– सृजन लम्साल
अन्ततः हामी रामेश्वरम् जाने भयौँ । हाम्रो यात्राको सूचीमा रामेश्वरम् थिएन । मेरो जोडले नै हामी त्यहाँ जान लागेका हौँ भन्दा अत्युक्ति नहोला । नगेन्द्रराज शर्माले दक्षिण भारतको यात्रा छोडेर मुम्बई घुम्ने रहर गर्नुभएको थियो । विनोद दीक्षितले अहिलेसम्म नगएको ठाउँ दक्षिण भारतकै पोन्डीचेरी घुम्ने मन गर्नुभएको थियो । मलाई भने जता गए पनि त्यो ठाउँ नौलो नै हुन्थ्यो र पनि मभित्रको धर्मभीरुताको कारणले हो वा केले हो, यति नजिक आइपुगेर पनि रामेश्वरम् नजाने कुराले मन गह्रुङ्गो भइरहेको थियो । जसरी भए पनि रामेश्वरम् जान पाए हुन्थ्यो— मैले मनमनै सोचेर भ्रमण दलका टोलीनेता विनोद दीक्षितलाई भनेँ— “अन्त जाँदा यात्रा मात्र हुन्छ, रामेश्वरम् जाँदा यात्रा र धर्म दुवै हुन्छ । त्यसैले हाम्रो यात्रास्थलका अरू ठाउँ छोडेर भए पनि रामेश्वरम् जोडौँ न सर !’
मेरो अनुरोधप्रति उहाँ एकछिन घोरिनुभयो र हातका औँलाले केही हिसाब गर्नुभयो । धर्मभीरुता त उहाँभित्र पनि लुकेको रहेछ क्यारे । भन्नुभयो— “ल, अब रामेश्वरम् जाने, पोन्डीचेरी क्यान्सिल ।’
त्यस निर्णयले मलाई खुसी तुल्यायो । रामेश्वरम् चार धाममध्येको एक हो । पूर्वको जगन्नाथपुरी, उत्तरको बद्रीनाथ, पश्चिमको द्वारिका यी तीन धामहरू विष्णुक्षेत्र हुन् यी वैष्णव सम्प्रदायसँग सम्बन्धित छन् र रामेश्वरम् शिवक्षेत्र हो, शैव सम्प्रदायसँग सम्बन्धित छ, तर हिन्दू धर्मावलम्बीहरू चाहे शैव हुन्, चाहे वैष्णव विनाभेदभाव यी सबै धामहरूमा दर्शनार्थ जान्छन् र त्यहाँका तीर्थकुण्डहरूमा स्नान गरेर पापमोचन भएको विश्वास गर्दछन् । त्यसैले विश्वासमै अडिएको हुन्छ धर्म । यथार्थमा विश्वास गरेर तदनुरूप धारण गरिने आचरणलाई नै धर्म भनिन्छ ।
हामी कन्याकुमारीदेखि मदुराईको बसयात्रामा छौँ । वाहनहरू तीव्र गतिमा ओहोरदोहोर गरिरहेका छन् । वाहनको आवतजावतको चाप अत्यधिक भए तापनि नियमित छन् । कहीँ सडक विस्तार भइरहेको छ, कहीँ सडकमाथि आकाशेपुल बनिरहेको छ र पनि कहीँकतै रोकावट छैन, सडक जाम पनि छैन । भारतले थाहा नपाउँदो तरिकाले द्रुतगतिमा विकासका पूर्वाधारहरू तयार गरिरहेको छ । दिनानुदिन देशको उन्नति गरिरहेको छ । देशको विकासको क्रममा कुनै कुराले असर
गर्दैन । सुस्त गतिमा भए पनि नियमित रूपमा विकासका कामहरू भइरहेका छन् । हामीकहाँ भने सडकमा कुखुराको चल्ला किचे पनि चक्काजाम हुन्छ र देशै बन्द हुन्छ । हामी चढेको बस चार लेनको सडकमा कुदिरहेको छ । त्यसै गरी मेरो मन पनि कुदिरहेको छ, विचारहरूसँग यात्रा गरिरहेको छ । छिनछिनमा फेरिने भौगोलिक परिदृश्यहरूझैँ फेरिइरहेका हुन्छन् विचारहरू
पनि !
