छाडा पशु चौपाया बेच्दै कोहलपुर नगरपालिका



शुभाकर विश्वकर्मा । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा रहेका छाडा पशु चौपाया बेच्ने तयारी अगाडि बढाएको छ । छाडा पशु चौपाया व्यवस्थापनको लागि नगरपालिकाले प्रयास गरिहेको भएपनि अझै व्यवस्थापन हुन नसकेपछि विकल्पको रुपमा बेच्ने उपाय अभिलम्वन गरेको हो । नगर कार्यपालिका बैठकबाट नगरमा छाडा छोडिएका पशु चौपाया नियन्त्रणको लागि बजेट समेत छुट्याएको थियो ।

सोही निर्णयलाई कार्यान्वयन गर्नको लागि नगरपालिकाले प्रस्ताव पेश गर्न पटक पटक सुचना जारी गरेपनि प्रस्ताव पर्न सकेन । ‘पशु चौपाया नियन्त्रणको लागि गत बैशाख १७ गते प्रस्ताव पेश गर्न १५ दिने सूचना नै जारी गरेका थियौं’ नगर प्रमुख लुट बहादुर रावतले भने,‘ त्यसमा एक जनाको मात्रै निवदेन परेपछि प्रक्रिया अघि बढ्न सकेन ।’ उनका अनुसार यस अघि पनि सिर्जना सामुदायिक वनसँग शुरुमा सम्झौता गरेपनी पछि वन कार्यालयले सामुदायिक वनमा उपयुक्त नहुने भनेपछि सम्झौता कार्यान्वयन हुन सकेको थिएन ।

‘छाडा पशु चौपाया व्यवस्थापन कै लागि बारम्बार सरोकारवालासँग छलफल पनि गर्दै आएका छौं’ नगर प्रमुख रावतले भने,‘ नगरको १३ नम्बर वडामा रहेको स्थानमा समेत सम्भावनाको अध्ययन गरिएको थियो त्यहाँपनि सम्भव हुन सकेन ।’ नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा छाडा पशु चौपाया नियन्त्रणको लागि १० लाख रकम समेत विनियोजन गरेको थियो । जती गर्दा पनी नगरका छाडा पशु चौपाया नियन्त्रण गर्न सभ्भव नदेखेपछि नगरपालिकाले विकल्पको रुपमा छाडा पशु चौपाया बेच्ने निष्कर्षमा पुगेको छ । नगर कार्यपालिकाको बैठकबाट नै निर्णय गरेर छाडा पशु चौपाया बेच्ने तयारी थालिएको नगर प्रमुख रावतले जानकारी दिए ।

‘कालिकोटको एउटा सस्थासँग सम्झौताको तयारी भईरहेको छ ’ उनले भने, ‘सम्झौताको अन्तिम गृहकार्य भईरहेको छ । उहाँहरुले पशु हामीलाई दिनुस् भनिरहनु भएको छ । हामीले दीर्घकालिन समस्या समाधानको लागि विकल्प खोजीरहेका छौ ।’ कोहलपुर भित्रै भएपछि सजिलो होला भन्ने उद्देश्यले सम्बन्धित पक्ष सँग छलफल भएपनि यहाँ सम्भव नै हुन नसकेको उनले बताए । निर्णय नै गराएर बाहिर कतै भएपनि छिटो व्यवस्थापन गर्ने पक्षमा रहेको नगरपालिकाले जनाएको छ ।

सोही अनुरुप कालिकोटको एक सस्थासँग बारम्बार कुराकानी भईरहेको हो । कोहलपुर नगरपालिका प्रेस सल्लाकार भिम रावलका अनुसार सस्थासँग अन्य मोटामोटी सहमति भईसकेको भएपनि पशु ढुवानीको विषयमा कुराकानी मिल्ने सकेको छैन । ‘उहाँहरुले पशु कोहलपुर बाट कालिकोट सम्म लैजान नगरपालिकाले नै सम्पुर्ण ढुवानी खर्च व्यहोर्नुपर्छ भनिरहनुभएको छ’ उनले भने,‘ नगरपालिकाको तर्फबाट सम्पुर्ण ढुवानी खर्चको लागि प्रति पशु पाँच सय रुपैया दिने गरि सहमतिको बिन्दु खोजिरहेका छौ ।’

प्रकाशित मिति : २०७६ जेठ २६ गते आइतबार