कोहलपुर ।
एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण भएको कोहलपुर जमुनाहा सडकखण्डमा राखिएका सडक बार (रेलिङ्ग) काट्नेलाई कारबाही हुने भएको छ । गत भदौं पहिलो साता कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जुकुमारी चौधरीको उपस्थितीमा नै कोहलपुर क्षेत्रमा लगाइएका रेलिङ्गहरु काटिएको थियो । कोहलपुर उद्योग बाणिज्य संघले चौधरीको उपस्थितीमा नै रातारात तीन चरणमा एनटिभी रोडदेखि बिद्युत् रोडसम्म सडकको दुबैतर्फका रेलिङ्गहरु काटेको हो ।
अनुमती बिना सडक पेटीमा राखेका पाइप (रेलिङ्ग) काटेर क्षती पु¥याएपछि सडक डिभिजन कार्यालय नेपालगञ्जले उनीहरुको पहिचान गरेर कारबाही गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्र काटेको थियो । सडक डिभिजन कार्यालयले भदौं ५ गते नै रेलिङ्ग काट्नेहरुको पहिचान गरेर आवश्यक कारबाही गर्न प्रशासन कार्यालयलाई पत्र काटेको भएपनी प्रशासनले ढिलो गरी प्रहरीलाई अनुसन्धान थाल्न निर्देशन दिएको हो । निमित्त डिभिजन प्रमुख नेत्र विलास पौडेलले काटेको पत्रमा भनिएको थियो । ‘रत्नराजमार्गको कोहलपुर बजारको इलाका प्रहरी कार्यालय देखि दक्षिणतिर सडकको पुर्व तर्फको सडक पेटीमा राखिएको जि.आई. र रेलिङ्ग पाईपहरु कार्यालयको अनुमती बिना धेरै स्थानमा काटि सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पु¥याएको हुँदा सो कार्य गर्ने गराउने व्यक्तिहरुलाई कारवाही गरिदिनुहुन अनुरोध छ ।’
सडकको पत्र अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्र काटेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले रेलिङ्ग काट्ने कार्यमा संग्लनलाई आवश्यक कारवाहीका लागि प्रहरीलाई निर्देशन दिईएको जानकारी दिए । ‘पत्रको आधारमा सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पु¥याउने समुह तथा व्यक्तिलाई कारवाहीको लागि प्रहरीलाई पत्राचार गरिसकेका छौं’ उनले भने, ‘प्रहरीले अहिले यसबारे अनुसन्धान गरिरहेको होला ।’ रेलिङ्ग काट्नेलाई कारवाही नगरिएको भन्दै सबैतिरबाट दवाव बढेपछि प्रशासन कार्यालय रेलिङ्ग काट्नेलाई कारवाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिन बाध्य भएको हो । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले प्रशासनबाट अनुसन्धानका लागि पत्र आएको पुष्टी गरे । ‘कोहलपुरमा रेलिङ्ग काटेको बिषयमा अनुसन्धान गर्नको लागि पत्र प्राप्त भएको छ’ उनले भने, ‘पत्र अध्ययनपछि कारवाही प्रक्रिया अगाडि बढाइने छ ।’
कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी थारुले रेलिङ्ग काट्ने ठाउँमा आफु समेत पुगेको स्वीकार गरिसकेकी छन् । ‘आफु गएको कुरालाई गएको छैन भनेर ठग्न मिल्दैन, गएको नै हुँ’ मिसन टुडेको टेलिफोन सम्पर्कमा उनले भनिन्, ‘तर कोहलपुर उद्योग बाणिज्य संघले नगरपालिकाको मौखिक अनुमतीमा नै रेलिङ्ग काटेको हो ।’ ‘नगर प्रमुख, उपप्रमुख संघका अध्यक्ष र पदाधिकारीहरुबिचको बैठकबाट रेलिङ्ग काट्न दिने मौखिक सहमती भएको हो’ उपप्रमुख थारुले भनिन्, ‘नगरप्रमुख निर्देशन दिएर काठमाडौं गएपछि निर्देशन अनुरुप नै रेलिङ्ग काटिएको थियो ।’ तर कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले सडकका दुवैतर्फ राखिएका रेलिङ्ग हटाउनको लागी संघलाई अनुमती नदिएको बताए । नगरपालिकाले समेत रेलिङ्ग काट्ने कार्यमा संस्थागत संग्लनता नरहेको बताइसकेको छ ।
‘रेलिङ्ग काट्ने बारेमा नगरपालिकाको संस्थागत रुपमा कहिल्यै, कही कतै पनि निर्णय भएको छैन’ कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, ‘रेलिङ्ग काट्नको लागि नगरपालिकाको तर्फबाट सहमती वा अनुमति पनि दिईएको छैन ।’ सार्वजनिक सम्पत्तीको हानी नोक्सानी गर्ने जो कोहीलाई पनी कारबाही हुनुपर्ने नगरपालिकाले बताएको छ । अन्तर्राष्ट्रिय मापदण्डको सडक निर्माण गर्दा एडिबीले बजार क्षेत्रमा सुरक्षाको लागि भन्दै सडकको दुवै भागमा रेलिङ्ग लगाएको थियो । सम्बन्धित निकायको अनुमती बिना नै कोहलपुर उद्योग बाणिज्य संघले चोरीको शैलीमा रातारात रेलिङ्ग काटेर लगेको थियो ।
मंगलबार बिहानसम्म संघको कार्यालय परिसरमा नै रहेका रेलिङ्गहरु अहिले भने गायब पारिएका छन् । स्थानीयहरुले भने रातारात चोरीको शैलीमा सार्वजनिक सम्पत्ति काट्दै आफ्नो कार्यालयमा लग्ने संघका पदाधिकारीहरु छानविनको दायरामा ल्याउनुपर्ने बताउँदै आएका छन् । सबैतिरबाट सार्वजनिक सम्पत्ति चोरीको शैलीमा लैजाने संघका पदाधिकारीहरुलाई कारवाही गर्नुपर्ने आवाज उठेपछि काटेका रेलिङ्गहरु कार्यालय परिसरबाट गायब पारिएको हुनसक्ने अनुमान गरिएको छ ।
यसबारे कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारीलाई बुझ्न खोज्दा सम्पर्क हुन सकेन । संघका महासचिव तेजप्रसाद अधिकारीले भने सबै सरोकारवालाहरुको छलफलपछि रेलिङ्ग काटिएको बताए । ‘व्यवसायीक हकहितका लागि व्यवसायीहरुको अनुरोधमा सबैसँग छलफल गरेर काटिएको हो’ उनले भने, ‘यसबारे नगरपालिका र सडक कार्यालयसँग समन्वय गरेर सबैको सहमतीमा काटेका हौं ।’