नेपालगञ्ज ।
बाँकेको नेपालगन्जको वीपी चोकस्थित फर्निचर उद्योगमा बिहीबार राती भीषण आगलागी भएको छ । बिहीबार राति करिब ११ बजेतिर एवान फर्निचरबाट सुरु भएको आगो समयमा नियन्त्रणमा आउन नसक्दा अन्य पसलमा पनि सल्किएको थियो । आगलागीबाट १२ वटा फर्निचर उद्योग र एक डेन्टल क्लिनिकमा क्षति भएको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ । एवान फर्निचरबाट सुरु भएको आगो केहीबेरमा नै आसपासका अन्य पसलहरुमा सल्किएपछि नियन्त्रणमा बाहिर गएको थियो । आगलागीको २० मिनेटमा नै नेपालगञ्ज उपमहानगरपालिकाको एउटा दमकल पुगेपनी चारैतीर फैलिसकेको आगो त्यसले नियन्त्रण लिन सकेन ।
आगलागीको आधा घण्टामा उपमहानगरपालिकाको अर्को दमकल पुगेपनी एकैपटक एक दर्जन पसलहरुमा लागेको आगो नियन्त्रणमा लिन सम्भव भएन । दुई दमकलले आगो नियन्त्रणमा लिनको लागी प्रयास गरेपनी पानी सकिएपछि पानी लिन जाँदा आगोले ठूलो रुपमा लिइसकेको हुन्थ्यो । नेपालगञ्जमा उपलब्ध दमकलले आगो नियन्त्रणमा लिन सभ्भव नदेखिएपछि आगलागी सुरु भएको ४३ मिनेटमा कोहलपुर नगरपालिकाको दमकल पुगेको थियो । तीन वटा दमकल र दुई सय भन्दा बढी सुरक्षाकर्मीहरुले आगो नियन्त्रणको प्रयास गरेपनी चारैतीरबाट लागेको आगो नियन्त्रणमा हम्मेहम्मे परेको देखिन्थ्यो ।
तीन वटा दमकलले पनी आगो नियन्त्रणमा आउने छाटकाँट नदेखिएपछि बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलको एभिएसन रेस्क्यु एन्ड फायर सर्भिस् (बारुणयन्त्र) मगाएको थियो । एभिएसन रेस्क्यु एन्ड फायर सर्भिस् आगलागीको सवा एक घण्टामा पुगेको थियो । विमानस्थलको एभिएसन रेस्क्यु एन्ड फायर सर्भिस् आएपछि आगो नियन्त्रणमा आउन थालेको थियो । बाहिरबाट पानी ल्याएर अन्य दमकलहरुले विमानस्थलको एभिएसन रेस्क्यु एन्ड फायर सर्भिस्मा खन्याउने गरेका थिए । आगलागी नियन्त्रणको क्रममा भएपनी पुर्ण रुपमा नियन्त्रणमा आउने नदेखिएपछि बर्दिया गुलरिया नगरपालिकाको दमकल समेत ल्याउनुपरेको थियो । ५ वटा दमकल र सयौं सुरक्षाकर्मीहरुले बिहान ५ बजे मात्र आगो नियन्त्रणमा ल्याएका थिए । ‘राति ११ बजेतिर एवान फर्निचरमा आगोको झिल्को देखिएको छ भनेर हामीलाई खबर आयो’ वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज हरीबहादुर बस्नेतले भने,‘केही मिनेटमा नै हामी पुग्दा आगोले ठूलो रुप लिइसकेको थियो ।’
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज विमानस्थलको दमकलले आगो निभाउने प्रयास गरे, तर पानी कहाँबाट ल्याउने भन्ने अन्योलता छायो, पछि नजिकै रहेको खानेपानीको ट्यांकी र सिग्नेट होटेलबाट दमकलमा पानी भर्दै निभाउने काम भएको उनले बताए । त्यतीबेलासम्म आगलागीबाट करोडौंको क्षती भइसकेको थियो ।
आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरिक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार व्यवसायी हासिमअलि सिद्धिकीले सञ्चालन गरेको बाबा फर्निचरमा सबैभन्दा बढी ९० लाख बराबरको क्षति भएको छ । यस्तै जासिम रज्जा सिद्धिकीको बाबा टे«डर्समा ५० लाख, पारस बडहीको बिन्देश्वरी फर्निचरमा ४० लाख, व्यवसायी सब्बिरहुसेन सिद्धिकीले सञ्चालन गरेको हिमालय स्टिल फर्निचरमा ३५ लाख, अलि हुसेनको सानिया स्टिल फर्निचरमा २० लाख, अनिस अन्सारीको वारसी काठ फर्निचर उद्योगमा २० लाख, साहिद अन्सारीको स्टार फर्निचरमा १५ लाख, रिजवान अहमद जसगढको न्यु रुवी स्टिल फर्निचरमा १० लाख, लड्डन गुड्डु भनिने अब्दुलवाहिद सिद्धिकीको एवन फर्निचरमा आठ लाखको क्षति भएको छ । यसै गरी व्यवसायी हीराबहादुर रुचालको आलिया ट्रेडर्समा पाँच लाख, जाविरअलि सिद्धिकीको अमन फर्निचरमा पाँच लाख, सरदार डेन्टल आर्ट्समा पाँच लाख र व्यवसायी प्रतापसिंह ठाकुरको दर्ता नभएको पसलमा दुई लाख क्षति भएको छ ।
तत्काल क्षतिको प्रारम्भिक विवरण संकलन गरिए पनि पूर्ण क्षतिको विवरण पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धान गरेको प्रहरीले विद्युत् सर्ट भएरनै आगलागी भएको ठहर गरेको छ । दमकल समयमा नआउँदा आगलागीबाट धेरै क्षति भएको पीडित व्यापारीले गुनासो गरेका छन् । पीडित व्यवसायी हासिमअलि सिद्धिकीले दमकल समयमा नआउँदा धेरै पसलमा आगो फैलिएको र क्षति धेरै भएको बताए । ‘नेपालगन्ज उपमहानगरपालिकाको दमकल धेरै ढिलो आइपुग्यो, त्यो पनि आधा पानी ल्याएर आयो,’ उनले भने, ‘आगो नियन्त्रणमा विमानस्थलको दमकलले धेरै काम ग¥यो ।’
प्रतिक्रिया दिनुहोस्