यसरी तन र मन दुवैले रमाइलो यात्रा गरिरहेको अवस्थामा एकाएक विस्फोटको चर्को आवाजले मेरो सातोपुत्लो उड्दछ । म अरू यात्रीका अनुहार हेर्दछु । त्रसित र भयभीत छन् सबै । बस असन्तुलित भएर डगमगाउन थाल्दछ, तर कुशल रहेछ चालक ! सुस्तसुस्त गति कम गराएर बस रोक्दछ र दुर्घटना हुनबाट बचाउँछ । त्यतिका यात्रुहरूको प्राण जोगाउँछ । विगत एक दशकदेखि बम र बन्दुकका आवाजहरूसित परिचित र त्रसित मेरा कान र मनले यो पड्कने बम नै हो भन्ने अड्कल काट्यो तर होइन रहेछ । बसबाट ओर्लेपछि थाहा भयो, बसको पछाडिको देब्रपट्टिको टायर जतापट्टि हामी बसेका थियौँ पड्केर धूलोपिठो भएको रहेछ । चालक र खलासीहरू टुलबक्सबाट सामान झिकेर टायर फेर्न थाल्दछन् । यात्रुहरू सडकको छेउछाउमा उभिएर एकआपसमा कुरा गर्दछन् । स्वाभाविक दुर्घटनाबाट बचेकोमा सबै खुसी हुन्छन् । एक जनाले भाग्यको सराहना गर्दै भन्यो— “आज सबैका ग्रहदशा बलिया रहेछन्, सबैको भाग्य राम्रो रहेछ ।” अर्कोले ईश्वरको गुणगान गाउँदै भन्यो— “सबैका मालिक उनै हुन्, उनले बचाएका हुन् ।” अझ अर्को एक जनाले भने बस चालकको खुबै प्रशंसा ग¥यो र भन्यो— “कुशल रहेछ चालक, जो कोहीले बचाउन सक्तैन, उसले भने नआत्तिईकन त्यतिका मान्छेका प्राण जोगायो ।’
पूरा एक घण्टा लगाएर उनीहरूले पाङ्ग्रा फेरे । सबै यात्रुहरू बसमा चढे र आआफ्ना सिटमा बसे । हामी पनि त्रसित मनले आआफ्ना आसनमा बस्यौँ । त्यसपछि चालक फेरियो र बस पूर्ववत् गतिमा कुद्न थाल्यो । मदुराई सहर प्रवेश गर्दा झमक्क साँझ परिसकेको हुन्छ र हामी अशोका लजमा व्यवस्थित हुँदासम्म कमलपुष्पले आफ्ना पत्रहरूलाई खुम्च्याएर विश्राम गर्ने तरखर गरिरहेको हुन्छ । तमिल साहित्यमा मदुराई नगरलाई कमलको फूलसित, मीनाक्षी मन्दिरलाई त्यसको अण्डकोशसित र सहरका चारैतिरका गल्लीहरूलाई कमलपत्रहरूसित तुलना गरेको पाइन्छ । हुन पनि त्यस्तै रहेछ यो नगर । मीनाक्षी मन्दिर सहरको केन्द्रस्थलमा अवस्थित रहेछ र त्यसको चारैतिर सहर फैलिएको रहेछ । मदुराई दक्षिण भारतकै प्राचीन इतिहास बोकेको, द्रविड संस्कृति र सभ्यता सँगालेको एक सुन्दर प्राचीन नगर रहेछ ।
बसवालाले हामीलाई अशोका लजमा बसायो । हामीले कन्याकुमारीदेखि रामेश्वरम्को दर्शन गराएर मदुराईमा छोडिदिने गरी प्याकेज कार्यक्रमअन्तर्गत टिकट किनेका थियौँ । जसअनुसार मदुराईमा लज र रामेश्वरम्मा लन्च टिकटमै समावेश थियो । अशोका लज साधारण तर फोहोर त्यसको विशेषता रहेछ । आफैँ बसेर सफा गराएरपछि बस्न लायक भयो । खानाका लागि हामी बाहिर निस्कियौँ । समय घर्किसकेको थियो । राम्रो होटेल पहिल्याउन सकिएनछ, मेनु हेरेर स्वादिष्ट भोजनको छनोट गर्न जानिएनछ, रद्दी खानाको फेला परियो । जति नमीठो खाना थियो त्योभन्दा नमीठा सबैका अनुहार देखिन्थे । विनोद दीक्षित खानाको सौखिन हुनुहुँदो रहेछ । सबभन्दा बढी मर्का उहाँलाई नै परेजस्तो थियो, किनकि उहाँको मुड त्यस दिन अफको अफ नै रह्यो । तैँ चुप मै चुप, कोही पनि बोलेन । लजमा गएर डङ्रङ्ग पल्टने काम भयो । दिनभरिको थकाइले गर्दा रातिचाहिँ मीठो निद्रा
