आफ्नै भवनमा वडा कार्यालय



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज वडा नं. १२ ले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा आफ्नै नयाँ भवन बनाएर सेवा दिने वडा नं. १२ पहिलो वडा कार्यालय बनेको हो । नगरका साविकका १७ वटा वडाका आफ्नै कार्यालय भवन छैनन् । पछि जोडिएका ६ वटा गाविसका आफ्नै कार्यालय भवन रहेका छन् । ६ वटा गाविस जोडेर नेपालगञ्ज उपमहानगरपालिका हुँदा २३ वटा वडा पुगेका छन् ।

मुक्तिपुरस्थित करिब ५ कठ्ठा जमिनमा वडा नं. १२ ले ६ वटा कोठा र एउटा हल भएको भवन बनाएको छ । खाल्डो जग्गालाई पटान गरेर वडा नं. १२ ले वडा कार्यालय बनाएको हो । वडा सदस्य तरुण बज्राचार्यका अनुसार, ६१ लाखको लागतमा भवन बनेको हो । नवनिर्मित भवनको प्रदेश सांसद सुरेन्द्र हमाल, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला लगायतले उद्घाटन गरेका थिए ।

प्रदेश सांसद हमाल, उपमेयर थापा, कांग्रेस सभापति कोइरालाले सुविधा सम्पन्न आफ्नै भवन बनेकाले अब जनतालाई सेवा दिन सहज हुने बताएका थिए । वडाध्यक्ष बुद्धिसागर सुवेदीले जनतालाई सहज तरिकाले सेवा दिन उपमहानगरपालिकाको केही सहयोग र वडा कार्यालयको पैसाले भवन बनाएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार २३ गते सोमबार