3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

अत्यधिक गर्मीका कारण संस्थागत विद्यालय बन्द

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १८, २०७६  

कोहलपुर ।

केही सातायता बढेको अत्यधिक गर्मीका कारण कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा सञ्चालनमा रहेको संस्थागत विद्यालयहरु बन्द हुने भएका छन् । चर्को गर्मीले विद्यार्थीलाई असर गरेको निष्कर्ष निकाल्दै कोहलपुर र बैजनाथमा रहेका निजी विद्यालयको छाता संगठन क्रिसा, प्याब्सन र एनप्याब्सनले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
भोली आइतबारदेखि २४ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको निजी विद्यालय सञ्चालकहरुले जानकारी दिएका छन् ।

क्रिसाका अध्यक्ष दिनेश सिग्देल, प्याब्सन कोहलपुरका अध्यक्ष यम रावत, एनप्याब्सन कोहलपुरका अध्यक्ष किशोरराज मल्ल, बैजनाथ एनप्याब्सन अध्यक्ष श्याम कुँवर र बैजनाथ प्याब्सनका सचिव किशोर शाहले विज्ञप्ती निकालेर गर्मी बिदा दिन सबै विद्यालयलाई जानकारी आग्रह गरेका छन् । अहिले दिइएको गर्मी बिदालाई वर्खे बिदामा मिलान गर्ने बताइएको छ । नेपालगञ्जका विद्यालयहरुले पनि गर्मी बिदा दिने तयारी गरेका छन् । तर उनीहरुले शुक्रबारसम्म निर्णय भने गरिसकेका छैनन् ।

यसैैबिच बाँकेमा सञ्चालनमा रहेका मन्टेश्वरी विद्यालयहरु समेत भोलीदेखि आगामी जेठ २६ गतेसम्म बन्द हुने भएका छन् । मन्टेश्वरी एशोसियसन बाँकेमा आवद्व रहेका विद्यालयहरु गर्मीका कारण बन्द गर्ने निर्णय गरिएको अध्यक्ष लुना बुढाथोकीले जानकारी दिइन् । २० औं कार्यसमितीको बैठकले आइतबारदेखि २६ गतेसम्म एशोसियसनमा आवद्व रहेका मन्टेश्वरीहरु बन्द गर्ने निर्णय गरेको हो । यसबर्ष बाँकेका अधिकतम तापक्रम ४३. ५ डिग्रीसम्म पुगिसकेको छ । प्रचण्ड गर्मीसँगै दिउँसो चल्ने तातो हावा ‘लु’ का कारण केही सातायता जिल्लाको जनजिवन प्रभावित बन्दै जान थालेको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १८, २०७६     6:32:04 PM  |