निदाइएछ ।
नगेन्द्रराज शर्मा र ध्रुव सापकोटा उठ्नुभएकै थिएन । विनोदजी र म उठेर नित्यकर्म सक्यौँ र मीनाक्षी मन्दिर गयौँ । दक्षिण भारतका प्राचीन मन्दिरहरू अग्ला पर्खालले घेरिएको विशाल भूक्षेत्रको बीचमा बनेका हुँदा रहेछन् । त्यस्तै छ मीनाक्षी मन्दिर पनि । यसका पाँचवटा प्रवेशद्वार छन् । ती प्रत्येक द्वारमा द्रविडेली शिल्पकलायुक्त मूर्तिहरूले सजिएका विशाल टावरहरू छन् । हामी पश्चिम द्वारबाट भित्र पस्यौँ । भित्रको क्षेत्र विस्तृत र विशाल छ । त्यहाँको परिवेश रम्य एवम् मनोहर छ । त्यस विशालता र मनमुग्धकारी आकर्षणमा मान्छे अलमलिँदो रहेछ । लामो पङ्क्तिमा उभिएर करिब आधा घन्टाभित्रमा हामीले देवीको दर्शन ग¥यौँ र बिगुत लगायौँ । त्यहाँबाट निस्कँदा हामीले एउटा सुन्दर तलाउ देख्यौँ । त्यसलाई स्वर्णकमल तलाउ भन्दारहेछन् । प्राचीन कालमा स्वर्गका राजा इन्द्रले पूजाका लागि त्यही तलाउबाट स्वर्णकमल टिप्दथे रे र त्यही तलाउको किनारमा बसेर तमिल कवि तिरूवल्लुवरले आफ्नो प्रसिद्ध ग्रन्थ “तिरूकुरल” लेखेका हुन् अरे ! त्यहाँबाट निस्केपछि हामीले हात्तीबाट आशीर्वाद थाप्यौँ । मीनाक्षी मन्दिरपरिसरभित्र एउटा हात्ती पण्डित बनेर बसेको थियो । त्यसलाई पुजेर दक्षिणा चढाएपछि आशीर्वाद दिँदो रहेछ । मलाई असली पन्डाजस्तो लाग्यो त्यो हात्ती । दक्षिणाको राशि हेरेर आशीर्वाद दिइरहेको थियो उसले । थोरै पैसा चढाउनेलाई उसले अलिकति मात्र सुँड उचालेर अल्छे पाराले आशीर्वाद दिन्थ्यो तर अलि ठूलो राशि चढाउनेलाई अलि विशेष रूपले । मैले दस रुपियाँ चढाएँ । मलाई उसले कुममा सुँड राखेर आशीर्वाद दियो । त्योभन्दा बढी राशि चढाउनेलाई शिरमै सुँड पु¥याएर आशीर्वाद दिन्थ्यो ।
मन्दिर परिसरबाट बाहिर निस्केपछि लजतिर जाँदै थियौँ, एउटा चियापसलमा बारा पकाइँदै रहेछ । त्यसको बास्ना मेरो नाकबाट प्रवेश गरेर मुखलाई तरल पार्दै मनलाई आन्दोलित गरिरहेको थियो । फलस्वरूप मैले बारा खाने प्रस्ताव राख्न भ्याउँदा नभ्याउँदै विनोद दीक्षितले भन्नुभयो— “लम्सालजी, बारा खाने ?” के खोज्छस् कानो ? आँखा ! भनेझैँ भयो मलाई । “हुन्छ खाऊँ’, मैले भनेँ । मलाई दक्षिण भारतका पकवानमध्ये सुठो र मरिचको धूलो हालेर पकाएको मासको बारा साह्रै स्वादिलो लाग्छ । त्यसको बास्नाले मुखै रसाउँछ ।
