नेतृत्व परिवर्तन गर्नुपर्छः महामन्त्री कोईराला



कोहलपुर । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले वर्तमान पार्टी नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन् । कार्यकर्ता भेटघाटको क्रममा शनिबार कोहलपुर आईपुगेका महामन्त्री डा.कोईरालाले वर्तमान पार्टी नेतृत्वका कारण अत्यन्त अप्ठ्यारो अवस्थाबाट गुज्रिएको बताए ।‘सर्वप्रथम पार्टीको अन्तर विरोध हट्नु पर्छ’उनले भने,‘विधान र नेतृत्व परिर्वतन अहिलेको आवश्यकता हो ।’उनका अनुसार पार्टीको एउटै सिद्धान्त मान्ने नेता र कार्यकर्ता बीच एकताको भावना छैन । एक आपसमा रहेको तिक्तता हटाएर एकता भएर अघि बढ्ने समय हो, कोईरालाले भने ।

आगामी दिनमा कार्यकर्ता देखी केन्द्रीय स्तर सम्म एकता हुनुको अर्को विकल्प नरहेको भन्दै पार्टीलाई सहि दिशामा अघि बढाउने नेतृत्व जनताले चाहेको उनको भनाई छ । पार्टी भित्र रहेको अन्तर विरोध र गुटगत राजनितिको अन्त्य भए कुनै पनि हालतमा अर्को पटकको चुनाव काँग्रेस जित्ने महामन्त्री डाक्टर कोईरालाले ठोकुवा गरे । काँग्रेस सकिएको भन्नेहरुको जमात रहेको धेरै रहेको भन्दै उनले काँग्रेस आगामी यात्रा उज्ववल रहेको दाबि समेत गरे ।

कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री डा. मिनेन्द्र रिजालले पनि महाधिबेसनबाट पार्टीको नेतृत्व परिवर्तनको आवश्यकता औल्याए ।‘महाधिबेसन सम्म अहिले कै नेतृत्वलाई साथ दिउ’ उनले भने, ‘त्यस पछि जनताले चाहेको नेतृत्व चयन गरौ ।’उनका अनुसार काँगे्रसको गौरवशाली ईतिहास कम्युनिष्ट,विप्लब र राजाबादी कसैले पनि मेट्न सक्दैन । जनताको जनादेशको आधारमा देश विकासमा हातेमालो गर्नु पर्ने भन्दै पुर्व मन्त्री डा.रिजालले काँग्रेसमा रहेको गुटगत राजनितिको अन्त्य हुनै पर्ने बताए । यस्तै उनले महासमितिको बैठकका निर्णयहरु केन्द्रीय समितिले कुल्चदै गएमा अझै आगामी गन्तव्य अप्ठ्यारो र कष्टपुर्ण हुने खतरा रहेकोले कार्यकर्तामा भावनात्मक मिलन चाहिने जानकारी गराए । वर्तमान सरकारका कमजोरीको फाईदा काँगे्रसले उठाउन सक्नु पर्ने उनको भनाई छ ।

यसैगरी केन्द्रीय सदस्य तथा पुर्व मन्त्री दिपक गिरीले वर्तमान सरकार जनताको पक्षमा नरहेको आरोप लगाए । पार्टीलाई एक ढिक्का बनाएर लैजान पार्टीमा रहेको दरार कमगरी एकता हुनै पर्ने उनको भनाई छ । उनका अनुसार काँग्रेस कार्यकर्ताका कारण भन्दा नेताको गुटबन्दिका कारण चुनावमा हारेको हो । अर्का केन्द्रीय सदस्य राम कृष्ण यादवका अनुुसार केपी ओली नेतृत्वको वर्तमान सरकार अधिनायकबादी शैलीले अघि बढि रहेको छ । निर्मला हत्या, प्रकरण, बहुचर्चिचत सुन काण्ड,वाईडबडी, एनसेलको कर छलि काण्ड र बालुवाटार जग्गा प्रकरणका कारण सरकार अलोकप्रियताको यात्रामा रहेको उनले दाबि गरे ।

त्यसगरी बर्दिया जिल्ला सभापति तथा सांसद संजय कुमार गौतमले पार्टी व्यक्ति र व्यक्ति पार्टी जस्तो भएकाको टिप्पणी गरे । सांसद गौतमले पार्टीको विधि र विधान अनुसार चल्नु पर्ने बताए । बलियो प्रतिपक्षका रुपमा सरकारलाई सही दिशामा लैजान पनि प्रभावकारी भुमिका काँगे्रसजनहरुले खेल्नु पर्ने उनको भनाई रहेको छ । बाँके जिल्ला सभापति किरण कोईरालाले कार्यकर्ताले पक्ष र विपक्ष भएर नभई एउटै भएर सरकारका राम्रा कामको समर्थनका साथै नराम्रा कामको खबरदारी गर्नु पर्ने बताईन् । नेपाली काँग्रेस कोहलपुर कार्य समितिका सभापति बलराम शर्मा का अनुसार स्थानीय तहमा सक्रियताका साथ विथिति र विंगगति विरुद्ध कार्यकर्तालाई निर्देशन दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ ८ गते आइतबार