कोहलपुर ।
बाँकेमा अख्तियारको टोलीले ५ लाख घुस लिदालिदै एक सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्षलाई रंगेहात पक्राउ गरेको छ । यसरी घुस लिदालिदै रंगेहात सामुदायिक वनका पदाधिकारी पक्राउ परेको बाँकेमा पहिलो घटना हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले दुवै जनालाई ५ लाख घुस रकमसहित पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका १ मा रहेको लामिडाँडा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष र कोषाध्यक्ष रहेको आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिए । उनका अनुसार आइतबार साँझ वन समुहका अध्यक्ष टिकाराम कामी र कोषाध्यक्ष दिपक खुनालाई घुस लिदालिदै ५ लाख रकमसहित पक्राउ गरिएको हो ।
काठ लिलामीमा कोटेशन दर्ता गरी काठ उपलब्ध गराउन सहजिकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिदै गर्दा अख्तियार अनुसन्धान आयोगको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रमुख गैरेले बताए । उनीहरुलाई राप्तिसोनारी गाउँपालिका–१ बैरीया कुसुमबाट पक्राउ गरिएको थियो । सरकारी कर्मचारीमाथी निगरानी बढाइराखेको अख्तियारले बाँकेमा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीमाथि समेत निगरानी बढाउन सुरु गरेको छ ।
वन समुहका पदाधिकारीले काठको टेण्डर मिलाईदिने भन्दै काठ व्यवसायीसँग रकम माग्ने गरेको उजुरी परेसँगै आयोगले आफ्नो सक्रियता समेत बढाइराखेको थियो । सोही क्रममा आइतबार सामुदायिक वनका दुई पदाधिकारीहरुलाई रंगेहात पक्राउ गर्न सफल भएको अख्तियार स्रोतले जानकारी दिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्