आज हाम्रो गन्तव्य लक्ष्य रामेश्वरम् भएर हो कि किन हो, ममा नयाँ ऊर्जा, स्फूर्ति र उमङ्ग छाइरहेको महसुस हुन्छ । आज बिहानैदेखि जीउ हलुङ्गो भइरहेको छ । कतिखेर त्यहाँ पुगौँजस्तो लागिरहेको छ । साथीहरू तयार भएर तल झरिसक्नु भएको रहेछ । बस हाम्रो प्रतीक्षामा रहेछ । हामी बसमा बस्नेबित्तिकै उसले बाटो ततायो र तीन घण्टा बित्दानबित्दै इन्दिरा गान्धी सेतु पार गरेर रामेश्वरम् द्वीपमा प्रवेश
ग¥यो ।
कुनै नयाँ ठाउँ पुग्नुभन्दा पहिले जहिले पनि मेरो मनले त्यस ठाउँको पूर्वकल्पना गर्दछ । तर त्यहाँ पुगिसकेपछि त्यो पूर्वकल्पना बालुवाको महलझैँ गल्र्यामगुर्लुम्म भत्कन्छ र यथार्थ चित्र आँखासामु झल्किन्छ । त्यस्तै हुन्छ आज पनि । रामेश्वरम् मन्दिर एउटा सानो टापुमा अवस्थित छ भन्ने सुनेको भरमा मैले मनमनै गुनेको थिएँ— पक्कै पनि त्यो फेवातालको वाराही मन्दिरजस्तो होला जहाँ पुग्न ससाना फुच्चे पानीजहाज चढ्न पर्छ होला, तर होइन रहेछ । त्यहाँ त समुद्रमै मोटर र रेलका छुट्टाछुट्टै पुलहरू बनेका रहेछन् । मोटरमै बसीबसी पुगिँदो रहेछ पारि । प्रत्यक्ष देखेपछि बल्ल मेरो अज्ञानताको जालो च्यातिन्छ । पारि पुगेपछि थाहा हुन्छ— रामेश्वरम् भनेको त शिव मन्दिर मात्र होइन रहेछ । त्यो त १३२२४।२२ एकड भूमिमा फैलिएको एउटा टापुकै नाम रहेछ, जहाँ विभिन्न जातजाति र धर्म संस्कृतिका करिब चालीस हजार बासिन्दाले बसोबास गर्दा रहेछन् । उनीहरूको पेसा व्यवसाय कसैको माछा मार्ने, कसैको पूजाआजा गर्ने गराउने र कसैको पर्यटन व्यवसाय रहेछ । सबै सेवा सुविधाहरूले सम्पन्न रहेछ त्यो टापु । श्रीलङ्काको टापुसित सबभन्दा निकटतम दूरीमा अवस्थित यो टापु सत्ययुगमा अयोध्याका राजा दशरथपुत्र राजकुमार रामले रावणवधका लागि प्रयोग गरेको सैन्य आधारशिविर रहेछ त्यो । तत्पश्चात् अहिलेसम्म अनवरत रूपमा शिवधामको रूपमा पुजिँदै आएको छ । लङ्का जानका लागि श्री रामचन्द्रले त्यस ठाउँमा पानीमा उत्रने ढुङ्गैढुङ्गाको पुल बनाएका थिए । त्यसैले त्यस ठाउँलाई “सेतुबन्ध रामेश्वरम्” भनिन्छ ।
रावणवध गरिसकेपछि सुरक्षाको दृष्टिकोणले रामचन्द्रले त्यस पुललाई धनुषवाणले ध्वस्त पारेकाले धनुषकोटि तीर्थ पनि भनिँदो रहेछ । रामायणकालदेखिको इतिहास समेटेको त्यस ऐतिहासिक स्थलमा पाइला टेक्न पाउँदा बडो आनन्द आइरहेको हुन्छ मलाई । हाम्रो बस एउटा सुन्दर नगरीबाट गुज्रन्छ । नगेन्द्रराज शर्माले मलाई भारतका पूर्व राष्ट्रपति ए.पी.जे. अब्दुल कलामको घर यही हो भनेर चिनाउनुभएपछि थाहा भयो— त्यस टापुमा मुस्लिम समुदाय पनि बस्दा रहेछन् । भारतका एक महान् वैज्ञानिक एवम् विद्वान््को जन्म त्यस पुण्यभूमिमा भएको जानकारीले कुन्नि किन हो, अत्यन्त हर्षित तुल्यायो मलाई । रामेश्वरम् मन्दिरको पूर्वतिरको प्राङ्गणमा पुगेर हाम्रो बस टक्क अडिन्छ । विशाल समुद्र आएर अग्नितीर्थको रूपमा त्यहाँ टुङ्गिएको रहेछ ।
