गत बुधबार बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ४ पहाडिपुर बस्ने ६ बर्षिया बालिका सिम्रन हमाल घाइते अवस्थामा घरभित्रै भेटिएकी थिइन् । बुधबार राती साढे ९ बजेतिर घरमा नै लडेको र रक्ताम्मे अवस्थामा भेटिएपछि उनीलाई उपचारको लागि मेडिकल कलेज कोहलपुरमा लगिएको थियो । बालिकाको उपचारका क्रममा नै भोलिपल्ट दिउँसो अस्पतालमा नै मृत्यु भएको पारीवारिक स्रोतले जनाएको छ । सोमबार बालिकाका आफन्तले हत्या गरेको भन्दै आमा र अर्का एक पुरुषका विरुद्व इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीमा किटानी जाहेरी दिएका छन् ।

 

आफन्तले आमा २९ बर्षिय अनु हमाल भनिने दिलु थापा र बाँसगढी नगरपालिका ६ का ३६ बर्षिय रामचन्द्र भनिने बासुदेव पौडेल विरुद्व बालिकाको हत्या गरेको भन्दै किटानी जाहेरी दिएका हुन् । बालिकाका हजुरबुवा कालि बहादुर हमालले उनीहरु विरुद्व कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रमुख प्रहरी निरीक्षक इन्द्रजित सुनारले बालिका आफन्तले किटानी जाहेरी दिएको दुईजना विरुद्व सोमबार किटानी जाहेरी दिएको पुष्टी गरे । ‘मृतक बालिकाका आफन्तले सोमबार आमासहित दुईजना विरुद्व किटानी जाहेरी दिनुभएको छ’ उनले भने, ‘यसबारे हामीहरुले सुक्ष्म रुपमा अनुसन्धान अगाडि बढाइराखेका छौं ।’ प्रहरी निरीक्षक सुनारले अनुसन्धानको क्रममा नै रहेकाले अहिले नै बालिकाको हत्या वा आफैं मृत्यु भएको हो भन्न नमिल्ने बताए ।

‘घटनाबारे सुक्ष्म रुपले अनुसन्धान भइरहेकाले हत्या भएको हो की होइन भन्नेबारे अहिले खोल्न मिल्दैन’ उनले भने, ‘आफन्तले दिएको जाहेरीको आधारमा नै अहिले अनुसन्धान अगाडि बढाइराखेका छौं ।’ मृतक बालिकाका हजुरबुवाले दिएको किटानी जाहेरीमा आमाले हत्या गरेको बताइएकाले सोही अनुसार अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । पोस्टमार्टम रिपोर्ट तथा अन्य प्रमाणको आधारमा बालिकाको हत्या भए नभएको खुल्ने प्रहरी स्रोतले बताएको छ । ‘हामीले अहिले बालिकाको हत्या भएको आंशकामा नै अनुसन्धान अगाडि बढाएका छौं’ प्रहरी स्रोतले भन्यो, ‘पोस्टमार्टम रिपोर्ट, घटनास्थलको मुचुल्का र पक्राउ परेका अभियुक्तहरुको बयानले केही दिनमा नै नयाँ कुरा खुल्नेछ ।’ मिसन टुडेलाई प्राप्त किटानी जाहेरीमा परपुरुषसँगको अनैतिक सम्बन्ध बालिकाले देखेकाले पोल खोलिदिने छन् भन्ने ठानी हत्या गरिएको उल्लेख गरिएको छ ।

मृतकका बुवा गंगा बहादुर हमाल केही दिनमा नै घर फर्किने क्रममा लागेका र मृतक सिम्रन हमालले आमासँग परपुरुषले अनैतिक सम्बन्ध राखेको देखेकाले पोल खोलिदिने छन् भन्ने ठानी दुवैजना मिलेर हत्या गरेको जाहेरीमा लेखिएको छ । मृतकका हजुरबुवाले दिएको किटानी जाहेरीमा भनिएको छ, ‘पौडेलको मिलोमत्तोमा हमाललाई घरमा क्रुरता पुर्वक कर्तब्य गरी ज्यान मार्नेसम्मको गतिविधी गराई बहाना बनाई उपचारको क्रममा मेडिकल कलेज लगिएको र सोही ठाउँमा बालिकालाई छाडि पैसा लिने बहानामा घरमा आई प्रमाणहरु नष्ट गर्ने कार्य भएको छ ।’

बाँसगढी प्रहरीले अहिले किटानी जाहेरीमा उल्लेख गरिएका कुराहरुको पुष्टी हुने प्रमाणहरु खोज्ने काम गरिरहेको छ । स्थानीयबासीहरुले समेत बालिकाको हत्या भएको भन्दै घटनाको सत्यतथ्य अनुसन्धान भएर दोषिलाई कानुन अनुसार कारबाही हुनुपर्ने बताएका छन् ।

प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६     8:24:23 AM  |