गरिब प्रदेशका विलासी मन्त्री



सुर्खेत ।

कर्णाली प्रदेशले सरकार गठन भएको एक वर्षमा साढे २२ करोड ४२ गाडी खरिद गरेको छ । चालु आर्थिक वर्षमा उल्लेख्य बजेट कार्यान्वयन गर्न नसकेको कर्णालीले रकमान्तर गरी २२ करोड मुल्यका गाडी खरिद गरेको हो । आर्थिक वर्ष सकिनै लाग्दा थप १२ वटा गाडी किन्ने तयारी गरिएको छ । चालु आर्थिक वर्षमा विभिन्न शीर्षकमा छुट्याइएको बजेट रकमान्तर गरेर गाडीको खरिद प्रक्रिया अगाडि बढाएको छ । प्रदेश मातहतमा रहेका मन्त्रालयले मन्त्री र कार्यालयको प्रयोजनका लागि भन्दै २२ करोड बढीका गाडी खरिद मुख्यमन्त्री कार्यालयले जनाएको छ । यसअघि केन्द्र सरकारले दिएका गाडी पुराना भएको भन्दै नयाँ गाडी खरिद गरिएको कार्यालयको भनाइ छ ।

मुख्यमन्त्री कार्यालयले दिएका जानकारी अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी साढे तीन करोड रुपैयाँमा १६ वटा गाडी खरिद गरेको छ । लेखा अधिकृत सुरेन्द्रबहादुर शाहीले मन्त्री भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्रीले मात्रै ६९ लाख ६ हजार रुपैयाँ मुल्यको टाटास्ट्रोम चढ्ने गरका छन् । मन्त्रालयले ६ वटा विषयगत कार्यालय मध्ये १२ वटा कार्यालयका लागि बोलेरो गाडी खरिद जनाईएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्त्री नन्दसिंह बुढाका लागि ६९ लाख ५४ हजारको स्ट्रोम सफारीसहित ३ वटा गाडी खरिद गरेको छ । ३८ लाख ६५ हजारका दुईवटा टाटा जेनुन पिकअप गाडीहरु भने आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यालयलाई हस्तान्तरण गरिसकेको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अझै ६ वटा गाडी खरिद गर्न टेन्डर प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले यसअघि एक करोड खर्चिएर ४ बोलेरो खरिद गरिसकेको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस चालु आर्थिक वर्षमा दुई वटा गाडी खरिद प्रक्रियाका लागि टेन्डर प्रक्रिया अघि बढाएको छ। कार्यालय प्रयोजनका लागि एउटा जिप खरिद गर्ने भएको छ भने एउटा डवल पिकअप गाडी खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाएको कार्यालयका लेखा अधिकृत मानबहादुर सुनारले जानकारी दिए ।

गाडी खरिदका लागि भ्याटसहित एक करोड ६५ लाख रुपैयाँ छुट्ट्याइएको हो । प्रदेश सरकारले किन्न थालेका गाडीको डेन्डर प्रक्रिया सुरु भइसकेका छन् ।उता प्रदेशसभा सचिवालयले पनि चालु आर्थिक वर्षमा ७ वटा स्कारपियो खरिद गरिसकेको छ । विषयगत समितिका सभापति, सचेतकका लागि तीन करोड ८८ लाख रुपैयाँमा गाडी खरिद गरिएको सचिवालयले जनाएको छ ।

त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लेखा अधिकृत मोहन जैसवालका अनुसार तीन करोडमा ८ वटा गाडी खरिद गरिसकेको छ भने थप ८ वटा गाडी टेन्डर प्रक्रिया सकिएर पनि खरिदको अन्तिम चरणमा छन् । ८ वटा गाडी खरिद गरेर ५ वटा प्रदेश प्रहरी कार्यालयका र एउटा गाडी मुख्यमन्त्री कार्यालयलाई हस्तान्तरण गरिसकेको छ भने दुईवटा गाडी मन्त्रालयले नै राखेको छ । अझै पनि ३ करोडका गाडी खरिद गर्ने प्रक्रिया मन्त्रालयले थालेको छ। खरिद गरिने गाडीमध्ये ५ वटा पिकअप भ्यान, २ वटा ट्रक, र कार्यालय प्रयोजन एउटा जिप रहेका छन ।

त्यस्तै ६९ लाख ९५ हजार रुपैयाँमा एउटा स्कारपियो खरिद गरिएको सामाजिक विकास मन्त्रालयले अझै ३९ लाख ९५ हजार रुपैयाँमा अर्काे गाडी खरिद अघि बढाएको सचिव मानबहादुर विके बताउछन् ।यहाँका सांसद, मन्त्री र प्रदेशसभाका पदाधिकाहरुले आकर्षक सेवा सुविधा पनि उपभोग गर्दै आएका छन् । तर आर्थिक मामिला तथा योजना मन्त्रालयले भने चालू आर्थिक वर्षमा गाडी किनेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २८ गते मंगलबार