छिनछिनमा समुद्रका लहरहरू उर्लेर शिवजीलाई सलाम गरिरहेको त्यो दृश्यको प्रथम दर्शनले मेरो मन सागरका लहरहरूझैँ नै उर्लेर नाच्यो । रामेश्वरम् मन्दिरको त्यस विशालतामा मान्छे त्यसै हराउँदो रहेछ । त्यसैले होला बसवालाहरूले नै आफ्ना यात्रुहरूलाई आवश्यक रकम लिएर कुण्डस्नान एवं शिवदर्शनका लागि गाइडको व्यवस्था गरिदिँदा रहेछन् । हामी पनि नियमअनुसारको रकम बुझाएर गाइडको पछिपछि लाग्यौँ । नगेन्द्रराज शर्मा भने रामेश्वरम् मन्दिरभित्र पनि पस्न मान्नुभएन । “म बाहिरफेरै घुम्छु, तपाईंहरू गएर आउनुस्” उहाँले भन्नुभयो । तर के कारणले उहाँलाई भित्र जान मन नलागेको हो, त्यो भने केही बताउनुभएन । मनभित्र जे जस्तो भाव र विचार भए तापनि कसैकसैले मन्दिर परिसरमा पुगेर पनि— “म त हेर्न घुम्न मात्र आएको हुँ, मलाई धर्ममा विश्वास छैन” भनेर आफूलाई प्रगतिशील वा अस्तित्ववादी जनाउन खोज्ने व्यक्तिहरूले भन्ने वा लेख्ने गरेको सुनेको वा पढेको छु मैले, तर ममा त्यस किसिमको दम्भ कत्ति पनि छैन । त्यसैले म पूर्ण आस्था र विश्वासका साथ शिवपार्वतीको दर्शन गर्न र मन्दिर परिसरका बाइस तीर्थकुण्डहरूमा स्नान गर्न तत्पर एवम् उत्सुक हुन्छु । ममा शिवजीको शक्ति र सत्तालाई हाँक दिने शक्ति र सामथ्र्य छैन । हजारौँ वर्षदेखिका मान्छेका आस्था र विश्वासलाई भाँच्ने मसँग कुनै हतियार वा आधार छैन । यो विश्व ब्रह्माण्डलाई थामिराख्ने, यस जगत्को सृष्टि, स्थिति र संहार गर्ने त्यो अदृश्य शक्ति र सत्ताको विकल्प अहिलेसम्म मेरो ज्ञान, बुद्धि र विवेकले कहीँ कतै भेटाउन सकेको पनि छैन । त्यसैले यो विश्वब्रह्माण्ड, यो जीवन र जगत्लाई सञ्चालन गर्ने अदृश्य शक्तिप्रति नतमस्तक हुन्छु म !
रामेश्वरम् तीर्थकुण्डहरूमा पोसाकसहित स्नान गर्ने चलन रहेछ । सर्वप्रथम अग्नितीर्थमा अर्थात् समुद्र किनारमा डुबुल्की लगाएपछि मन्दिर परिसरभित्रका विभिन्न स्थानहरूमा रहेका बाइस कुवाहरूमा स्नान गर्ने परम्परा रहेछ । ती बाइस कुवाहरूका नाम यस प्रकार छन् ः १. महालक्ष्मी तीर्थ, २. सावित्री तीर्थ, ३. सरस्वती तीर्थ, ४. सेतुमाधव तीर्थ, ५. गायत्री तीर्थ, ६. गन्धमादन तीर्थ, ७. श्वास तीर्थ, ८. गभय तीर्थ, ९. नल तीर्थ, १०, नील तीर्थ, ११. शङ्ख तीर्थ, १२. चक्र तीर्थ, १३. सूर्य तीर्थ, १४. ब्रह्म तीर्थ, १५. चन्द्र तीर्थ, १६. गङ्गा तीर्थ, १७. यमुना तीर्थ, १८. गया तीर्थ, १९. शिव तीर्थ, २०. साध्यामृत तीर्थ, २१. सर्व तीर्थ, २२. कोटि तीर्थ । गाइडले ती कुण्डहरूबाट बाल्टीमा डोरी बाँधेर पानी तान्दो रहेछ र सबै तीर्थयात्रीका शरीरमा पर्ने गरी छ्याप्दो रहेछ । म सबभन्दा अगाडि पुगेर बाल्टीबाट खन्याइएको पानीमा टाउको थाप्न पुग्दथेँ । यसरी बाइस तीर्थकुण्डहरूमा स्नान गर्दा बडो आनन्द आइरहेको थियो मलाई । कुवाका पानीको स्वाद चाखिरहेँ मैले । कुनै पनि कुवाको पानी नुनिलो थिएन ।
