नेपालगन्ज ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मौसम परिवर्तन विश्वकै लागि चुनौती भएको भन्दै वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गरेकी छन् । विश्व वातावरण दिवसका अवसरमा नेपालगञ्जमा बुधबार आयोजित वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्याशाला गोष्ठीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वच्छ वातावरणमा बाँच्न पाउने मानिसको अधिकार सुनिश्चित गर्नका लागि सरकारले नै आवश्यक रणनीति तय गर्न आग्रह गरिन् ।
उनले दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेकोमा जोड दिइन् । ‘प्रकृति र मानवबीचको अभिन्न सम्बन्ध छ । प्राकृतिक वातावरण यथावत् राख्न र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन सरकारले पहल गर्नुपर्छ ।’ उनले भनिन्, ‘जलवायुसम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीयस्तरसम्म सञ्चालन गर्नुपर्ने खाँचो छ ।’ जलवायु परिर्वतनको असरका कारण विश्वव्यापी रुपमा वातावरण विनाश हुँदै गएको भन्दै राष्ट्रपति भण्डारीले भनिन् ‘हामीलाई वन र प्रकृति जोगाउनुपर्ने साझा चुनौती छ । संरक्षणमा हामी सबै एकजुट भएर लाग्नुपर्छ । औपचारिकता निभाउनुभन्दा काम गरेर देखाउने बेला आएको छ ।
यसमा सबैको हातेमालो जरुरी छ ।’ आगामी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण एवं संवद्र्धन गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न राष्ट्रपति भण्डारीले सबैमा अपिल गरिन् । उनका अनुसार जलवायु परिवर्तनको प्रभाव वातावरणीय ह्रास विकास र वातावरणबीचको सन्तुलनलाई सम्बोधन गरी प्रत्यक्ष तथा स्वच्छ वातावरण सिर्जना गर्न हामी सबै गम्भीर भएर लाग्नुपर्दछ । उनले स्वच्छ तथा मनोरम वातावरण र जीवनको पर्याय वन क्षेत्रलाई संरक्षण गर्नुपर्ने दायित्व सम्पूर्ण नेपालीको भएको बताइन् ।
राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण विश्वमा वातावरण विनाश भइरहेको सन्दर्भमा प्राकृतिक र जैविक विविधताले सम्पन्न राष्ट्र नेपालले वातावण संरक्षणमा पु¥याएको उल्लेख्य योगदानको चर्चा गरिन् । स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न आमनागरिक सचेत र प्रतिबद्ध रहनुपर्ने राष्ट्रपति भण्डारीको भनाई छ । भौगोलिक तथा सामाजिक महत्व बोकेको चुरे क्षेत्रको प्राकृतिक वातावरण यथावत् राखिरहन सञ्चालित राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, संरक्षित क्षेत्र, जलाधार संरक्षण आयोजनाजस्ता कार्यले विश्व वातावरण सन्तुलन कायम राख्न मद्दत पु¥याइरहेको उनले बताइन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘जलवायुका विषयमा सबै सरोकारवासँग निरन्तर छलफल जरुरी छ । मुलुकले विद्युतीय ऊर्जामा फड्को मारिरहेका बेला विद्युतीय सवारी र चुल्होमा आम उपभोक्तालाई प्रेरित गर्न सके जलवायुको असर न्यूनीकरणमा मद्दत पुग्नेछ ।’ ‘वरपीपल रोप्ने र चौतारी निर्माण गर्ने संस्कारलाई जोगाउँदै जीवन्त बनाउन सरकारले नीति तय गरी अघि बढ्नपर्छ’, उनले भनिन्, ‘कार्बन सोस्ने खालका बिरुवा रोप्न प्रेरित गर्न सरकारले नै अग्रसरता देखाउनुपर्छ । यसले जलवायुका असरलाई न्यूनीकरण गर्न मद्दत
पुग्नेछ ।’ यसैबीच राष्ट्रपति भण्डारीले विश्व वातावरण दिवसकै अवसरमा जिल्ला वन डिभिजन कार्यालय बाँकेको हाताभित्र आँपको बिरुवा रोपिन् ।
सो अवसरमा उनले ‘एक घर, एक बिरुवा’ अभियानलाई सार्थक बनाउन आम नागरिकमा जनचेतना आवश्यक रहेको बताइन् । सो अवसरमा वनमन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश मन्त्रीहरु, सङ्घीय तथा प्रदेशसभाका सांसद लगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्