1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

भारतले बाँधजस्तो सडक बनाएका कारण नरैनापुरका गाउँमा डुवान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ८, २०७६  

बाँके । अविरल बर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाका भारतीय सीमावर्ती गाउँहरु डुवानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपुर्वा, रोशनपुर्वा लगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् । सय भन्दा बढी घर डुबेको र झण्डै १ दर्जन घर भत्किएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिनुभयो । निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पुर्याएको छ । पुल, कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुबैतिर कटान गरेको अध्यक्ष शाहले बताउनुभयो ।

गएरातिदेखि परेको अविरल बर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरिक्षक विरेन्द्रबीर विश्वकर्माले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नम्बर १ कट्कुइँयास्थित वडा कार्यालयमा पनि पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । घरहरुमा पानी पसेपछि गाउँपालिका अध्यक्ष शाह नेतृत्वको टोली उद्दारमा खटिएको छ ।

प्रकाशित मितिः आइतवार, असार ८, २०७६     6:56:28 PM  |