बाइस कुण्डहरूमा स्नान गरेपछि गाइडले हामीलाई रामनाथ स्वामीको दर्शनका लागि भित्र लगे । हामी पङ्क्तिबद्ध भयौँ र सुस्तसुस्त रामनाथ स्वामी अर्थात् रामका ईश्वर रामेश्वर भएतिर लाग्यौँ । तर हामीलाई टाढैबाट फर्काइयो र ठूलो थैली बुझाउनेलाई मात्र भगवान्समक्ष जान दिइयो । भगवान्को दरबारमा पनि पैसाकै आधारमा भेदभाव गरेको देख्दा मलाई दुःख लाग्यो । तर ईश्वर सर्वज्ञाता भएकोले को धूर्त हो, को भक्त हो भन्ने कुरा आफैँ थाहा पाउने छन् भन्ने विश्वासमा चित्त बुझाएर टाढैबाट दुवै शिवलिङ्गहरूलाई नमस्कार गरेर पार्वती माताको प्रतिमा भएतिर लाग्दछौँ हामी ।
त्यहाँ स्थापित ती शिवलिङ्गहरू रामायण कालदेखिका हुन् । रावणको वध गरेर फर्केपछि सीता र लक्ष्मणका साथमा राम गन्धमादन पर्वतमा बसेका रहेछन् । रावण ब्राह्मण भएको हुँदा रामलाई ब्राह्मण हत्याको पाप लाग्ने कुरा ऋषिमुनिहरूले व्यक्त गरेकाले ब्रह्महत्याको पापबाट मुक्त हुनका लागि रामले त्यहाँ शिवलिङ्ग स्थापना गर्ने निधो गरेछन् र सो स्थापना गर्ने मुहूर्त निकालेर श्री हनुमान्जीलाई शिवलिङ्ग लिन कैलाश पर्वत पठाएछन् तर मुहूर्त बित्न लागिसक्दा पनि हनुमान्जी नआइपुगेकाले सीताले तयार पारेको बालुवाको शिवलिङ्ग स्थापना गरिएछ । हनुमान्जीले कैलाश पर्वत नै बोकेर आउने हुन् किन भन्ने सबैलाई लागिरहेको थियो तर पछि शिवलिङ्ग लिएर हनुमान्जी कैलाशबाट आइपुगेछन् र बालुवाको शिवलिङ्ग स्थापना भइसकेकोमा रामसित अप्रसन्नता व्यक्त
गरेछन् । हनुमान्जीको अप्रसन्नतालाई विचार गरेर रामले भनेछन्— “त्यसो भए सीताले तयार पारेको बालुवाको शिवलिङ्ग झिकेर त्यहाँ आफूले ल्याएको शिवलिङ्ग राख न त
हनुमान् ।” हनुमान्ले त्यसै गर्न खोजेछन्, तर जति बल लगाए पनि कत्ति पनि हलचल नभएपछि रामले हनुमान्द्वारा ल्याएको शिवलिङ्ग पनि त्यही स्थापना गर्न लगाएछन् र सर्वप्रथम त्यसकै पूजा हुने चलन पनि चलाइदिएछन् । त्यहाँदेखि अहिलेसम्म पहिले हनुमान्ले कैलाशबाट ल्याएको शिवलिङ्गको र त्यसपछि सीताद्वारा निर्मित बालुवाको शिवलिङ्गको पूजाआजा हुँदै आएको छ भन्ने कुराको जानकारी भयो हामीलाई । यो शिवलिङ्ग भारतवर्षमा रहेका एक दर्जन ज्योतिर्लिङ्गमध्येको एक हो भन्ने कुरा पनि थाहा भयो । रामनाथ स्वामीको दर्शन गरेर मन्दिरबाट बाहिर निस्केपछि बसवालाले हामीलाई दिउँसोको खाना खुवायो । भोक र भोजनको एकाएक जम्काभेट हुँदा बडो आनन्द आउँदो रहेछ । भोजनले तृप्ति पनि दिँदो रहेछ । भोजन गरिसकेपछि साइड सिनको कार्यक्रम थियो ।
