कोहलपुर ।
बाँकेका यौनिक तथा लैगिक अल्पसंख्यक समूदायले कानून बनेपनी अझैसम्म पनी कार्यान्वन हुन नसकेको बताएका छन् । कोहलपुरमा बिहीबार भएको यौनिक तथा लैगिक अल्पसंख्यक समूदायको अवस्था, समस्या र चूनौतिका सम्बन्धी अन्तरक्रियामा बोल्ने सहभागीहरुले उक्त कुरा बताएका हुन् । यौनिक तथा लैगिक अल्पसंख्यकको हकहितमा काम गर्दै आएको संस्था पश्चिम तारा नेपालका अध्यक्ष राजेन्द्र धोबीले नेपालमा लैंगिक पहिचानसहितको अधिकार भनेर संविधानमा व्यवस्था गरिए पनि अन्य नीति निर्माण हुन नसकेको बताए ।
जन्मिँदा महिला वा पुरुष भए पनि हुर्कंदै जाँदा उनीहरूमा प्रतिविम्बित हुने यौन चाहनाले नै उनीहरूको लैंगिक पहिचान निर्धारण गर्ने उनको भनाई रहेको थियो । अध्यक्ष धोबीका अनुसार यौनिक तथा लैगिक अल्पसंख्यक समूदायहरुले अझैसम्म पनी आफ्नो पहिचान, अधिकार, आत्मसम्मान र अवसर पाएका छैनन् । समूदायमा फरक फरक यौनिक अल्संख्यक समूहरुलाई जनाउनका लागि पाँच वटा समूहरुमा विभाजन गरिएको छ ।
जसमध्ये लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्सुअल रहेका छन् । अध्यक्ष धोबीका अनुसार २००६ साल देखिको तथ्याङ्क अनुसार बाँकेमा यौनिक तथा लैगिक अल्पसंख्यक आठ सय जना रहेका छन् भने नेपालको कुल जनसंख्याको ८ देखी १० प्रतिशत रहेको छ ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितीकी संयोजक नारायणी वलीले कानून र समाजले संरक्षण गर्नुपर्नेमा जोड दिइन् । उनले उनीहरुको सिप, दक्ष, क्षमता विकास गर्नेका लागि आरक्षण कोटा समेत छुट्याउनु पर्ने जोड दिइन् ।
पश्चिम तारा नेपाल बाँके जिल्लाकी कार्यक्रमका संयोजक परिना चौधरीले कानूनले तोकेको अधिकारहरु प्राप्त गर्ने नसकेको भन्दै दुःख व्यक्त गरिन् । ‘हामी अधिकारबाट बञ्चित भएका छौं । हामीलाई आफ्नै घर, समाजबाट पिडित हुनु परेको छ’ उनले भनिन् ‘राज्यले पनि तेस्रोलिङ्गी भएकै कारणले आफ्नो पहिचान, अधिकार, आत्मसम्मान र अवसर दिएको छैन ।’
यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको सामाजिक तथा यौन जीवनलाई घृणा, तिरस्कार र लाञ्छनाले समाजमा बाँच्नुपरेको चौधरीले बताइन् । अन्तरक्रिया कार्यक्रम पश्चिम तारा नेपालको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा सम्पन्न भएको थियो ।









प्रतिक्रिया दिनुहोस्