कोहलपुर रेलिङ्ग प्रकरण, ‘मौखिक सहमतीमा काटेका हौं’



कोहलपुर ।

कोहलपुर जमुनाहा सडकखण्डको कोहलपुर बजारमा राखिएका सडक बार (रेलिङ्ग) आफुहरुले काटेको कोहलपुर उद्योग बाणिज्य संघले बताएको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघले कोहलपुर नगरपालिकाको प्रस्ट मौखिक सहमतीमा रेलिङ्गहरु काटिएको जनाएको हो । सबैतिरबाट रेलिङ्ग काटेको बिषयमा विरोध भएपछि आइतबार प्रेस विज्ञप्ती जारी गर्दै कोहलपुर उद्योग बाणिज्य संघले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको हो ।

संघका अध्यक्ष चक्र बहादुर अधिकारी र महासचिव तेज प्रसाद अधिकारीको सयुक्त हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘संघले कोहलपुर नगरपालिकासँग ज्ञापन पत्र र ध्यानाकर्षण पत्र मार्फत पटक पटक व्यापारीहरुका समस्याहरुलाई पेश गरी सर्वपक्षिय एवं सर्वदलिय छलफल समेत गरी रेलिङ्गहरुलाई मापदण्ड बनाई स्थानीय सरकारसँगको प्रस्ट मौखिक सहमती बमोजिम व्यवस्थित रुपमा हटाइएकोमा सामाजिक सञ्जाल र विभिन्न पत्रपत्रिकामाहरुमा विभिन्न खालका धारणा आइरहेको प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

निजि क्षेत्रको एउटा प्रतिनिधीमुलक एवं प्रमुख संस्था भएर पनी हामीमा आर्थिक सम्वृद्विको नारालाई साकार बनाउनका लागि सहयोगिको रुपमा सदैव साथ दिनुपर्छ विज्ञप्तीमा भनिएको छ, ‘सम्रग व्यवसायीहरुको माग बमोजिम गरिएको कार्यप्रति अनावश्यक टिकाटिप्पणी गर्नु सान्दर्भिक हुँदैन भन्ने संघको ठहर छ ।’ भए गरेको संरचना विगार्ने नियत यस संघको कथमकथाचित होइन तथापि काम गर्ने क्रममा प्राविधिक कमीकमजारी भएको प्रति यस संघ क्षमाप्रार्थी छ विज्ञप्तीमा भनिएको छ ।

यता कोहलपुर नगरपालिकाले भने यसअघि नै विज्ञप्ती जारी गरेर सडकका दुवैतर्फ राखिएका रेलिङ्ग हटाउनको लागी संघलाई अनुमती नदिएको बनाइसकेको छ । ‘रेलिङ्ग काट्ने बारेमा नगरपालिकाको संस्थागत रुपमा कहिल्यै, कही कतै पनि निर्णय भएको छैन’ कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, ‘रेलिङ्ग काट्नको लागि नगरपालिकाको तर्फबाट सहमती वा अनुमति पनि दिईएको छैन ।’

सार्वजनिक सम्पत्तीको हानी नोक्सानी गर्ने जो कोहीलाई पनी कारबाही हुनुपर्ने नगरपालिकाले बताएको छ । अन्तर्राष्ट्रिय मापदण्डको सडक निर्माण गर्दा एडिबीले बजार क्षेत्रमा सुरक्षाको लागि भन्दै सडकको दुवै भागमा रेलिङ्ग लगाएको थियो । सम्बन्धित निकायको अनुमती बिना नै कोहलपुर उद्योग बाणिज्य संघले चोरीको शैलीमा रातारात रेलिङ्ग काटेर लगेको थियो । यसैबिच अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले पनी दादागिरी शैलिमा रेलिङ्ग काटिएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

 

 

आइतबार प्रेस विज्ञप्ती जारी गर्दै अनेरास्ववियूले रेलिङ्ग काट्नेलाई कुनै पनी बहानामा उम्किन नदिन सम्बन्धित निकायालाई आग्रह गरेको छ । अनेरास्ववियू बाँके क्षेत्र नम्बर १ का अध्यक्ष सुमन घिमिरेद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनी बहानामा रेलिङ्ग काट्ने दोषिलाई उम्काउन खोजेमा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’

यो पनि पढनुहोस्

अनेरास्ववियूद्वारा दादागिरी शैलिमा काटिएको रेलिङ्गप्रति गम्भीर ध्यानाकर्षण

कोहलपुर रेलिङ्ग प्रकरण, रेलिङ्ग काट्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन

 

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २३ गते सोमबार