रामेश्वरम् द्वीप नै एउटा तीर्थस्थलको रूपमा रहेछ । रामेश्वरम् मन्दिर परिसरभित्रका २२ तीर्थहरूबाहेक बाहिर पनि ३१ तीर्थस्थलहरू रहेछन्, जसमध्ये, रामतीर्थ, सीतातीर्थ, लक्ष्मणतीर्थ, हनुमान् मन्दिर र गन्धमादन पर्वतहरूमा पनि हामी पुग्यौँ । ती तीर्थस्थलहरूले रामायणको कथालाई जीवन्तता दिइरहेका छन् । हनुमान् मन्दिरमा एउटा भाँडामा पानी भरेर पत्थरका ससाना टुक्राहरू राखिएका थिए, जो पानीमा नडुबेर तैरिरहेका थिए । त्यही जातको पत्थरबाट लङ्का जानका लागि पुल बनेको वैज्ञानिक प्रमाण ती पत्थरहरूले दिइरहेका थिए । गन्धमादन पर्वत रामेश्वरम् टापुको सबभन्दा उच्च स्थान रहेछ । त्यसको टुप्पोमा मण्डप बनाइएको छ । त्यहाँ रामका पदचिह्न (पाइला) छन् । त्यस ठाउँबाट रामेश्वरम् द्वीप सर्लक्कै देखिन्छ । दूरबीनबाट हे¥यो भने श्रीलङ्का पनि देखिन्छ होला । लङ्का हान्ने योजना रामले यहीँ बसेर बनाएको हुनुपर्छ ।
गन्धमादन पर्वतमा छँदा मैले नरेन्द्र कोहलीको उपन्यास अभ्युदय सम्झेँ । उनले रामायणकालीन ऐतिहासिक कथावस्तुलाई आधार बनाएर उपन्यास लेखेका छन्, जसमा खास गरेर दक्षिण जम्बुद्वीपको अवस्था दर्साएका छन् । त्यतिबेला दक्षिण जम्बुद्वीपमा सबर, किराँत, गरुड, गिद्ध, नाग, निषाद, बानर, रीक्ष, कोल, भिलजस्ता आर्येत्तर जाति जनजातिहरू बसोबास गर्दथे । ती जाति जनजातिहरू आर्यहरूद्वारा उपेक्षित थिए । त्यस बखत अत्यधिक वैज्ञानिक उन्नतिका कारण देव जातिले धेरै शक्ति, धन र सत्ता प्राप्त गरेका
थिए । राजाहरू निश्चिन्ततापूर्वक दरबारभित्र भोगविलासमा लिप्त थिए । राम्री स्त्री देख्न हुन्नथ्यो, रानी बनाउन परिहाल्थ्यो । भोग, विलास र दरबारभित्रको पारिवारिक षड्यन्त्रमा नै राजाहरू अल्झिएका हुन्थे । जनताप्रति चिन्ता र चासो पटक्कै थिएन । आर्यसम्राट्हरूका गुरु वशिष्ठ थिए, जो प्रतिगामी सोचका व्यक्ति थिए । मानव मानवबीचमा समानताको व्यवहार थिएन । उनी आर्य जातिलाई अरू जातिभन्दा श्रेष्ठ मान्दथे र पुरुषलाई नारीभन्दा श्रेष्ठ मान्दथे । उनीबाट आर्य राजाहरूलाई सचेत गराउने काम पनि भएन । त्यसैले गुरु वशिष्ठद्वारा उपेक्षित जाति, जनजाति तथा वशिष्ठको मतसँग विमति राख्ने आर्य जातिका ऋषिमुनिहरू दक्षिण जम्बुद्वीपमा बढ्दो राक्षसी, आतङ्कबाट पीडित थिए । दक्षिणमा दिनानुदिन राक्षसहरूको आतङ्क बढिरहेको थियो । राक्षसहरू हिंस्रक पशु समान उन्मत्त र उन्मुक्त थिए । ऋषि, मुनि, तपस्वी, आर्य बुद्धिजीवी तथा दुर्बल जाति जनजातिका मान्छेहरूलाई मारेर नरमांस भक्षण गर्नु साधारण कुरो थियो । यसरी यता आर्य राजाहरू विलासितामा लिप्त भइरहेका बखत उता राक्षसहरूले सैन्यशक्तिको वृद्धि गरिरहेका थिए, जनशक्ति जुटाउँदै गइरहेका थिए ।
