1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

कोहलपुर नगर क्षेत्रमा ठूला सवारी सञ्चालनमा कडाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६  

डिल्ली शाही, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा जथाभावि रुपमा सञ्चालन हुँदै आएका सवारी आवागमनमा कडाई गरिएको छ । जथाभावि रुपमा सञ्चालन हुने सवारीका कारण मानवीय तथा भौतिक क्षती हुन थालेपनि नगरपालिका कडाईका साथ प्रस्तुत हुन थालेको हो । नगर क्षेत्रमा जथाभावि रुपमा सञ्चालन हुँदै आएका साना तथा ठूला सवारी दुर्घटनाका कारण वर्षेनी ज्यान गुमाउनेको संख्या बढ्दो क्रममा रहेको बताइन्छ ।

२०७६ जेष्ठ १९ को नगरकार्यपालिकाको बैठकको निर्णय नम्बर १४ अनुसार नगर स्तरीय यातायात व्यवस्थापन समिति गठन गरिएको छ । बुधबार बसेको सरोकारवालाहरुको बैठकले सोही निर्णय अनुसार कोहलपुर नगरपालिका उपप्रमुख सन्जु कुमारी चौधरीको अध्यक्षतमा १८ सदस्सीय समिति गठन गरिएको छ । यस्तै बैठकले विभिन्न तीन वटा महत्वपुर्ण निर्णय समेत गरेको नगरपालिकाले जनाएको छ । उपप्रमुख चौधरीका अनुसार कोहलपुर नगरपालिकाको मुख्य बजार कोहलपुर सडक क्षेत्रमा चल्ने ठूला सवारी साधन संचालनमा कडाई गर्ने निर्णय गरिएको हो । विभिन्न निर्माण सामग्री (ढुङ्गा, ईट्टा, गिट्टी, सरिया र बालुवा) ढुवानी गर्ने ट्याक्टर, टिपर, ट्रक जस्ता भारी सवारी सञ्चालनको समय निर्धारण गरिएको उनले बताईन् । अब देखी ति सवारीले बिहान, दिउँसो र बेलुकाको समयमा नगरपालिकाले तोकेको समयमा मात्रै सञ्चालन गर्न पाईने छ । ति सवारीका कारण सडक छेउछाउ समेत दुर्घटना निम्त्याई धनजन तथा मानवीय क्षती गरिरहेकोले यस्तोको निर्णय गरिएको उनले जानकारी दिइन् ।

निर्णय अनुसार विद्यालय, कार्यालय समयमा विहान ९ बजे देखी १०ः०० र बेलुका ४ बजेदेखी ५ बजे सम्म १÷१ घण्टा नगरपालिका क्षेत्रमा प्रवेश रोक लगाईएको छ । साथै निर्णयबारे जानकारीको लागि सडक छेउछाउमा पर्ने विद्यालय, प्रहरी कार्यालय तथा अन्य सुरक्षा निकाय (निकुञ्ज र प्रहरी विट)लाई पत्राचार गर्ने निर्णय समेत गरिएको छ । यस्तै अर्को निर्णयमा नगरपालिकाबाट बाहिरिने तथा प्रवेश गर्ने यात्रुबाहक सवारी साधन बस, अटोरिक्सा, टेम्पो लगायात कोहलपुरमा निर्माणाधिन नयाँ बसपार्क सञ्चालनमा आएपछि असुरक्षा र  दुर्घटना रोक्नको लागि समय सिमा तोकिने छ ।

उपप्रमुख चौधरीले ठूला सवारी साधनको आतंक रोक्न यस्तो निर्णय गरिएको दाबी गरिन् । आगामी दिनमा कसैले अकालमा ज्यान गुमाउनु पर्दैन, उनले भनिन् । नगरपालिकालेको नियम पालना नगर्ने सवारीलाई कारबाहिको दायरामा ल्याईने छ । ‘नगरक्षेत्रका नागरिकको सुरक्षाको लागि यस्तो निर्णय गरिएको हो’ उनले भनिन्, ‘नागरिकहरुले पनि सडक छेउछाउमा यात्रा गर्दा सावधानी अपनाउनु पर्दछ ।’ कोहलपुर नगरपालिकामा सम्पन्न बैठकमा नगर क्षेत्रका यातायात, उद्योग व्यवसायी, प्रहरी र जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६     9:15:21 AM  |