बाँकेमा विप्लपका सैन्य इन्चार्जसहित चार पक्राउ



नेपालगन्ज ।
बाँकेमा विप्लप नेतृत्वको नेकपाका भेरी ब्यूरो सैन्य इन्चार्जसहित चार नेता पक्राउ परेका छन् । सरकारले विप्लप नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि निगरानी बढाएको बाँके प्रहरीले सैन्य इन्चार्जसहित चार नेतालाई बाँकेका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलका अनुसार पक्राउ पर्नेमा विप्लव समुहका भेरी ब्यूरो सैन्य इन्चार्ज दान बहादुर फडेरा (योद्वा), बाँकेका जनसरकार प्रमुख कृष्ण बहादुर शाही, न्यायिक विभाग प्रमुख चित्रबहादुर बिक ‘कुमाख’ र पुर्व जनसरकार प्रमुख सन्तोष बस्नेत रहेका छन् । शाहीविरुद्ध विभिन्न मोवाइल टावरमा आगजनी लगायतका संगठीत अपराध सम्बन्धी मुद्दा चलाइएको छ भने विकमाथि राजद्रोहको मुद्दा चलाइएको छ ।

शाही खजुरा र बैजनाथमा रहेका एनसेल टावरमा आगजनी गरेको अभियोगमा फरार रहेका थिए । प्रहरीले फडेराविरुद्व विष्फोटक पदार्थ मुद्वामा अनुसन्धान गरिरहेको छ भने बस्नेत विरुद्व सार्वजनिक शान्ती विरुद्वको कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको बाँके प्रहरीले जनाएको छ । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पौडेलले सादा पोशाकमा पनि प्रहरी ठाउँठाउँमा परिचालन गरिएको र विप्लव समूहका गतिविधिलाई मसिनो ढंगले निगरानी गरिराखिएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत १४ गते बिहीबार