६ लाख बढीको सामानसहित बस सशस्त्रको नियन्त्रणमा



कोहलपुर ।
नेपालका विभिन्न शहरबाट भारतको राजधानी नयाँदिल्ली चल्ने भन्सार छलीका सामान ओसारपसार गर्नमा प्रयोग हुने गरेको पाइएको छ । बिशेष गरी ती बसहरुले नयाँदिल्लीबाट आउँदा बसका विभिन्न भागमा लुकाएर विभिन्न सामानहरु ल्याउने गर्छन् । बुधबार मात्र सशस्त्र प्रहरीले नेपालगञ्जको जमुनाहा नाकाबाट लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा ६ लाख भन्दा बढीको सामानसहित बसलाई नियन्त्रणमा लिएको छ ।

अवैध सामानसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बस ।

                                                                अवैध सामानसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बस

नयाँदिल्लीबाट बुटवल जाँदै गरेको बा. ३ ख ६५८७ नम्बरको बसबाट सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ४० गुल्म बाँकेको टोली अवैध सामग्री बरामद गरेको हो । भन्सार छली गरेर नेपालमा लाखौं मुल्यको साम्रगी भित्र्याउदैछन् भन्ने बिशेष सुचनाको आधारमा बसमा चेकजाँच गर्दा उक्त साम्रगी फेला पारिएको राजश्व भन्सार सुरक्षा नम्बर ४० गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक नवराज बोहोराले जानकारी दिए । ‘बसको तल्लो भागमा फल्स बटम बनाई समानहरु राखिएको रहेछ’ उनले भने,‘करिब ६ लाख मुल्य भन्दा बढीको सामान बरामद गर्न सफल भएका छौं ।’

यसभन्दा अगाडि समेत सशस्त्र गुल्मले अन्य बसहरु समेत अवैध सामानसहित नियन्त्रणमा लिएर कारबाहीको लागी नेपालगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइसकेको छ । नाकामा भन्सार बिना नेपालमा सामान ल्याउनमा कडाई गरिएसँगै तस्करहरुले पछिल्लो समय नेपालबाट भारतका विभिन्न स्थानमा चल्ने गाडिहरुलाई प्रयोग गर्न थालेका छन् । सशस्त्र प्रहरीले चालक र सह–चालकलाई समेत नियन्त्रणमा लिएको छ । बसमा सशस्त्र प्रहरीले चेकजाँच गर्न लाग्दा बसका मालिक र सामान ल्याएका व्यक्ति भागेका थिए ।

बरामद भएका बोराहरु भित्र कुर्ता, कुर्ती लगायतका साम्रगीहरु रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सामान र बसको मुल्य अनुमानित ३१ लाख भएको गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक बोहोराले जानकारी दिए । उनका अनुसार बरामद साम्रगीसहित बसलाई आवश्यक कारबाहीका लागी नेपालगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ । उनीहरुलाई भन्सार ऐन अनुसार कारबाही हुने भन्सार कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन २३ गते बिहीबार