शुभाकर विश्वकर्मा । कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारले सडक निर्माण र खानेपानी लाईन बिस्तार गर्ने रोजगारी पाएका छन् । गाँउपालिकाका ८ वटा वडाका २ सय जना बेरोजगार युवायुवतीले पहिलो चरणमा १ महिने रोजगारीका लागि वडामा बाटो मर्मत तथा खानेपानीको लाईन बिस्तार गर्ने रोजगारी पाएका हुन् । गाउँपालिकामा रहेका ७ वडामा बाटो मर्मत गरिने छ, भने वडा नम्बर ४ मा खानेपानीको लाईन बिस्तार गरिने कार्यक्रम रहेको छ ।
शनिबार गाउँपालिका भरी एकैसाथ प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात गरिएको छ । वडा नम्बर ६ मा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले कोदालोले बाटो खनेर कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेका थिए । प्रत्येक वडामा २५ जनाका दरले रोजगारी प्रदान गरिएको उनले बताए । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारलाई गाउँघर मै रोजगारी प्रदान गरिएको छ’ उनले भने,‘अब कसैले पनि बेरोजगार भएर बिदेश भौतारिनु पर्दैन ।’ सिंहदबार कै झल्को दिने गरी सरकारले यो कार्यक्रम ल्याएको छ ।
अध्यक्ष रुचालका अनुसार गाउँपालिका भरीका सबै बेरोजगार युवालाई रोजगारी प्रदान गरिने लक्ष्य राखिएको छ । पहिलो चरणमा प्रत्येक वडामा २५ जनालाई रोजगारी प्रदान गरिएको र आगामी वर्ष यसलाई बिस्तार गर्दै जाने कार्यक्रम रहेको उनको भनाई छ । परिवारको आर्थिक अवस्था र रोजगारी नै नभएको परिवार र महिलालाई मुख्य प्राथमिकता दिईएको अध्यक्ष रुचालले बताए । वडा नम्बर ६ की कार्यवाहक वडा अध्यक्ष पुतली हमालले प्रत्येक वडामा महिलालाई बढि सहभागि गराईएको बताईन् । गाउँपालिकामा महिला बेरोजगारको संख्या बढि रहेको र पुरुष भन्दा महिला सक्रिय रुपमा काम गर्ने भएकोले कार्यक्रम प्रभावकारी हुने उनको विश्वास छ ।
सधै चुलोचौकोमा सिमित रहने महिलाहरु राज्यले १ महिनाको रोजगारी प्रदान गरेपछि भने निकै उत्साहित देखिएका छन् । आफुहरुलाई राज्यले रोजगारी प्रदान गरी स्वरोजगार बनाएको भन्दै उनीहरुले खुसी व्यक्त गरेका हुन् । बैजनाथ गाउँपालिका १, चिसापानीकी ललिता तिरुवाले आफ्नै घर आँगन मै रोजगारी पाउन आफुलाई निकै खुसी लागेको बताईन् । रोजगार समुहकी लिडर समेत रहेकी तिरुवाले आफ्नो क्षमताले भ्याए सम्म अन्य महिलालाई काममा परिचालन गर्ने जानकारी दिईन् ।
‘सधै घर खर्च चलाउन श्रीमानको भरमा पर्नुप¥थ्यो’ उनले भनिन्, ‘अब आफैले काम गरेर नुन, तेलको खर्च गर्ने अवसर पाएकी छु ।’ उनी मात्रै होईन वडा नम्बर ६, अठ्ठाईस गाउँ की लक्ष्मी शाहीले घरको चुलोचौमा सिमित महिलालाई सामाजिक कार्यक्रममा अग्रसर गराउने कदम भएको प्रतिक्रिया दिईन् । ‘बल्ल हामीलाई सरकार भएको अनुभुति भएको छ’ उनले भनिन्,‘महिलालाई अािर्थक रुपमा सबल बनाउने आशा गरेकी छु ।’