बाँकेमा १८ हजार ६ सय ६६ उद्योग व्यवसाय, ६५ हजारलाई प्रत्यक्ष रोजगारी



कृष्ण ओली । कोहलपुर ।

बाँकेमा साना–ठूला गरी कुल १८ हजार ६ सय ६६ वटा उद्योग व्यवसाय भएको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार बाँकेमा झण्डै १९ हजारको हाराहारीमा साना ठूला उद्योग व्यवसाय सञ्चालनमा रहेको पाइएको  हो । सरकारले पहिलोपटक २०७५ बैशाख १ गतेदेखि २०७५ जेठ ३१ सम्म देशभर आर्थिक गणना गरेको थियो । पहिलो पटक गरिएको आर्थिक गणनाका लागि विभागले ७७ वटै जिल्लामा आफ्नो कार्यालय स्थापना गरेको थियो ।

विभागले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणनाको प्रतिवेदन अनुसार सञ्चालनमा रहेका १८ हजार ६ सय ६६ उद्योग व्यवसायमा ६४ हजार ८ सय ८२ जनाले रोजगारी पाएका छन् । रोजगारी पाउनेमा तथ्याक अनुसार महिलाकोे संख्याभन्दा पुरुषको संख्या दोब्बरभन्दा बढी रहेको छ । ४४ हजार ३ सय ३३ जना पुरुषले उद्योग व्यवसायमा कार्यरत रहँदा २० हजार ५ सय ४९ जना महिलाले मात्र रोजगारी पाएका छन् । विभागले सार्वजनिक गरेको आर्थिक गणनाको तथ्याक अनुसार प्रति प्रतिष्ठान संग्लन औसत जनशक्ति संख्या बाँकेको ३.५ रहेको छ । त्यसैगरी बर्दिया जिल्लामा १४ हजार ८ सय ९३ वटा प्रतिष्ठानहरु सञ्चालनमा रहेका छन् ।

ती प्रतिष्ठानहरुमा ४० हजार ७ सय १४ जनाले रोजगारी पाएका छन् । आर्थिक गणना अनुसार सबैभन्दा बढी प्रतिष्ठानहरु प्रदेश नम्बर ३ मा २ लाख ८२ हजार ९ सय २० वटा रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४२ हजार ८ सय ७ वटा उद्योग व्यवसायहरु सञ्चालनमा छन् । त्यसैगरी प्रदेश नम्बर १ मा १ लाख ६८ हजार ५ सय १८, प्रदेश २ मा १ लाख १७ हजार ६ सय ७०, गण्डकी प्रदेशमा १ लाख ६ सय ८४, प्रदेश ५ मा १ लाख ४७ हजार ७ सय ८९ र सुदुरपश्चिम प्रदेशमा ६२ हजार ९ सय ६८ वटा प्रतिष्ठान रहेको तथ्याकमा उख्लेख गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा ९ लाख २३ हजार ३ सय ५६ वटा उद्योग व्यवसायहरु सञ्चालित रहेका छन् ।

जसमध्ये प्रतिष्ठानहरुमा सक्रियरुपमा ३२ लाख २८ हजार ४ सय ५७ जना मानिसहरुलाई रोजगारी सिर्जना गरेको छ । कुल रोजगारमध्ये पुरुषको संख्या २० लाख १२ हजार २ सय ३७ र महिलाको संख्या १२ लाख १६ हजार २२० रहेको प्रतिवेदनमा उख्लेख छ । सार्वजनिक गरिएको तथ्याक अनुसार आर्थिक क्रियाकलापमा क्रमशः महिलाको नेतृत्व बढ्दै जान थालेको देखिन्छ । अहिले रहेका कूल आर्थिक प्रतिष्ठानमध्ये २ लाख ७३ हजार ४ सय ६३ प्रतिष्ठान महिलाको नाममा दर्ता रहेका छन् । पुरुषको नाममा भने ६ लाख ४८ हजार ७ सय ७३ वटा दर्ता छन् ।

गणनाको नतिजा अनुसार आर्थिक क्रियाकलापमा संलग्न ९ लाख २३ हजार ३ सय ५६ वटा प्रतिष्ठानमध्ये साना व्यापारीको संख्या ५३.९४ प्रतिशत रहेको छ । देशभर १ लाखभन्दा बढी उद्योग रहेका छन् । केन्द्रिय तथ्यांक विभागमार्फत गरिएको सर्वेक्षणअनुसार औद्योगिक उत्पादन गर्ने आर्थिक प्रतिष्ठानको संख्या १ लाख ४ हजार ५८ रहेको छ । आवास सुविधा तथा खानाको सुविधा उपलब्ध गराउनेगरी देशभर १ लाख ३० हजारको संख्यामा होटेल, रेष्टुरेन्ट र लजहरु खुलेको तथ्यांकले देखाएको छ । राष्ट्रिय आर्थिक गणना २०७५ बाट प्राप्त भएका नतिजाहरुको भरपुर उपयोग हुनेमा केन्द्रीय तथ्यांक विभागले विश्वास लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार १९ गते बिहीबार