1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

‘चुरे क्षेत्र संरक्षण मार्फत पर्यटन प्रवद्र्धन गरौं’: राष्ट्रपति भण्डारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २३, २०७६  

कोहलपुर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको उचित संरक्षण गर्दै पर्यटन प्रर्वद्धन गर्न व्यवस्थित योजना बनाउन आवश्यक रहेको बताएकी छन् । चुरे क्षेत्रको संरक्षण गरी प्रयर्टन प्रवद्र्धनका लागि स्थानीय सरकारको भुमिका महत्वपुर्ण रहेको उनीले जोड दिईन् । बाँकेको बैजनाथ गाउँपालिका ५ जिगाउँमा रहेको प्रभात माविले ५० औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।

सिक्टा सिचाई आयोजना तथा भेरी बबई लगायतका राष्ट्रिय गौरवका आयोजनालाई समयमा सम्पन्न गरी कृषि उत्पादन र उत्पादकत्व बढाएर राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ तुल्याउन सम्बद्ध पक्षले ध्यान दिनुपर्ने उनले बताइन् । समग्र बाँके र बर्दियाको उर्वरभूमिको उपयोग गर्दै कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण गरी कृषि उद्योग र औद्योगीकरणको विकासमा ध्यान दिनुपर्ने राष्ट्रपति भण्डारीले जोड दिइन् । त्यसका साथै क्षेत्रमा पूर्व पश्चिम लोकमार्ग सहित महत्वपूर्ण सडक सञ्जाल भएकाले सुविधा सम्पन्न अतिथि गृह, होमस्टे, लगायतका पूर्वाधारको विकास गर्न सके पर्यटन व्यवसायमा ठूलो टेवा पुग्ने उनले विश्वास व्यक्त गरिन् । तीव्र विकासको प्रक्रियामा रहेको ऐतिहासिक जिल्ला बाँके प्राकृतिक, साँस्कृतिक सम्पदा संरक्षण सहित आधुनिक सहर र बस्तीको पूर्वाधार विकास गर्दै हरियाली, वातावरणमैत्री बनाउन प्रदेश सरकार र स्वयं जिल्लाबासी जागरुक हुनुपर्ने कुरामा राष्ट्रपति भण्डारीले जोड दिइन् ।

यहाँका नदी नालाहरुमा तटबन्धनलाई सुदृढ तुल्याउँदै पानीको निकासलाई व्यवस्थित बनाउँदै शहर र वस्तीलाई डुवानबाट जोगाउन पहल कदमी लिनुपर्ने उनको भनाई रहेको थियो । साथै राष्ट्रपति भण्डारीले मुलुक दिगो शान्ति र राजनितिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको सन्दर्भमा शैक्षिक केन्द्रहरुले विकासको साझा राष्ट्रिय संकल्प पुरा गर्ने दिशामा सघन रुपमा अथवा शैक्षिक र रचनात्मक गतिविधिहरु सञ्चालन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताइन् । विकासको प्रचर सम्भावना बोकेको यस प्रदेशको आर्थिक तथा सामाजिक विकासका लागि उत्तर दक्षिण दिशा सडक निर्माणलाई तदारुकताका साथ अघि बढाउनु पर्नेमा जोड दिइन् ।
गुणस्तरीय र जीवन उपयोगी शिक्षा
राष्ट्रपति भण्डारीले गुणस्तरीय र जीवन उपयोगी शिक्षामा जोड दिइन् । उनले जीवन उपयोगी र गुणस्तरीय शिक्षाका माध्यमबाट देश बिकास हुने बताईन् । विद्यालयमा बालमैत्री शैक्षिक पूर्वाधार विकास गर्दै बालमैत्री शिक्षण पद्धति अपनाई दण्ड र भयावरहित वातावरणमा शैक्षिक गतिविधि सञ्चाल गर्नुपर्ने उनको जोड थियो । उपराष्ट्रपति भण्डारीले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न अपनाइएको प्रयासहरुको प्रशंसा समेत गरिन् । ‘बालबालिकाको पहिलो पाठशाला परिवार हो’ भण्डारीले भनिन्, ‘गुणस्तरीय शिक्षा प्रदान गर्न अभिभावक, विद्यालय व्यवस्थापन समितिको भुमिका महत्वपुर्ण हुन्छ । ’ विद्यालयमा स्वच्छ खानेपानी, छात्रछात्रामैत्री शौचालय विद्यालय सहित सरसफाईको व्यवस्था लगायत विद्यार्थीको विद्धता बढाएर अनुसन्धानतर्फ प्रेरित हुनेतर्फ ध्यान दिन उनले आग्रह समेत गरिन् ।

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले विद्यार्थीलाई श्रमप्रति सम्मान, समृद्धिप्रति लगाव र स्वच्छ वातावरणप्रति चेतनशिल बनाउन सके विद्यार्थीहरु आफ्नो विषयमा सक्षम र गुणस्तरीय जीवनलाई सहज रुपमा अगाडी बढाउन सक्ने बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर सुनारले सामुदायिक विद्यालयले पछिल्ला केही बर्षमा गरेको सुधार र शैक्षिक क्षेत्रमा गरेको योगदानको बारेमा बताएका थिए । स्वर्ण जयन्तीको अवसरमा विद्यालयलाई योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २३, २०७६     6:36:00 PM  |