3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

कोहलपुर नगरपालिकाको पाँचौ नगरसभा फेरी स्थगित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

आन्तरिक विवादका कारण बाँके कोहलपुर नगरपालिकाको पाँचौ नगरसभा बिहीबार पनी स्थगित भएको छ । नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले नगरसभा बहिस्कार गरेपछि दोस्रो पटक स्थगित भएको हो । बिहीबार बिहान १० बजे बसेको नगरसभा बैठकमा उप–प्रमुख सन्जु कुमारी चौधरीसहित काँग्रेस निकट सदस्यहरु उपस्थित नभएपछि दुई घण्टाको लागी सभा स्थगित गरिएको थियो । त्यसपछि असन्तुष्ट पक्षसँग वार्ताको लागि आग्रह गर्दा समेत वार्तामा नआएको नगर सभा सचिवालयले जनाएको छ । काँग्रेसबाट निर्वाचित उप–प्रमुखसहितका जनप्रतिनिधीहरुले पाँचौ नगर सभाको पहिलो बैठकले सभाबाट बहुमतले पारित भईसकेका योजनामा असहमति जनाउदै दोस्रो बैठक समेत बहिष्कार गरेका हुन् । यस अघि पहिलो बैठकमा वडा नम्बर १० का अध्यक्ष नीम बहादुर चलाउनेले संशोधन पेस गरेका महिलासँग उपप्रमुख, थारु संग्रहालय, घुईयाबारी–सल्यान जोड्ने सडकको नामाकरण लगायतका संशोधन प्रस्ताव बहुमत सदस्यले अस्विकृत गरी पास गरेका थिए ।

सभाका बहुमत सदस्यले पास गरिसकेका योजनाहरुका बिषयमा असन्तुष्टि जनाउदै काँग्रेस निकट सदस्यहरुले लगातार नगरसभाका बैठकहरु बहिष्कार गरिरहेका छन् । कानुनतः सभाले बहुमतबाट पास भईसकेका बुँदामा सभाका सदस्यले असहमती जनाउन मिल्दैन । लगातारको विरोध र असहमतिका कारण कोहलपुर नगरपालिकाको बजेट अझै पास हुन सकेको छैन् । यसैबिच नेपाली काँग्रेस निकट जनप्रतिनिधिहरुले भने नगरकार्यपालिकामा भएको हरेक निर्णय अक्षरस कार्यान्वयन होस् भन्ने माग भएको बताएका छन् ।

वडा नम्बर १० अध्यक्ष नीम बहादुरले चलाउनेले नगर कार्यपालिकामा पेस भएको नीति तथा कार्यक्रम हुबहु नगर सभामा पेस गरी पारित गरिनु हुनुपर्ने आफुहरुको माग भएका बताए । ‘नगर कार्यपालिकामा पेस भएको नीति तथा कार्यक्रम संशोधन भएर नगर सभामा पेश गरिएको छ, हाम्रो विरोध यहि हो’ उनले भने, ‘तेस्रो नगर सभामा पारित भईसकेको निर्णय पनि कार्यान्वयन गर्नुको साटो हटाईएको छ । अहिले कै अवस्थामा हामी नगर सभामा उपस्थित हुदैनौं ।’ यसबारेमा काँग्रेसबाट निर्वाचित उप–प्रमुख सन्जुकुमारी चौधरीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । नगर उप–प्रमुख नै बहुमत सदस्यहरुले पारित गरेका निर्णयहरुका विरुद्व उभिएपछि समस्या पैदा भएको नेकपाबाट निर्वाचित जनप्रतिनिधी बताउने गरेका छन् । उनीहरुले उप–प्रमुखसहित नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरु कोहलपुरको विकासमा बाधक बन्दै जान थालेको आरोप लगाउने गरेका छन् ।
वार्ता समिति गठन
फेरी बिहिबार साँझ बसेको दोस्रो नगर सभाले असन्तुष्ट पक्षसँग वार्ता गर्नको लागि तीन सदस्सीय वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । वडा नम्बर ८ का अध्यक्ष रेशम बहादुर खत्रीको संयोजकत्वमा वडा नम्बर ३ का अध्यक्ष माधव रिजाल र सामाजिक विकास समितिका संयोजक नारायणी वली सम्मिलित वार्ता टोली गठन गरिएको हो । सहमतीय माध्यमबाट समस्या समाधानको विकल्प खोज्ने उद्देश्यले वार्ता समिति गठन गरिएको नगरप्रमुख लुट बहादुर रावतले बताए । सभाबाट बहुमतले पास भईसकेको विषयमा अनावश्यक रुपमा काँग्रेस निकट जनप्रतिनिधिले बहिस्कार गरिरहेको भएपनि सहमती अनुसार जानुपर्छ भन्ने मान्यता अनुरुप अघि बढ्ने पक्षमा नगरपालिका रहेको उनले बताए ।

‘हामीले बारम्बार उहाँहरुलाई वार्तामा आउन अनुरोध गरेउ’ उनले भने, ‘वार्ता पनि आउन आग्रह गर्दा समेत मान्नु भएको छैन ।’ वार्ता टोली मार्फत समस्या समाधान हुने विषयमा हामी विस्वस्त छौ, उनले भने ।

प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६     9:04:56 AM  |