8 September 2024  |   आइतवार, भदौ २३, २०८१

बाँसगढीमा आपत्कालिन कार्य सञ्चालन केन्द्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १४, २०७५  

रावन बिश्वकर्मा, बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिकामा स्थानीय आपत्कालिन कार्य सञ्चालन केन्द्र सञ्चालनमा आएको छ । समुदायलाई बाढीको पूर्व सूचना प्रदान गर्न, विभिन्न किसिमका प्रकोपहरुका कारण हुन सक्ने विपद्को जोखिम सम्बन्धी पूर्व जानकारी दिन, प्रभावित समुदायलाई खोज तथा उद्धार एवं राहत व्यवस्थापन क्षेत्रसँग सम्पर्क–समन्वय र विस्तार तथा विपद् व्यवस्थापन गर्न आबश्यक उद्धार सामाग्री सहित आपत्कालिन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

बुधबार केन्द्रको एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुले उद्घाटन गरेका थिए । उनले अब बाँसगढी क्षेत्रमा विपद् पर्दा जिल्लालाई गुहार्ने दिन गएको बताए । केन्द्र उद्घाटन सँगै विपद्को बेला आईपर्ने समस्या समाधन गर्न सहजका साथै नगरका समुदायको जिउ धनको सुरक्षा गर्ने कुरामा प्रमुख थारुले जोड दिए ।नेपाल रेड्क्रस सोसाईटी जिल्ला शाखा बर्दियाका सभापति कृष्ण गौतमले आपत्कालिन केन्द्रले आगलागी र बाढी आएको बेलामा मात्रै नभई स्थानिय तहका सबै खालका सुचनाहरुको स्रोत संस्थाको रुपमा काम गर्नुपर्ने बताए ।

स्थानिय विपद् व्यवस्थापन समितिका संयोजक तथा बाँसगढी नगरपालीकाका प्रमुख सालिकराम अधिकारीले मानवमा आईपर्ने बिपद्को व्यवस्थापन गर्न स्थानिय तहबाटै उद्धार र सुचना प्रभाहका लागि आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको जानकारी दिए । उनले केन्द्रलाई सञ्चालन र व्यवस्थापन गर्ने तर्फ उन्मुख हुने दाबी गरे । विपद् सँग सरोकार राख्ने निकायहरु सँग सहकार्य गर्दै स्थानिय युवाहरुलाई पनि विपद् उद्धारकार्यमा जुट्ने खालका आधारभुत्त तालिममा सरिक गराउने कुरामा पनि हामी अग्रसर हुनेछौं, नगर प्रमुख अधिकारीले भने ।

नेपाल रेडक्रस उपशाखा बाँसगढीको भवनलाई आधार बनाई जर्मन विकास नियोगको सहकार्यमा स्थानिय आपतकालिक कार्य सञ्चालन केन्द्र सञ्चालन गरिएको हो । आपत्कालिन केन्द्रको कार्यालयमा विपद्मा प्रतिकार्यका लागि आवश्यक पर्ने सामाग्री तथा औजार, सुचना प्रवाहका आगि आवश्यक पर्ने सामाग्रीहरु पर्याप्त मात्रमा कार्यालयमा रहेका छन् ।

प्रकाशित मितिः बिहिबार, चैत्र १४, २०७५     7:30:53 AM  |