४८ दिनमै पुछियो दिपाको सिन्दुर !



कृष्ण ओली ।

मृतक अर्जुनकी श्रीमती दिपा फोटोः राप्तीसोनारी अनलाइनबाट साभार

बाँके राप्तीसोनारी गाउँपालिका ५ चिलहरीयाका १९ बर्षिय अर्जुन बुढामगरले गत असार १७ गते आफ्नो प्रेमलाई बिहेमा परिणत गरे । दाङ तुलसीपुर निवासी दिपा बुढासँगको लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेका थिए । उनीहरु सँगै बिहे गरेको एक महिना मात्रै सँगै बस्न पाए । बेरोजगार अर्जुन गाउँकै साथीभाईहरुसँग दशै तिहार मनाउने खर्चको जोहो गर्न साउन १७ गते भारतको हिमाञ्चल हान्निए । यता दिपा भने अर्जुन आउने दिन कुरेर बसिरहेकी थिइन् । उनीलाई कुर्दाकुर्दै बिहे गरेको ४८ दिनमै दिपाको खुसी चुँडिएको छ ।

आइतबार हिमाञ्चल राज्यको नारकान्द जिल्लामा स्याउ टिप्न गएका अर्जुनको मध्यरातमा रुख ढलेर किच्दा मृत्यू भयो । जीवनभर रातो सिउँदो सजाउने दिपाको सपना मध्यरातमा ढलेको रुखले चीर निद्रामा पु¥याइदियो । अर्जुनसँग बिताएका पलहरु अब दिपाको सम्झना र मोबाइलको मेमोरीमा मात्र बाँकी छन् । बाँकी छन् त केवल स्मृतिका तस्बिरहरु । पतीको मृत्यू खबरसँगै दिपा अचेत छिन् । जीवन जिउन नपाउँदै दिपाको खुसी उनीबाट चुँडिएको छ । सँगै जिउने मर्ने बाचा गरेका मान्छे उनीलाई मात्र होइन संसार छोडेर गएका छन् । ‘कति खुसीसाथ अर्जुनले दिपालाई असारमा मात्र घर भित्र्याएका थिए’ स्थानीय चिम बहादुर घर्तीले भने, ‘दैव पनि कस्तो निर्दयी हुँदो रहेछ । बिहे भएको साढे एक महिनामा नै दिपाबाट चुडेर लग्यो ।’

वर्षाले रुख ढलेर घाइते सात जनामध्ये अर्जुनसहित दुई जनाको मृत्यू भएको थियो भने पाँच जना घाइते भएका थिए । मृत्यू हुने र घाइते सबै राप्तीसोनारी ५ चिलहरीया गाउँका हुन् । उनीहरू सबैजना मजदुरी गर्दै आएका थिए । मृत्यू हुनेमा अर्जुन र सन्तबहादुर पुनमगर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरुमा बलबहादुर पुन मगर, रमन पुन मगर, सन पुन मगर, रणवीर घर्ती मगर र कृष्णा थारु रहेका छन् । मृतक १८ वर्षीय अर्जुन कामको खोजीमा पहिलो पटक भारत गएका थिए भने अर्का मृतक सन विगत चार पाँच वर्षदेखि आवत जावत गरिरहेका थिए । ८ जना नेपाली एउटै घरमा बस्दै आएका थिए । सोही घरमा रुख खसेका कारण सात जना घाइते भएका थिए । एक जनालाई कुनै चोटपटक लागेन ।

एकै गाउँका दुई जनाको मृत्यू भएको खबर सुनेपछि चिलहरीया गाउँ शोकमा डुवेको छ । भारतमा मजदुरी गर्न गएका एकै गाउँका दुई युवाको मृत्यूको खबर सुनेपछि आसपासका गाउँका मानिसहरु समेत चिलहरीया गाउँ पुगेका छन् । ‘चिलहरीया गाउँ यतीबेला शोकमा डुवेको छ’ वडा नम्बर ५ का अध्यक्ष झगरु थारुले भने, ‘गाउँले दुई युवा गुमाएपछि सिंगो गाउँमा नै रुवाबासी चलेको छ ।’ स्थानीयबासी समेत रहेका नेकपा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष चिम बहादुर घर्तीले मृतहरुको शवं घरमा ल्याउने प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार प्रयास सफल भएमा दुवै शव र घाइतेहरुलाई आज (मंगलबार) रातीसम्म नेपाल ल्याइने छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ ३ गते मंगलबार