सुर्खेत ।
अज्ञात समूहले पछिल्लो समय लगातार पर्यटकीय स्थल काँक्रेविहारमा तोडफोड गरेको छ । वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित पुरातात्विक स्थल काँक्रेविहारको पुनर्निर्माण अन्तिम चरणमा पुगेका बेला रातिको समयमा लगातार अज्ञात समूहको निशानामा परेको हो । स्थानीय हेरालु सीता कार्कीले शनिबार, आइतबार र सोमबार राति तोडफोड भएको बताइन् ।
‘उच्छृखल समूहले मूल गेट, सुरक्षा पर्खाल, टिकट काउन्टर तोडफोड गरेको छ’, उनले भनिन्, ‘प्रवेशद्वारमा लगाइएको ताला पनि फोडिएको छ, टिकट काउन्टर, हात धुने बेसिन लगायतमा तोडफोड गरिएको छ ।’ दक्षिणतर्फको गेटमाथिको गजुर पनि भाँचिएको अवस्थामा फेला परेको छ । हेरालु र टिकट व्यवस्थापक दिउँसो मात्र त्यहाँ बस्ने गर्दछन् । रातिको समयमा चौकीदार नहुँदा असुरक्षा बढेको स्थानीयवासी बताउँछन् । गजुर, ढोका र काउन्टर तोडफोडको सूचना सार्वजनिक भएपछि वीरेन्द्रनगर–९ को वडा कार्यालयले चासो दिएको छ । वडाध्यक्ष सुरेश मानन्धरले तोडफोडमा संलग्नको पहिचान गरी कारवाही गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको बताए । प्रहरीले मङ्गलबार घटनास्थल पुगेर मुचुल्का उठाएको छ ।
वडाध्यक्ष मानन्धरले काँक्रेविहार जङ्गल क्षेत्रमा भएकाले सुरक्षा चुनौती रहेको बताए । ‘काँक्रेविहारमा अस्थायी प्रहरी पोष्ट राख्न पनि अनुरोध गरेका छौँ, प्रदेशकै प्रमुख पर्यटकीयस्थल हो, पर्यटकको भीडभाड हुने मध्येको एक स्थान हो’, उनले भने, ‘पुरातात्विक वस्तुहरु छरिएका छन्, भग्नावशेषको जीर्णोद्धार भइरहेको छ, त्यसैले अब चौकीदार र सुरक्षा पोष्टको आवश्यकता भइसकेको छ ।’ पुरातत्व विभागले ०७२ सालदेखि भग्नावशेष सङ्कलन गर्दै पुरानै स्वरुपमा पुनर्निर्माण आयोजना सञ्चालन गरिरहेको छ । काँक्रेविहारमा २१ मिटर अग्लो कलात्मक शिखर शैलीको मन्दिर बन्दैछ । जिल्ला प्रहरी कार्यालयले वडा कार्यालयलाई काँक्रेविहार क्षेत्रमा विद्युत, सिसिटिभी क्यामरा जडान र चौकीदार राख्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी वसन्त रजौरेले घटना संलग्नहरुको खोजी भइरहेको बताए । ‘प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र पारेको छ, रातिको समयमा निगरानी बढाएका छौँ’, उनले भने । प्रहरीले लागुऔषध सेवनकर्ताबाट तोडफोड गरिएको हुन सक्ने अनुमान गरेको छ । वि.सं. २०७१ मा सुर्खेतका बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीको अवसर पारी बुद्ध मूर्ति प्रतिस्थापना गर्ने योजनामा थिए । काँक्रेविहारलाई संरक्षित क्षेत्रका रुपमा संरक्षण गर्दै आएका हिन्दु समुदाय बौद्ध विशेषको सम्पदा बनाउन तयार भएनन् । पुरातत्व विभागले पुनर्निर्माणको योजना सञ्चालन गरिरहेका बेला बुद्ध मूर्ति प्रतिस्थापन गर्न नहुने हिन्दु समुदायको तर्क थियो ।
उता, बौद्ध धर्मावलम्बीले काँक्रेविहार क्षेत्रमा छरिएका मूर्तिहरु, विहार शैलीका अवशेषले बुद्ध विशेषकै सम्पदा भएको जिकिर गर्न थाले । विवादले उग्र रुप लिन थाल्यो । बुद्ध प्रतिमाले गर्दा दुई समुदायबीच आपसी मनमुटावको बिजारोपण हुन पुग्यो । हिन्दू–बौद्ध तनाव बढ्न नदिन स्थानीय प्रशासनले सहमति नहुञ्जेलसम्मका लागि बुद्ध मूर्ति जिल्ला प्रहरी कार्यालयकै हाताभित्र राख्ने निर्णय ग¥यो । काँक्रेविहार क्षेत्रमा प्रतिस्थापन हुनुपर्ने बुद्धको ठूलो प्रतिमा पाँच वर्षदेखि प्रहरी परिसरमा राखिएको छ । त्यसयता बर्सेनी बुद्ध जयन्तीमा यहाँका बौद्ध धर्मावलम्बीहरु प्रहरी हाताभित्रै पुगेर पूजापाठ गर्दै आएका छन् । काँक्रेविहारको पहिचानलाई लिएर यहाँका हिन्दू र बौद्ध समुदाय विभाजित छन् ।