त्यसको नेतृत्व रावणले लिएको थियो । पञ्चवटीनजिक उसले अत्यन्त महŒवपूर्ण सैनिक शिविर राखेको थियो । त्यहाँ खर र दूषण सेनापति थिए, बहिनी शुपर्णखा पनि त्यहीँ थिई । रावणको विरुद्धमा कसैले केही बोल्न सक्तैनथ्यो । उसको विरुद्धमा बोल्नु भनेको मृत्युको मुखमा जानु थियो । यसरी रावणले जम्बुद्वीपमा मात्र होइन देवलोकमा नै धावा बोल्न थालेको थियो । रावणको बढ्दो सैन्यशक्तिलाई नष्ट गरेर जम्बुद्वीपका पीडित जनता, ऋषिमुनि तथा तपस्वीहरूलाई राक्षसी आतङ्कबाट कसरी त्राण दिलाउने भनेर ऋषि विश्वामित्र चिन्तित थिए तर आर्यावर्तका कुनै पनि राजालाई उनले त्यस कामको लागि उपयुक्त पात्रको रूपमा भेटाउन सकेनन् । उनले अयोध्याका राजा दशरथका जेठा सुपुत्रलाई उपयुक्त पात्र ठानेर राजाकहाँ गएर केही दिनका लागि रामलाई मागे । त्यसपछि उनले रामको साथमा अयोध्यादेखि जनकपुरसम्मको यात्रा गरे । त्यस यात्रामा रामलाई उनले आर्यावर्तको वस्तुस्थिति पूरै जानकारी गराएर रामलाई तद्नुरूप राजोचित शिक्षा दिए । त्यसै यात्राका क्रममा रामद्वारा ताडका र मारिचजस्ता कुख्यात राक्षसहरूको वध भयो ।
जनकपुरमा जनकपुत्री सीतासँग स्वयम्बर गरेर अयोध्या फर्केपछि विश्वामित्रकै चाहनाअनुसार राम वनबास गएका हुन् भन्ने कुरा नरेन्द्र कोहलीको उपान्यासमा दर्साइएको छ । हुन पनि राजा दशरथ कैकेयीसँग वाचा तोड्न तयार थिए, रामलाई वनबास पठाउन तयार थिएनन्, तर रामले मानेनन् । किनभने विश्वामित्रद्वारा रामलाई बोकाइएको देश र जनताप्रतिको दायित्वबोधको भारी बिसाउनका लागि वनबास नगई अर्को उपाय नै थिएन । वनबासद्वारा नै लक्ष्य प्राप्ति हुन सक्थ्यो । त्यसैले उनी १४ वर्षको लागि वनबास हिँडे ।
वनबास गएपछि राम सबै जातजातिसँग जनसम्पर्कमा रहे । उनीहरूका दुःख, कष्ट, पीर, मर्का र भावनाहरू बुझे । राक्षसहरूका आततायी क्रियाकलापहरू देखे । आफ्नै पत्नीको अपहरणको पीडा भोगे र दक्षिण जम्बुद्वीपमा आर्येत्तर जाति जनजातिको मात्र होइन, पूरै आर्यावर्तका बासिन्दाको सुरक्षा र सुखशान्तिका लागि एक मात्र उपाय रावणबध नै हो भन्ने कुरा निश्चय गरेर विभिन्न जातजातिका प्रभावशाली स्थानीय व्यक्तिहरूसँग मित्रता गरेर तदनुरूप सैन्य सङ्गठन पनि गरे । अन्ततोगत्वा रावणबध गरेर राक्षसी आतङ्कबाट आर्यावर्तलाई मुक्त पारे ।
जति बेला म नरेन्द्र कोहलीको उपन्यास “अभ्युदय” को कथावस्तु स्मरण गर्दै रामको पुण्य कर्मभूमि गन्धमादन पर्वतमा उभिएर चारैतिर दृष्टि दौडाइरहेको थिएँ र टाढाटाढा समुद्रमा छालहरू उफ्रीउफ्री नाचेको दृश्यमा मुग्ध भइरहेको थिएँ, ठीक त्यसैबेला हाम्रो बस मदुराईतर्फ प्रस्थान गर्न आँटेको खबरले म झसङ्ग भएँ !










प्रतिक्रिया दिनुहोस्