12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

लक्ष्यभन्दा ७ करोड बढी राजश्व संकलन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन १२, २०७६  

कोहलपुर ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्ज लक्ष्यभन्दा माथी पुग्न सफल भएको छ । उक्त कार्यालय आर्थिक बर्ष २०७५÷७६ मा लक्ष्यभन्दा पौने ७ करोड बढी राजश्व असुली गर्न सफल भएको हो । कार्यालयले ३ अर्ब ५१ करोड ४० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ३ अर्ब ५८ करोड १० लाख राजश्व असुली गरेको हो । यो लक्ष्यभन्दा १०२ प्रतिशत अर्थात् ६ करोड ७० लाख रुपैयाँले बढी भएको कार्यालयका प्रमुख कर अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

कार्यालयले अघिल्लो आर्थिक बर्ष २०७४÷७५ को भन्दा यसवर्ष ५३ करोड २८ लाख ६२ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष ३ अर्ब ३२ करोड १० लाख ७७ हजार राजश्व असुली गर्ने लक्ष्य लिएकोमा ३ अर्ब ४ करोड ८१ लाख असुली गरेको थियो । उक्त कार्यालयले आर्थिक बर्ष २०७५÷७६ मा आयकरतर्फ १ अर्ब ३६ करोड ९ लाख ५१ हजार, मुल्य अभिबृद्धि कर(भ्याट)तर्फ ८१ करोड १० लाख २६ हजार र अन्तःशुल्कतर्फ १ अर्ब २४ करोड ७७ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको पौडेलले जनाए । कार्यालयले घर बहाल कर अन्तर्गत ६ करोड ३७ लाख ६० हजार, ब्याजकर ८ करोड २५ लाख ५८ हजार रुपैयाँ असुली गरेको जनाएको छ ।

कार्यालयमा कुल ३५ हजार करदाता आवद्ध छन् । करको दायरा फराकिलो बनाउन ३१ हजार करदाताबाट ४ हजार थप गरी ३५ हजार पु¥याइएको प्रमुख कर अधिकृत पौडेलले जानकारी दिए । ‘करदाताको संख्या बढेपछि राजश्व संकलनमा बृद्धि भएको छ,’ उनले भने । कर्णाली प्रर्दश अन्तर्गतका जिल्लाका करदाता पनि यसअघि नेपालगन्ज कार्यालयमै आवद्ध रहेका थिए । प्रदेश विभाजन पश्चात सुर्खेतमै आन्तरिक राजश्व कार्यालय सञ्चालनमा आएको छ । सुर्खेतमा कार्यालय स्थापना नहुँदासम्म उक्त कार्यालयसँग कुल ६५ हजार करदाता आवद्ध रहेका थिए ।

‘सुर्खेतमा कार्यालय स्थापना भएपछि त्यसक्षेत्रका ३४ हजार करदाता त्यतै रहे, भने ३१ हजार करदाता हामी कहाँ आवद्ध भए,’ पौडेलले भने ‘हामी कहाँ अहिले ३१ हजारबाट पनि बढेर ३५ हजार करदाता पुगिसकेका छन् ।’ साविकको मध्य र सुदूरपश्चिमका १० जिल्ला कार्यक्षेत्र रहेको कार्यालयको कार्यक्षेत्र घटेपनि विभागले दिएको लक्ष्य अनुसार राजश्व संकलन गर्न सफल भएको पौडेल बताउँछन् । यसवर्ष आयकरको तुलनामा मल्य अभिवृद्धि कर(भ्याट) र अन्तःशुल्क बढी असुली भएका कारण लक्ष्य पुरा गर्न सम्भव भएको उनको भनाई छ । घर धनीले कुनै ब्यक्ति, ब्यवसायी र संघ संस्थालाई घर भाडामा दिए वापत सम्बन्धित सरकारले घर बहाल कर लिने कानुनले ब्यवस्था गरेको छ ।

यसअघि आन्तरिक राजश्व कार्यालयले १० प्रतिशत र साविकका स्थानीय निकायले २ प्रतिशत बहाल कर लिने कानुनी ब्यवस्था थियो । नेपाल सरकार मन्त्री परिषद २०७४ चैत १२ गतेको निर्णय अनुसार घर बहाल कर सम्बन्धित स्थानीय तहले उठाउने अधिकार दियो । त्यसपछि नेपालगन्ज उपमहानगरपालिकाले घर बाहल रकमको १० प्रतिशत कर एकलौटी रुपमा लिन थालेको हो । नेपालको संविधान २०७२ को अनुसुची ८ को (४) मा स्थानीय तहलाई ब्यक्तिको घर बहाल कर असुल्न सक्ने अधिकार दिएको छ । स्थानीय सरकार कार्य सञ्चालन ऐन, २०७४ मा पनि ब्यक्तिको घर बहाल कर असुल्न पाउने अधिकार स्थानीय नगरपालिका र गाउँपालिकाले पाएका छन् । तर, कुनै कम्पनी वा निकायको घर बहाल वापतको कर असुल्ने अधिकार भने आन्तरिक राजश्व कार्यालयलाई दिइएको छ ।

नेपालगञ्जको १४ करोड आन्तरिक आम्दानी

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गत आर्थिक बर्ष २०७५÷७६ मा १४ करोड बढी आन्तरिक आम्दानी गरेको छ । नेपालगञ्जले यो आर्थिक वर्षमा लक्ष्य भन्दा बढी आम्दानी गर्न सफल भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले १४ करोड ११ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने लक्ष्य राखेकोमा १४ करोड ११ लाख ४९ हजार आम्दानी गर्न सफल भएको प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी बताए । उपमहानगरपालिकाले सम्पति करबाट चार करोड २० लाख, भाडा तथा बहालबाट एक करोड १३ लाख, बहाल कर एक करोड ७२ लाख, नक्सा पास दस्तुर दुई करोड ८७ लाख, सिफारिस दस्तुर तथा बक्सौनी एक करोड १७ हजार रुपैया राजश्व संकलन गरेको छ ।

उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि राजश्व संकलन बढेको हो । दक्ष जनशक्ति, बाणिज्य संघ, मालपोतलगायतको सहयोग र जनतामा कर तिर्नुपर्छ भन्ने भावनामा विकास भएपछि आम्दानी लक्ष्य अनुसार भएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताए । करको दायरामा अझ धेरैलाई समेटन बाँकी रहेको भन्दै प्याकुरेलले केही प्रतिशत आम्दानी वडामा उपलब्ध गराउने नीति लिइएको जानकारी दिए । लामो समयसम्म नेपालगञ्ज उपमहानगरपालिकाले लक्ष्य पूरा गर्न सकेको थिएन ।

प्रकाशित मितिः आइतवार, साउन १२, २०७६     4:36:44 PM  |